बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

नेकपा अध्यक्ष प्रचण्ड : पाण्डवको सहयोगी बन्न हिँडेका साल्य, कौरबहरूको सेनापति भए !

विनोद ढकाल २०७७ साउन १३ गते १०:३९

महाभारतमा श्रीकृष्ण भन्छन्– समयले अनेक चिजको जन्म दिन्छ, समयले नै त्यसको विनाश गर्छ ।

नेपाल कम्युनिस्ट पार्टीभित्र चलेको महाभारतले पनि यहि प्रकरणमा विश्राम लिने निधो गरिसकेको छ । अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली कुनै पदबाट राजीनामा दिन तयार छैनन्, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एउटा न एउटा पदको राजीनामाको अडानमा छन् । भलै, यी अडान पछाडिका टेको अनेक आवरणमा छन्, तिनको चर्चा हुनेछ ।

आफ्ना अडान र प्रयासबाट कुनै पनि पक्ष सम्झौताको एउटा विन्दुमा नपुगेको खण्डमा श्रीकृष्णले भने जस्तो जसरी नेकपाको जन्म भयो त्यो भन्दा नमिठो विनाश हुने निश्चितप्रायः छ । जीतको जस प्रचण्डले पाए पनि घाटाको भाग आफैंले मात्रै लिनुपर्छ, उनको राजनीतिक पृष्ठभूमीको उठानको कथा फरक होला, पतनको व्यथा साह्रै नमिठो हुन सक्ने मेरो नीजि प्रक्षेपण हो ।

खासगरी प्रचण्डका दुई तीन वटा भाषणको स्मरण गर्छु अनि अहिलेको नियतीको विश्लेषण गर्छु ।

भक्तिगान गाइदिने दुई चार सय कार्यकर्ताको बोलीको लोलीबाहेक कम्युनिस्ट कुरुक्षेत्रमा माद्र राज्यका राजा साल्यको भूमिका उनलाई देख्न थालेको छु । साल्य केही क्षणका लागि धनुधर कर्णका सारथी, कर्णको मृत्युपछि कौरब सेनाका सेनापति त बन्छन् तर पतन निश्चित हुन्छ । ‘जयगान’ राजनीतिको केन्द्रमा छु भन्ने सर्वथा सत्य होइन ।

सत्य त सतहको अपेक्षासँग जडित हुन्छ । प्रचण्डको भूमिका प्रधान हो तर त्यो प्रधानतामाथि मडारिएका अनेक प्रकारका भ्रमबाट स्वयं मुक्त हुन आवश्यक छ । यो भक्तिगानको भ्रम र दिग्भ्रमित क्रिडाका अर्का पात्र प्रधानमन्त्री पनि हुन् । यसमा मचाहिँ कुनै भ्रममा छैन ।

प्रधानमन्त्रीका विषयमा अर्को आलेखमा चर्चा गरिनेछ । तर, प्रचण्डको अहिलेको अवस्थितिको कारणसँग केहीबेर रुमल्लिऔं । पाण्डवका मामा साल्य कसरी कौरबहरूको सेनापति भए भन्ने सन्दर्भलाई पनि उल्लेख गरिनेछ ।

प्रचण्ड आयाम हुन् तर अन्यको लोभ र लालचको आकांक्षा, विदेशीको दबाबको परिबन्ध र आफ्नै कतिपय महत्वकांक्षाको घेराबन्दीमा परेको भेट्छु । प्रचण्ड सार्वजनिक हुनासाथ भनेका थिए– एमाले भन्ने पार्टी हिङ बाँधेको टालो थियो, माओवादी पुरै हिङ नै आएपछि टालोको काम छैन ।

अर्कोचाहिँ, एमाले भन्ने पार्टीसँग विचार छैन । आधा जति कांग्रेसमा मिले हुन्छ, आधा जति कम्युनिस्ट माओवादीमा छिरे हुन्छ । माओवादी भनेको चिल हो, अरु भनेका चल्ला हुन् । यी भाषणका दम प्रमाणित भए या अप्रमाणित अवस्थामा छन् ? छिन्न भिन्न भएका मोहन वैद्यहरू, बाबुराम भट्टराईहरू मात्र होइन, चोइटा–चोइटामा रहेका गोपाल किराँतीहरूलाई हेर्दा थाहा हुन सक्छ ।

अहिलेको नेकपाभित्र जम्मा दुईवटा फ्याक्टर छन् । नेकपा एमाले र नेकपा माओवादी केन्द्र । यी स्पष्ट छन् । अकाट्य छन् । यीनको भूमिका पनि विरोधाभाष देख्दिन मचाहिँ ।

अब, राजा साल्यको कथा जोडौं । धर्म र सत्यको सहयोगका लागि पाण्डवहरूको सहयोका लागि सेनामेना बोकेर कुरुक्षेत्रतिर हिँडेका माद्र देशका राजा साल्यलाई कौरबहरूले छलपूर्वक नतमस्तक स्वागत गर्छन् । झुक्याइएर गरिएको त्यो स्वागतको गुण तिर्नका लागि साल्यले कौरबहरूलाई सहयोग गर्नुपर्ने हुन्छ । दुर्योधनले साल्यको जिम्मेवारी कर्णको सारथी हुँदै विस्तारै पराजयको बाटोमा अन्त्यतिर कौरबहरूकै सेनापति बनाउँछन् । तर, शक्तिशाली साल्यको पतन स्वभाविक बनिदिन्छ ।

अहिले ओलीइतरका समूहले प्रचण्डलाई राम्रो स्वागत गरेका छन् । झम्सीखेलदेखि खुमलटारसम्म आफ्ना विचारको प्रतिनिधि मानेका छन् । सारथी बनाएका छन्, सेनापति पनि मान्न तयार छन् । तर यसभित्रका प्रभावमाथि संश्लेषण भएको होला त ? पूर्वमाओवादी मात्र बोलाएर प्रचण्डले पाएका सुझावसँग तालमेल मिले त ?

अर्कोचाहिँ कौरबहरूका साथमा रहेका दुनियाँका एक से एक महाविद्वान र शक्तिशालीहरू कसरी गिर्छन्, त्यसबारे चर्चा गरिरहनु परेन ।

नेकपा राजनीतिमा अध्यक्ष प्रचण्ड एउटा नवीनतम् सोच भएका, चातुर्य राजनीतिक पात्र भए पनि अहिलेको अवस्थामा साल्य जस्तै बनेका छन् । उनको उदय र पतनको कथा भविष्यले बताउँछ तर यतिबेला उनी नेकपाभित्रको संस्थापनइतर एमालेहरूको सारथी र सेनापतिको भूमिकामा छन् ।

प्रचण्ड ३२ बर्षदेखि पार्टीको केन्द्रीय नेतृत्व र कमान्डमा छन् । उनलाई दोस्रो भएर बस्नु एउटा हिनता, अर्को जिम्मेवारीमा पनि कमजोर भएको महसुस हुन सक्छ । अहिलेको विवाद प्रचण्डको आफ्नै मनोवादको एउटा कारण हुनसक्छ, अर्कोचाहिँ नेपालहरूले साथ दिन सक्ने भन्ने -‘भुत्ते विश्वास’

तर के कमजोरी भयो भने एमालेभित्र आफूले पार्ने प्रभावको विषय भन्दा पनि उसले दिनसक्ने क्षतिको सन्दर्भलाई प्रचण्डले विश्लेषण गर्न कमजोरी गरे, सायद ।

एमाले गुटको राजनीतिलाई तत्काल परिवर्तन गर्न सक्नेहरूको पार्टी हो । धेरै पर जानै पर्दैन । महाकाली सन्धिमा एकै ठाउँ उभिएका थिए ओली– माधव नेपाल । फेरि, गुटगत विवादका राजनीतिमा उभिए दुवै । बामदेव गौतम विभाजनमा पुगे, फेरि जोडिए । त्यसपछिका समिकरणहरू झनै चाखलाग्दा छन् । तलसम्म गुटको प्रभाव छ एमालेमा । तर, त्यो विभाजित मानसिकतामा कहिल्यै पनि पुगेन । उपल्लो तहको समिकरणका अदलबदललाई मात्रै विश्लेषण गरौं ।

आठौं महाधिवेशनमा झलनाथ खनाल–गौतम र ईश्वर पोखरेलको बोन्डिङ भयो, ओली र नेपाल एकातिर उभिए । स्वभाविक थियो एउटा पक्षको पराजय अर्काको जय । नवौं महाधिवेशनलाई नियाँलौं । नेपाल–खनाल एक भए, ओली–गौतम–पोखरेलको समिकरण भयो । आठौंको परिणाम उल्टियो । नेकपाभित्र माओवादी केन्द्रको ताकत कमजोर भए पनि एमालेको संगठन कमजोर छैन । त्यो तहलाई भत्काउन नसक्नु प्रचण्डको ठूलो भूलचुक भयो ।

उनले के पनि बिर्सिए भने– तत्कालिन प्रधानसेनापति रुक्मांगत कट्वाल कारबाही प्रकरणमा खनालले फेरेको बोली र सरकारबाट राजीनामा गरेपछि नेपालले पेलेको नीति । राजनीतिमा यी स्वभाविक हुन सक्लान् तर नियत र नियतीको परिबन्ध अस्वभाविक हुन्छ । पार्टी विभाजनको अवस्था आएको खण्डमा अब एमाले त एमाले हुन सक्छ तर माओवादी केन्द्र माओवादी केन्द्र हुने ग्यारेन्टि प्रचण्ड आफैं दिन सक्तैनन् । रामबहादुर थापा, लेखराज भट्ट, जनार्दशन शर्माहरूको अहिलेको भूमिका प्रष्ट छ ।

प्रचण्ड ३२ बर्षदेखि पार्टीको केन्द्रीय नेतृत्व र कमान्डमा छन् । उनलाई दोस्रो भएर बस्नु एउटा हिनता, अर्को जिम्मेवारीमा पनि कमजोर भएको महसुस हुन सक्छ । अहिलेको विवाद प्रचण्डको आफ्नै मनोवादको एउटा कारण हुनसक्छ, अर्कोचाहिँ नेपालहरूले साथ दिन सक्ने भन्ने -‘भुत्ते विश्वास’ ।

स्मरण केचाहिँ हुनुपर्छ भने त्यहि ३२ बर्षको राजनीतिक दौरानमा उनलाई साथ दिने नेपाल १५ बर्ष एमालेको केन्द्रमा बसेर अर्को १५ बर्ष दोस्रो वा तेस्रो बरियतामा पनि अटल हुनुको अर्थ खोजिनु पर्दैन ? जसले जति सैद्धान्तिक या वैचारिक विषयको बहस भनेर भ्रामक प्रचार गरे पनि नेकपाको अहिलेको राजनीति पदीय आकांक्षाको टाकुरामा नै छ । यसमा थोरबहुत बाह्य शक्तिको पनि प्रभाव हुन सक्ला ।

लगभग नेकपा विभाजनको बाटोतिर लम्कियो भने, यसको परिणाम सुखद या दुखद जे सुकै होला । परिणामचाहिँ राजनीतिक इतिहासमा झट्का नपाएको हुनेछ, प्रचण्डका लागि । अहिले प्रतिष्ठाको सवालमा भोलीको राजनीतिलाई समाप्त बनाउने कि, सम्झौता गर्ने, उनीहरूकै विचार हो । तर, नेकपाको यो विवादले आउने परिणामले व्यक्तिको भन्दा पनि देशमा संविधान र व्यवस्था हानि हुने अवस्था आउँछ ।

आम मानिसलाई भोलीको देशको चिन्ता छ, आजको राजनीतिको होइन । यसर्थ, व्यक्तिको अडानका निम्ति, पदीय लोभका निम्ति आजको बिनाशसँग भोलीको भविष्य जडित छ । अब बिकास सोच्ने कि बिनाश ओली–प्रचण्डहरूको सहमति, सम्झौता या जे भनौं त्यहि सहकार्यमा, जुटमा मात्रै छ, फूटको परिणाम त व्यवस्थाले भोग्ला नि !

प्रतिक्रिया
सम्बन्धित