बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

पुलिस राजनीति, ‘फूलिस’ जीन्दगी

विनोद ढकाल २०७७ साउन १६ गते १०:२०

-विनोद ढकाल

अंग्रेजीमा एउटा भनाई छ–

आई एम रिटायर्ड,

गुडबाई टेन्सन्

हेल्लो पेन्सन् !

मान्छे जीवनका कयन खुशीहरूलाई आफ्नो उत्तरार्धमा उपयोग गर्न चहान्छ । गरेका सेवाका दौरान सिकेका सीपलाई एउटा धागोमा माला उनेजसरी अनुभवको माला गाँस्न चहान्छ ।

कोही पुस्तक लेख्छन्, कोही जीवनका गाथालाई गीतमा उतार्छन् । कोही चौतारामा बसेर चुरोटको लामो सर्कोसँगै अनुभवका आयामहरू युवा पुस्तालाई सुनाउँछन् ।

कोही सहकर्मीहरूको उत्तरार्धलाई खुला हाँसो र स्वतन्त्र जीवनको मुल्यांकनमा कस्छन् अनि खुशी हुन्छन् । यसैले सेवा निवृत्तका सन्दर्भमा उपर्युक्त उद्धरणको अर्थ हो– तनावहरूलाई सदाका लागि विदा र कर्मले पाएको खुशी (पेन्सन)लाई स्वागत !

जसले समयको चाललाई समान यात्रामा टुंगो लगाउँछ त्यसको उत्तरार्धको जीवन पनि उही गतिमा चल्न सक्दो हो । तर, नेपालको एउटा क्षेत्र र त्यसको पनि एउटा विन्दुमा दुई सहकर्मीको घमासान हुन्छ । सेवा प्रवेश गर्दाताका निक्कै हौसिएका उनीहरू सेवा निवृत्त हुनुअघि नै एकअर्काका घोर विरोधी भएर निस्कन्छन् ।

यो सबैको कारक हो– लोभ, लालच र शक्तिको आशक्ति । केही अपवाद हुन सक्लान् तर नेपालको सुरक्षा निकाय र त्यसभित्र पनि प्रहरीको नेतृत्व लिने क्रममा आजभोली देखिएको अनिवार्य अवस्थिति पक्कै हो ।

यो अवस्थितिका विविध सर्वनाम हुन सक्छन् । कारक र औजारहरू पनि अनेक किसिमले उपयोग र प्रयोगका आधारमा चलेकै छन् । तर यी सबै चिज जीन्दगीका उत्तरार्धमा हुनु राम्रो हो त ? जागिरे जीवनका अन्तिम बर्षमा आउँदा देखिने यो भावको सन्देश कस्तो रहला ?

खासगरी नेपालको पुलिसभित्र देखिने यो राजनीति एउटा ‘फूलिस’ (मूर्ख) अभ्यास जस्तो लाग्छ । यसका प्रमाण त कयन छन् । मुद्दा, मामिला, न्याय अन्याय, सहमति, सहकार्यका नामका डंका मात्रै होइनन् चित्त नबुझ्दा राजीनामादेखि मिडियामा अनेकथरी फलाक्नेसम्मका काम ।

नेपालमा पुलिस संगठनका नेतृत्वको होडमा देखिने त्यो अस्वस्थ्यताले भोलीको आफ्नै जीवनलाई खल्लो नबनाओस्, आगामी पुस्ताले पनि त्यहि बाटो नअँगालुन् बरु, त्यो परिस्थिति आउनबाट रोक्न आजै कुनै नीतिगत, ऐन, नियमावलीमा सुधार हुन सकोस्

पात्र तोक्न जरुरी ठानिँन तर यो प्रवित्ति त छ । यसको मुख्य कारण के होला ? राज्यको नीति वा राजनीतिक दलको स्वार्थ ? अथवा, त्यो स्वार्थमा अलमलिएका पुलिस ऐन, कानुन र नियमावली ?

सेवा प्रवेश गर्दा कलिगका रुपमा सँगै रमाएको, हाँसखेल गरेको अनि अनेक प्रकारका अन्तरङ्गसँग नजिक रहेको, एकले अर्कालाई सहयोगी भाव देखाएको त्यहि अधिकारी जब संगठनको नेतृत्व गर्ने अवसरको विन्दुमा आइपुग्छ अनि एकअर्काको कठोर ‘बैरी’ बन्छ ।

जुनबेला सहयात्रा, सह–भाव र सह–अस्तित्वको बेजोड युवावस्था व्यवाहारिक रुपमै बिताएको हुन्छ उसले उत्तरार्धमा त्यसको अस्वस्थ्य उपयोग गरेको हामीले देखेका छौं । मानिसहरू जीवनका उत्तरार्ध र रिटायर्ड जीवनमा आनन्दका दिनहरू, बितेका समयमा गरेका कतिपय मजाकलाई सम्झिएर मुस्कुराउनुपर्ने हुन्छ । पुलिस त्यो पेसा बनिदियो, उत्तरार्धमा आएपछि ठुस्किएर बस्नुपर्छ । यो नितान्त समाजसँग सुहाउँदो चित्र नै देखिँदैन । यसको कमजोरी नीतिगत व्यवस्थामा देखियो, शक्ति केन्द्रको होडको लहडमा भेटियो । यसले संगठनको चुस्तता र गरिमाको मात्र खिल्लि उडाएन, त्यसपपछिका सार्वजनिक वा फूर्सदका जीवनमा ‘कलिग’हरू नै बैमनश्यताको कस्तो नमिठो जीन्दगी बिताउन बाध्य छन् ।

यति मात्र कहाँ हो र ? अहिलेको यो अवस्थालाई देखेर आजका मितिदेखि नै यस पेशामा लाग्ने समकालिन सहयात्रीहरूबीच एकै संगठनमा कस्तो भावनाबाट प्रेरित भएर अगाडि बढ्लान् भन्ने विरोधाभाष पनि पैदा भएको छ ।

सहकर्मीसँग खुशी र सुखी समन्वयको भूमिकामा अघि बढ्ने कि भोलीको दिनलाई सम्झिएर अहिलेदेखि नै ठँुस्किने ? कुन व्यवाहारिक मार्गलाई समातेर अगाडि बढ्ने होला ? प्रश्नहरू साधारण छन् तर यसका प्रभाव र परिणामहरू भविष्यका नजरमा भयंकर देखिन्छन्, यहि प्रणाली र नियम नितान्त रह्यो भने ।

अंग्रेजीमा अर्को पनि भनाई छ–

सेवा निवृत्त भनेको जब तपाई काममा बाँच्न छाड्नुहुन्छ र बाँच्ने कामको सुरुआत गर्नुहुन्छ ।

यहाँ बाँच्नुको अर्थ खानु परिवारसँग मात्र रमाउनु होइन । जीन्दगीका उर्जाशील समयमा अनेक आयाममा हिँडेका साथीभाईसँगको सुखी, खुसी वार्तालापको लामो आयाम पनि त हो ।

जागिरे जीवन भनेको निक्कै प्रेरणादायी हुन्छ । किनभने यसभित्र रिटायर्ड भन्ने अनिवार्य नियम छ । यो नेपालको गलत र दिशाहिन राजनीति जस्तो होइन ।

नेपाली राजनीतिमा न रिटायर्ड भन्ने शव्द छ न कलिगहरूसँगको सामिप्यता र घनिष्ठताको उत्तरार्ध । एउटा खुट्टा चिहानमा हुँदा पनि राजनीतिको जलपान गरिरहुँ भन्ने प्रवित्तिले स्थापित गरेको समाजको प्राणी बन्न पुलिस अधिकारीलाई पनि बाध्य पारिएको जस्तो देखिन्छ । यो, सर्वथा व्यवाहारिक पक्षमा कुशल देखिँदैन ।

आजभोली पुलिसका संगठनभित्र देखिएका धारवादी व्यवाहार र राजनीतिले चेन अफ कमान्डको खिल्लि उडाउन थालेको छ । हेर्ने दृष्टिकोण र गर्ने व्यवाहारमा मात्र ह्रास आएको छैन, अब्बलता र दुर्बलताको कसी पनि राजनीतिक नियतीका आधारमा हेरिन्छ । शक्ति केन्द्रको चाकरीका आधारमा व्यवाहार गरिन्छ । यो निक्कै दुखद व्यवाहारिक परिणामको कारक पनि हुन सक्छ ।

पछिल्लो पटक नेपाल प्रहरीको नेतृत्वका क्रममा देखिएको एक खाले सहमति वा सतहमा नदेखिएको विवाद नै ‘कलिगहरू’का सेवा निवृत्त अवस्थापछिका मिठो मुस्कानहरू हुन् । यसले उनीहरूलाई खुशी त दिन्छ नै, उनीहरूपछिको पुस्तालाई सहकार्य, सह–भाव र सह–अस्तित्वको मिठासमा बाँच्नुपर्छ भन्ने प्रेरणा पनि दिन्छ ।

यो व्यवाहारको सिकार तल्लो तहको कर्मचारी कहिल्यै पनि भएको छैन । जीवनमा पेन्सन हुन्जेल जागिर खाने र सामाजिक सुरक्षा हुने अनुभूति भएपछि अर्कोतिर जम्प हान्ने चलन नै छ । यो त उपल्लो तहमा हुने व्यवाहार र त्यसले पार्ने प्रभावको चित्र मात्र उल्लेख गर्न खोजिएको हो । अतः जीवनलाई उदाहरणीय, उर्जामय र प्रेरणादायी बनाउनका लागि पुलिसभित्रको फूलिस राजनीतिभन्दा अलिक बाहिर निस्कनु उपयुक्त हुन्छ ।

यो विन्दुमा जो कोही सन्तोष अथवा सन्तुष्ट नरहन पनि सक्ला । उसका आफ्नै योगदान र कर्मको परिणामको खोजी गर्दागर्दै प्रतिष्ठाको लडाईमा उत्रिएला । तर, त्यसो होइन । त्यसैले एउटा भनाई राख्दै बिट मार्छु–

आफूले चाहेका सबै चिजको प्राप्ति मात्रै सन्तुष्टि होइन, आफूसँग भएका जे सीप र क्षमतामै सन्तोषको अनुभूति नै सन्तुष्टि हो ।

नेपालमा पुलिस संगठनका नेतृत्वको होडमा देखिने त्यो अस्वस्थ्यताले भोलीको आफ्नै जीवनलाई खल्लो नबनाओस्, आगामी पुस्ताले पनि त्यहि बाटो नअँगालुन् बरु, त्यो परिस्थिति आउनबाट रोक्न आजै कुनै नीतिगत, ऐन, नियमावलीमा सुधार हुन सकोस् ।

प्रतिक्रिया
सम्बन्धित