शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

मन कुँढ्याउने सप्तकोशी नगरको समाचार !

विनोद ढकाल २०७७ साउन १० गते ११:१७

-विनोद ढकाल

एउटा भनाई छ– भ्रष्टाचार भनेको युवा लोकतन्त्रका लागि नैतिक दुश्मन हो । हामी लोकतन्त्रको त्यो चरणमा छौं जसको उपयोगका निम्ति अनेक चुनौति छन् । मिहेनत र परिश्रमले बनाएको संसारभन्दा पर एउटा रीत बनेको भ्रष्टाचारको लयबाट प्रशासनलाई चलाउने नियत जिम्मेवार मानिसमा जागृत हुनु दुखदायी हुनेछ ।

अझ संविधानले शक्तिशाली बनाएको स्थानीय सरकार भ्रष्टाचारमा लिप्त भयो भने भविष्यको विजारोपण हुन नपाउँदै हत्या हुन्छ । अर्थात् विकास र निकासका कतिपय सपनाहरूको भ्रुण हत्या हुनेछ ।

केही संकेतहरू सप्तकोशी नगरपालिकाभित्र त्यस्तै देखिन थाल्यो । हामी त्यो दलदलमा पस्नुअघि सचेत बन्नैपर्छ, अगाडि बढ्न धेरै चुनौतिका पहाड छन् । सबै चिर्नुछ ।

आफ्नो गाउँ आफैं बनाऊँ भन्ने नारा नै आजका युवाको लागि उच्चतम विन्दु हुनेछ, नेतृत्वतिर लम्किन । घरको व्यवस्थापकीय कमजोरीमाथि प्रश्न उठाउनु सन्तानको स्वभाविक अधिकार हो । यो अधिकारलाई एउटा घेरा र प्रतिशोधको भावनामा लिइयो भने घर भत्किन सक्छ !

अब सबै मिलेर प्रश्नहरू गरौं, यहिँभित्र उत्तरहरूको खोजीनीति गरौं । समस्याहरूलाई अगाडि राखौं, समाधानका कयन उपायलाई पनि साथै विस्कुन बनाऔं, छलफल गरौं ।

मलाई मेरा साथीभाइहरूले निरन्तर प्रश्न गर्छन्– अब आफ्नो नगरलाई नमूना कसरी बनाउने ? यी प्रश्नमा अनुत्तरित हुने अधिकार छैन, मलाई । नमूना बनाउनका लागि योजना र त्यसका प्रभावकारी कार्यान्वयनका पर्याप्त आधारहरू चाहिन्छ । यी आधारहरूका आयाममा उभिन सक्नुपर्छ ।

हो, म सप्तरीको सप्तकोशी नगरपालिकाको उन्नत भविष्यका सन्दर्भमा चर्चा गर्न चहान्छु । यसका मूलभूत दुईवटा प्राथमिक कारण छन् । पहिलो, म स्थानीय हुँ । दोस्रो, नगर निर्माणको नयाँ पुस्ता हुँ ।

देशका कयन स्थानीय सरकार मध्ये केन्द्रबाट अति कम बजेट पाउने नगरपालिका हो, सप्तकोशी । कम बजेटमा पनि चुस्त र दुरुस्त काम गर्न सकिन्छ भन्ने उदाहरण दिने बेला हो, यो । विविधतामा रहेको समाजलाई एकत्रीत र राजनीतिक बैरभाव होइन, सहकार्यमा नमूना नगर बनाउने समयमा नीजि स्वार्थमा मात्रै तल्लिन भएका विवरण राष्ट्रिय टेलिभिजनदेखि मिडियाहरूमा आउँदा दुख लाग्नु स्वभाविक हो ।

समग्रतामा हेर्ने हो भने जनसंख्याका हिसाबले पनि सानो नगरपालिकाले एउटा नयाँ आयाम र सन्देश दिन सक्नुपर्ने थियो, देशलाई । यसै पनि २ नम्बर प्रदेश र त्यहाँमाथि सप्तरीको स्थानीय सरकार भन्यो भने धेरैले अचम्म मान्छन् । यो अचम्मलाई काम र परिणामले दुनियाँसामु उदेकमा परिणत गर्ने बेला र मौका हो ।

असम्भव के छ र ? सम्भावनाका प्रचुर मौका छन् । दत्तचित्त दिएर व्यवाहारिक काममा सफल हुनपर्छ । हामी यस्तो नगरको प्रतिनिधित्व गरी विविध क्षेत्रमा छौं जहाँ सहरीया सुविधाका सबैथोक छैनन् । कर्पोरेट बैंक, वित्तिय संस्थाको पहुँच, आर्थिक उपार्जनका अनेक क्षेत्रका लगानी भित्राउने सामथ्र्य भएको पुस्ता छ, परिवेश बनाइदिने नेतृत्व छ जस्तो लाग्दैन ।

सानो जनसंख्या भएको स्थानमा घरैपिच्छेका दलीय प्रतिनिधित्व गणनायुक्त हुन्छ । यहि गणनालाई मानक बनाएर ग्रामिण विकासविरुद्ध व्यक्ति र परिवारमाथि धारणा बनाउने नियती हरेक गाउँले भोगीरहन्छन्, सप्तकोशी नगरको समस्या पनि यहिँनेर देखिन्छ

पुरातात्विक हिसाबमा चन्द्र नहर, हेडबानलगायतका विविध अचल धन छन् । ति धनलाई पेन्टिङ गरेर दुनियाँसामु परिचय गराउन सक्ने लयलाई हामीले समात्नु छ । सामुदायिक बनलाई नमूना र खेती किसानीलाई प्राथमिकतामा राख्नुपर्ने अवस्था छ । कमल दह छ, जसको पौराणिक मुल्य र मान्यताको प्रचारमुखी व्यवस्थामा हामी अगाडि बढ्न सकेका छैनौं ।

ललितपुर जस्तो जिल्लाको बिकट कर्णाली जस्तो क्षेत्रको अवस्था त सुधारोन्मुख रहेको पाइयो भने हरेक हिसाबले सुविधायुक्त रहेको क्षेत्रमा सीमित बजेटबाट असीमित काम गर्न सक्ने क्षमता र इच्छाशक्ति हामीमा पहिलो बन्नुपथ्र्यो । त्यसो गर्दा नमूना नगरका रुपमा नेपालमै परिचय स्थापित गर्न सकिने थियो । तर, समाचार र विवरणमा जब एउटा साधारण पुल निर्माणमा पनि भ्रष्टाचार भएको, कुशासनको चक्र चलाइएको जस्तो तथ्य फेला पर्छन्, आफ्नै आँगन देखेर मन कुँढिन्छ ।

हालै मात्र कतिपय निर्माणका क्रममा भ्रष्टाचार भएको ठहर गर्दै अख्तियार दुरुपयो अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको विवरण फेला परेको थियो । यसको केही दिनमा निर्माण भएको पुल केही दिनमा नै भत्किएको समाचार बाहिरियो ।

यस्ता प्रकारान्तरका विषयलाई निर्मूल बनाउने अभियानको खाँचो छ । प्रशासन सन्तुलित बनाउन खबरदारी पनि बलियो हुनुपर्छ । पक्षले गरेका गल्तीलाई प्रतिपक्षले सवाल बनाउनुपर्छ, त्यसको उत्तर खोज्नुपर्छ । प्रतिपक्ष भ्रष्ट भयो भने, सन्तुलनका लागि सामाजिक दबाब अनिवार्य खाँचो हुन्छ ।

स्थानीय सरकारको काम भनेको भएको बजेट परिचालन मात्र होइन, समन्वय गरी विविध क्षेत्रमा विकासका परियोजना कसरी ल्याउन सकिएला भन्ने चिन्तन प्राथमिक हुनुपर्छ । राम्रो अस्पताल, राम्रो शिक्षा, प्राविधिक शिक्षालयको निर्माण र व्यवस्थापनका पक्षमा पनि स्थानीय सरकारको सोच र लक्ष्य अनिवार्य हुनुपर्छ । परम्परागत ढर्राका कार्यक्रमले उन्नत नगर त मरिगए पनि हुँदैन, नगर उन्नत बनाउनका निम्ति कृषि, व्यापार, साहित्य, कला, पुरातात्विक सम्पत्तिको जगेर्ना र प्रचारमुखी बनाउनैपर्छ ।

अहिले केही युवा सुशासनको पक्षमा उभिएका छन् । कुशासनको चिरफार र व्यवस्थित नगरको परिकल्पना गर्नु अपराध हो र ?

हामी अझै गाउँकै गतिमा छौं । नेपाली गाउँ भनेको राजनीतिक पक्ष र विपक्षताको कठोर बिम्ब बनिरहेको छ । सानो जनसंख्या भएको स्थानमा घरैपिच्छेका दलीय प्रतिनिधित्व गणनायुक्त हुन्छ । यहि गणनालाई मानक बनाएर ग्रामिण विकासविरुद्ध व्यक्ति र परिवारमाथि धारणा बनाउने नियती हरेक गाउँले भोगीरहन्छन्, सप्तकोशी नगरको समस्या पनि यहिँनेर देखिन्छ ।

अब परिवर्तन अनिवार्य छ । परिवर्तन भनेको शासन प्रणाली, सत्ता सञ्चालनको विषय मात्र होइन । समाज रुपान्तरण, प्रशासन रुपान्तरण र चुस्तता, विकासका काममा देखिका छिद्रहरू पुर्नु पनि हो । यसर्थ, अबको बाटो समाज, घर, बजार, टोल हुँदै स्थानीय सरकारलाई बलियो र उदाहरणीय बनाउनु हुन्छ । यसका लागि केन्द्रमा मात्र होइन, तल्लो तहमा पनि पुस्तान्तरण अनिवार्य छ । युवा नेतृत्वमा आउने र बुज्रुकले सल्लाह दिने सुशासनयुक्त समाज निर्माण गर्नु हुनेछ, त्यो सानो देखिए पनि उन्नतका लागि सप्तकोशी नगरपालिका भित्रका लागि खाँचो भएको प्रष्ट छ ।

प्रतिक्रिया
सम्बन्धित