शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सेना र प्रहरी अधिकारीसहित छाङरु पुगे सुदूरपश्चिमका कानूनमन्त्री

दैनिक नेपाल २०७७ साउन ९ गते १२:००

कानूनमन्त्री शाह

दार्चुला, ९ साउन । सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहलगायतको टोली शुक्रबार छाङरु पुगेका छन् ।

भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी मुनिको गाउँ छाङरुको स्थलगत निरीक्षणका लागि मन्त्री शाह त्यहाँ पुगेका हुन् । छाङरुबाट कालापानी करीब १४ किलोमिटर मात्रै टाढा छ ।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरूसहित मन्त्री शाह शुक्रबार बिहानै सेनाको हेलिकप्टरमा छाङरु पुगेका हुन् ।

ब्यासको छाङरुमा सशस्त्र प्रहरीको गुल्म र थप बोर्डर आउट पोष्ट (बीओपी) स्थापना हुने भएपछि मन्त्री शाह निरीक्षणमा गएका हुन् । टोलीले सशस्त्र प्रहरी बस्ने ठाउँ, नेपाल प्रहरीको बस्ने भवन र त्यस क्षेत्रमा भइरहेको बाटो निर्माणको निरीक्षण गर्ने बताइएको छ ।

सुरक्षा निकायका भौतिक संरचना निर्माणका लागि प्रदेश सरकारले पनि त्यस क्षेत्रमा बजेट बिनियोजन गरेको छ ।

टोलीमा सेनाका अधिकारीसमेत सहभागी भएकाले यो भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । सेनाको अप्रेसन विभागका रथी प्रेमबहादुर शाही र २५ नम्बर बाहिनीका बाहिनीपति शंकर पण्डित पनि टोलीमा सहभागी रहेका छन् ।

सरकारले हालै भारतद्वारा अतिक्रमित नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा नक्सामा राखेर त्यस क्षेत्रमा सुरक्षा व्यवस्था मजबुत बनाउँदै लगेको छ ।

प्रतिक्रिया
सम्बन्धित