बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

मुख्यमन्त्री राईको टेबलमा ‘सीएम ड्यासबोर्ड’, प्रदेश १ को सबै गतिविधिमा प्रत्यक्ष निगरानीको पहुँच

दैनिक नेपाल २०७७ साउन १० गते ११:३३

विराटनगर, १० साउन । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशभरका विकास निर्माणका आयोजना र अन्य गतिविधिको ‘हाईटेक’ प्रविधि प्रयोग गरेर प्रत्यक्ष निगरानी गर्ने भएका छन् ।

यस्ता सबै गतिविधिमा प्रत्यक्ष निगरानीका लागि राईले शुक्रबार मुख्यमन्त्री सूचना केन्द्र ‘सीएम ड्यासबोर्ड’ सञ्चालनमा ल्याएका छन् । सबै गतिविधिको प्रत्यक्ष निगरानीका साथै आवश्यक परे तत्काल सम्बोधन गरी समस्या समाधान गर्नेगरी यो प्रविधिको शुरुआत गरिएको प्रदेश सरकारले बताएको छ ।

मुख्यमन्त्रीको टेबलमा राखिने ड्यासबोर्डबाट प्रदेश सरकारद्वारा सञ्चालित सबै विकास निर्माणका योजना र अन्य गतिविधिको प्रत्यक्ष निगरानी गर्न मिल्ने र समस्या परे तत्काल संबोधन गरी समाधानको उपाय खोज्न मिल्ने व्यवस्था मिलाइएको मुख्यमन्त्री राईले बताए ।

प्रदेश सरकारलाई डिजिटल प्रदेशको अवधारणाका साथ अगाडि बढाउँदै ‘आइटेक’ प्रविधिको सेवा प्रवाह गर्ने उद्देश्यले ड्यासबोर्ड सञ्चालनमा ल्याइएको उनको भनाइ छ ।

यो प्रविधिको प्रयोगबाट प्रदेश मन्त्रालय र ती मातहतका सम्पूर्ण कार्यालयहरुबाट प्रवाह हुने सेवा प्रभावकारी बनाउन ड्यासबोर्ड प्रभावकारी हुने बताइएको छ । प्रदेश सरकारसँगै १४ वटै जिल्लाका स्थानीय तहमा सञ्चालित योजनाहरुको निगरानी, अनुगमन र नियमन गर्न ड्यासबोर्ड प्रभावकारी हुने अपेक्षा लिइएको विश्वास गरिएको छ ।

विकास निर्माणलगायत दैनिक सेवा प्रवाहमा कमीकमजोरी भए प्रदेशवनसीले सोझै टिप्पणी, जिज्ञासा, गुनासा र सुझाव राख्न पाउने व्यवस्था ड्यासबोर्डले गरेको छ । उनीहरुबाट ड्यासबोर्डमा प्राप्त गुनासा र सुझावहरु ग्रहण गर्दै त्यसअनुरुप अघि बढ्ने योजना सरकारले बनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित