शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

मलाई पदमा पुग्न हतारो भएको आरोप लगाइयो : चन्द्र ढकाल

दैनिक नेपाल २०७७ साउन ९ गते १५:४०

काठमाडौं, ९ साउन । नेपाल उद्योगा वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले महासंघका केही व्यक्तिले आफूलाई पदमा पुग्न हतारो भएको आरोप लगाएको बताएका छन् ।

तोकिएको समयमा साधारणसभा सम्पन्न गरी महासंघलाई गतिशील बनाउनुपर्छ भन्दा स्वास्थ्य सुरक्षाको जोखिम औंल्याउँदै आफूमाथि पदलोलुपताको आरोप लगाइएको उनले बताएका छन् । महासंघको आगामी २५ र २७ गतेको निर्वाचन कार्यक्रमसहितको साधारणसभा स्थगित गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै ढकाल समूहले शुक्रबार पत्रकार सम्मेलन गरी साधारणसभा स्थगित गर्नु कानूनी रूपमा गलत भएको बताएको छ ।

आगामी निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका ढकालले कार्यसमितिको बैठकले निर्वाचन सार्नु निर्णय गर्नु पर्ने भए पनि पदाधिकारीको बैठकले नै निर्वाचन सारेको भन्दै दुःख व्यक्त गरेका छन् । यसले महासंघभित्र गलत प्रवृत्ति हावी हुँदै गएको ढकालको जिकिर छ ।

विभिन्न जटिल परिस्थितिमा समेत महासंघले आफ्नो साधारणसभा समयमै सम्पन्न गरेको दृष्टान्त उल्लेख गर्दै ढकालले कोरोनाको प्रभाव कम भएको तथा सरकारले समेत लकडाउन खुला गरिसकेको अवस्थामा कार्यक्रम स्थगित गर्नु व्यवहारिक नभएको तर्क गरेका छन् ।

‘विद्यमान जटिल परिस्थितिमा हामीलाई थप सबल, सक्षम र डाइनामिक नेतृत्वको आवश्यकता छ भनेर नै मैले आवाज उठाउँदा उल्टै मलाई पदमा पुग्न हतार गरेको आरोप लगाउने काम भयो’, ढकालले भनेका छन्, ‘ महासंघको साधारणसभाका लागि लिएर मेरो व्यक्तिगत कुरा गर्नुहुन्छ भने यसबाट मलाई तात्विक भिन्नता केही हुँदैन । साधरणसभाअघि म उपाध्यक्ष हुँ, साधरणसभाले मलाई विजयी बनाएपछि पनि म हुने वरिष्ठ उपाध्यक्ष नै हो । म कार्यकारी अधिकार भएको पोस्टमा पुग्ने पनि होइन । त्यसैले महासंघको साधरणसभाबाट मलाई कुनै ठूलो लाभ हुने, वा व्यक्तिगत महत्वाकांक्षा पूरा हुने पनि होइन ।’

स्वास्थ्यसम्वन्धी मापदण्डहरू लागू गरेर कार्यक्रमहरू सञ्चालन गरौं भन्ने आफ्नो राय भएको बताउँदै उनले आफ्नो रायमाथि महासंघकै पदाधिकारीहरूले स्वास्थ्य भन्दा महासंघ ठूलो हुन सक्दैन भनेर मलाई हतोत्साही बनाएको बताएका छन् ।

स्वास्थ्य भन्दा महासंघ ठूलो नभएकोमा आफू स्ष्पट रहेको भन्दै उनले कोभिड–१९ को महामारीमा साधारणसभाको कुरा उठाउँदा स्वास्थ्यसम्बन्धी कुनै पनि कुरामा सम्झौता गर्ने कुरा नगरेको जिकिर गरेका छन् ।

संस्थाको गरिमा जोगाउन विधिविधानको पूर्ण पालना गर्नुपर्नेमा उनले जोड दिएका छन् । महासंघको साधारणसभा गर्दा उद्योगी व्यवसायीको मनोवल उच्च हुने उनको भनाइ छ ।

अहिले पुरानो नेतृत्व जिम्मेवारीबाट पन्छिने र नयाँ नेतृत्वले जिम्मेवारी लिन नचाहने स्थितिले संस्था बेवारिसे हुनसक्ने अवस्था आएको भन्दै उनले लाखौं उद्योगी, व्यापारी तथा व्यावसायीले अफ्ठ्यारो परिस्थितिमा अभिभावक वीहिनको अवस्था महशुस गरिरहेको बताएका छन् ।

‘साढे ५ दशक पुरानो संस्था कानूनी रूपमा इतिहासमै कमजोर अवस्थामा पुगेको बेला यसलाई कम्तीमा चुनावी दाउपेचको शिकार बनाउन हुँदैनथ्यो । यो आफैंमा दुर्भाग्यपूर्ण छ’, ढकालले प्रेस विज्ञप्तिमा भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित