
-प्रतिक पौडेल
भैरहवा, २२ साउन । रुपन्देहीमा राष्ट्रिय परिचयपत्रको लागि तथ्यांक संकलनको काम विहीवारबाट शुभारम्भ गरिएको छ ।
सिद्धार्थनगर नगरपालिकाका मेयर हरि प्रसाद अधिकारीले राष्ट्रिय परिचयपत्रका लागि आफ्नो व्यक्तिगत विवरण संकलन गराउंदै सो कार्यक्रमको उद्घाटन गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा स्थापना गरिएको तथ्यांक संकलन केन्द्रमा सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरि प्रसाद अधिकारीको व्यक्तिगत विवरण संकलन गरी रुपन्देहीमा सो कामको आरम्भ गरिएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए ।
तथ्यांक संकलनका लागि मेयर अधिकारीको कम्युटरबाट फोटो खिच्ने, यस्तै थमसंगै सबै हातका औंलाको स्क्रीनिङ्ग गर्ने, डिजिटल सिग्नेचन गर्ने,आंखाको रेटिना जांच गर्ने जस्ता प्रक्रिया पुरा गरी उनको व्यक्तिगत विवरण राष्ट्रिय तथ्यांक संकलन डाटामा समावेस गरिएको प्रजिअ पन्थले बताए ।
सरकारले नागरिकलाई दिने सुविधामा एकद्धार प्रणाली अपनाउन र व्यक्तिको सम्पुर्ण परिचय दिने एउटै परिचय पत्र बोकर हिड्न समेत सहज हुने प्रजिअ पन्थले बताए ।
विहीवारबाट सुरु गरिएको उतm काम अव दैनिक रुपमा सुचारु हुने छ । छिटो भन्दा छिटो नागरिकको तथ्यांक संकलन गरी परिचय पत्र वितरण गर्ने उद्देश्यका साथ अन्य स्थानमा समेत संकलन केन्द्र थप गरी काम गर्ने प्रजिअ पन्थले जानकारी दिए ।
व्यक्तिगत विवरण संकलन गराउन आउने नागरिकले आफ्नो नागरिकता, विवाहितको हकमा विवाहदर्ता लगायतका कागजपत्र समावेश गर्नुपर्ने छ ।
जनतालाई प्रदान गर्ने सेवा सुविधा एकीकृत प्रणालीमार्फत एउटै परिचयपत्रबाट प्राप्त हुने प्रावधानसहितको प्रणालीको विकास गर्ने, जैविक पहिचान सहितको बहुउपयोगी परिचयपत्र तयार गरी वितरण गर्ने र नेपालमा बस्ने सबै व्यक्तिका विवरण राष्ट्रिय तथ्यांक भण्डारणमा समाविष्ट गर्ने राष्ट्रिय परिचयपत्रको उद्देश्य रहेको प्रजिअ पन्थले बताए ।
आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय परिचयपत्रका लागि एक करोड डाटा संकलन गर्ने सरकारको लक्ष्य रहेको प्रजिअ पन्थको भनाई छ ।
राष्ट्रिय परिचय पत्रलाई नागरिकता, एटिएम, अन्य परिचय पत्र सबैलाई विस्थापन गर्ने गरी प्रयोगमा ल्याईने सरकारको योजना रहेको उनले सुनाए ।
यसो गर्दा नागरिकलाई सेवा लिन सहज हुने र कुनै अपराध वा घटनामा संलग्न व्यक्तिको विवरण तुरुन्त निकाल्न सकिने हुंदा अपराधमा समेत कमि आउने प्रजिअ पन्थले बताए ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा विवरण दर्ताका लागि कम्प्युटर लगायतका आवश्यक उपकरणहरु राखिएको जिल्ला प्रशासन कार्यालय रुपन्देही नागरिकता शाखाका नायव सुब्वा यज्ञ पोखरेलले जानकारी दिए ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा पांचथर र सिंहदरबारस्थित कर्मचारीलाई परिचयपत्र वितरण गरेको थियो । ‘२०७६/०७७ को बजेट वक्तव्य मार्फत आगामी ४ वर्ष भित्र सबै नागरिकलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने घोषणा गरिएको थियो ।
दोस्रो चरणमा १५ वटा जिल्ला तथा यसै आ.व.मा बांकी सबै जिल्लामा सुरु तथ्यांक संकलनको काम सुरु गरिदैछ । तर परिचयपत्रलाई पुर्णरुपमा प्रयोगमा ल्याउनका लागि भने पुर्वाधार निर्माणका कैयौं कामहरु सुरु गर्नै बांकी छन् ।















प्रतिक्रिया