शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

लकडाउन खुला गरिएको होइन, लचकता अपनाइएको हो : उपप्रधानमन्त्री पोखरेल

‘कोरोना संक्रमणको अवस्थामा सुधार आए मात्रै भदौ १ देखि अन्य क्षेत्र खुल्छन्’

दैनिक नेपाल २०७७ साउन ९ गते १६:४३

काठमाडौं, ९ साउन । उपप्रधानमन्त्री तथा कोरोना नियन्त्रण उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेलले हाल लकडाउन खुला गरिएको नभई सरकारले लचकता अपनाएको बताएका छन् ।

शुक्रबार न्यूज एजेन्सी नेपालका सञ्चारकर्मीसँग कुरा गर्दै संयोजक पोखरेलले कसैले बोल्दा र भन्दा मात्रै लकडाउन खुलेको बताएका हुन् ।

शैक्षिक संस्थाहरु नखुलेको, सभासम्मेलनहरुलाई अझै बन्देज गरिएको, चलचित्र हलहरु नखुलाइएको, ब्युटीपार्लर, सैलुन तथा स्पा सञ्चालन नगरिएकोलगायत अवस्थामा लकडाउन पूर्ण रुपमा खुला नभएको उनको भनाइ छ ।

त्यस्तै अन्तर जिल्ला सार्वजनिक यातायात, हवाई उडानलगायत सेवा बन्द रहेको बताउँदै पोखरेलले निश्चित पोर्टोकललाई अवलम्बन गरेर सार्वजनिक यातायातहरु जिल्लाभित्र मात्रै चलाउन मिल्ने गरी खुला गरिएको बताएका छन् ।

अहिले पनि कोरोना संक्रमण तीव्र भइरहेको क्षेत्र तत्काल शील गर्ने गरिएको उनले बताए ।

कोरोना संक्रमणको वर्तमान अवस्थामा सुधार हुँदै गए मात्रै भदौ १ गतेदेखि खुला गर्ने भनिएका अन्तरजिल्ला सवारी, हवाई उडान, विद्यालय र अन्य क्षेत्रहरु खोल्न सकिने उनको भनाइ छ । अन्यथा संक्रमणले तीव्रता लिएको खण्डमा ति क्षेत्रहरु बन्द नै रहने उनले बताएका छन् ।

‘कोरोनाको अवस्था यही र यो भन्दा कम हुँदै गए मात्र भदौ १ गतेदेखि हवाई उडान, लामो दूरीका बससेवा र अन्य क्षेत्रहरु खुला गर्न सक्छौं भनेर सरकारले प्रारम्भिक मानसिकता तयार गरेको हो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘कोरोनाको संक्रमण दर बढ्यो भने उक्त दिनबाट हामी ति क्षेत्र सञ्चालन गर्न सक्दैनौं ।’

प्रतिक्रिया
सम्बन्धित