शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

पूर्वडीआईजी कोइरालाविरुद्धको पुनरवलोकन मुद्दाको पेसी आइतबार तोकियो

दैनिक नेपाल २०७७ साउन १० गते १३:५७

काठमाडौं, १० साउन । सर्वोच्च अदालतले पूर्वडीआईजी रञ्जन कोइरालाविरुद्धको पुनरवलोकन मुद्दाको पेसी आइतबारका लागि तोकेको छ ।

पत्नी हत्याको अभियोगमा सर्वस्वसहित जन्मकैद सजाय पाएका कोइराला गत बिहीबार रिहा भएका थिए । उनको सजाय अवधि ८ वर्ष ६ महीना घटाउँदै रिहा गर्ने आदेश सर्वोच्चले दिएको थियो ।

तर, सर्वोच्चको उक्त आदेश चित्त नबुझेपछि सरकारका तर्फबाट महान्यायाधिवक्ताको कार्यालयले कोइरालाको मुद्दामा पुनरावलोकनका लागि निवेदन दिएको छ । सोही मुद्दाको पेसी आइतबारका लागि तोकिएको हो ।

प्रचलित कानून अनुसार जन्मकैद भन्नाले २० वर्षको सजाय रहन्छ । तर, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलाशले ‘सजाय चर्को पर्न जाने’ भन्दै कोइरालाको सजायअवधि ८ वर्ष ६ महीनामा घटाइदिएका थिए ।

जेल सजाय घटाएर कोइरालालाई चाँडो रिहा गर्ने फैसला गरेका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा यतिबेला विवादमा समेत परेका छन् । उनका लागि महाअभियोगको माग गर्दै मानिसहरु सडकमा समेत उत्रिन थालेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, शुष्मालता माथेमा, डा. मनोज कुमार शर्मा, डा. आनन्द मोहन भट्टराई र सपना मल्ल प्रधानले यो मुद्दा हेर्न मिल्ने छैन ।

प्रतिक्रिया
सम्बन्धित