शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कांग्रेसको भातृ संगठन महिला संघले दियो देशव्यापी आन्दोलनको चेतावनी

दैनिक नेपाल २०७७ साउन ११ गते १६:१०

काठमाडौं, ११ साउन । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशव्यापी आन्दोलन गर्ने चेतावनी दिएको छ ।

मुलुकमा भएका विभिन्न महिला हिंसाका घटनाका प्रत्यक्ष दोषीहरूलाई तत्काल कारबाही गर्न माग गर्दै उनीहरूले यस्तो चेतावनी दिएका हुन् । महिला हिंसाका दोषीहरूलाई कुनै पनि हालतमा उन्मुक्ति दिन नहुने भन्दै संघले घटनामा संलग्नहरूलाई कारबाही नगरिए देशव्यापी रूपमा सशक्त आन्दोलन गर्ने चेतावनी दिएको हो ।

आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेपाल महिला संघले श्रीमतीको हत्या गरेको प्रमाणित भएपछि सर्वस्वसहित जन्मकैद सजाय भोगिरहेका रञ्जन कोइरालालाई सजाय घटाइएको विषयले न्यायलयमाथि विश्वसनीयता गुमेको बताएको छ ।

यस्तै, निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पुग्दा पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको र हिट एन्ड रन मुद्दामा अभियुक्त पृथ्वी मल्ललाई ५ लाख रूपैयाँ धरौटीमा रिहाई गरिएको र युवतीमाथि एसिड आक्रमणलगायत घटनाको विरोध गर्दै दोषीहरूलाई कारबाही गरिनु पर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा नेपाल महिला संघकी महासचिव तथा पूर्वसांसद धना खतिवडाले नेपालमा पछिल्लो समय महिला हिंसाका घटनाहरू दिनप्रतिदिन बढिरहेको बताउँदै घटनामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कारबाही गरिनुपर्ने माग गरिन् ।

उनले निर्मला पन्तको बलात्कारपछि हत्या भएको दुई वर्ष पूरा हुँदा समेत सरकारले दोषीलाई कारबाही गर्न नसकेको र पीडित परिवारलाई न्याय दिलाउन नसकेको गुनासो गरिन् । ‘आज दुई वर्ष हुँदासमेत सरकारले निर्मलाको हत्यारालाई पक्राउ गर्न सकेको छैन । देशमा कानूनी राज्यको उपहास भएको छ’, उनले भनिन् ।

बलात्कारपछि हत्याजस्तो जघन्य अपराधमा संलग्न दोषीहरूमाथि कडा कानूनी कारबाही नहुँदा अपराध गर्नेहरूको मनोवल बढेको उनको भनाइ छ ।

कार्यक्रममा जनता समाजवादी पार्टी, नेपालकी केन्द्रीय सदस्य पवित्रा तिमिल्सिनाले देशमा स्थानीय तहदेखि राष्ट्रपतिसम्म महिला हुँदा पनि महिलामाथि हिंसाका घटना नरोकिएकोमा दुःख व्यक्त गरिन् ।

उनले आफूहरू सबै मिलेर महिलामाथि हुने अन्यायको विरुद्धमा संघर्ष गर्नु पर्ने पनि बताइन् । एसिड आक्रमण, गीता ढकालको हत्यादेखि निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणका दोषीहरूलाई कानूनी कठघरामा उभ्याइनुपर्ने उनको माग छ ।

यस्तै कार्यक्रममा नेपाल विद्यार्थी संघकी केन्द्रीय उपाध्यक्ष तुलसा पन्तले पछिल्लो समय न्यायलयप्रति जनविश्वास घटेको बताइन् । र, न्यायलयका तुलोको एकातर्फ न्याय र अर्कोतर्फ पैसा देखिएको भन्दै आफूहरूलाई यसले लज्जाबोध भएको उनको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित