शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

म्याग्दीमा पश्चिम जाने बाटो खुल्यो, उत्तर जाने अझै बन्द

दैनिक नेपाल २०७७ साउन ९ गते १०:०९

म्याग्दी, ९ साउन । म्याग्दीका विभिन्न स्थानमा गएको पहिरोका कारण अवरुद्ध सडक कतै मर्मतपछि सुचारु भएका छन् भने कतै दुई सातादेखि अवरुद्ध छन् ।

स्थानीय प्रशासन, सुरक्षा निकाय र स्थानीय बासिन्दाको पहलमा पश्चिम म्याग्दी जोड्ने बेनी–दरबाङ सडकखण्ड सुचारु भएको छ । बेनी नगरपालिका–४, फापरखेत र मंगला गाउँपालिका–२ जोड्ने फापरखेतको पहिरो नेपाली सेना, प्रहरी र स्थानीयवासीले पन्छाएपछि पश्चिम म्याग्दीमा सिधा यातायात सञ्चालनमा आएको हो ।

पश्चिम तर्फको सडक सुचारु गरिए पनि गण्डकी प्रदेशको लाइफलाइन मानिएको बेनी–जोमसोम–कोरला सडकखण्ड १४ दिनदेखि अवरुद्ध छ । गत असार २५ गतेदेखिको अविरल वर्षाका कारण दानाको काभ्रेभीर, घोप्टे भीर, गुइँठे भीर लगायत ठाउँहरुमा पहिरोले सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

यस्तै म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुंगा सडक लामाखेत, केराबारी र नयाँपुलमा पहिरो खसेपछि अवरुद्ध भएको छ ।

पहिरोबाट अतिप्रभावित जिल्लाको मालिका गाउँपालिकाको दरवाङ हुँदै बिम र धवलागिरिको मराङ जोड्ने सडक मर्मतको काम भइरहेको छ । दरवाङ–धारापानी–ताकम सडक मर्मत गरेर सूचारु गराइएको छ ।

पहिरोबाट अवरुद्ध सडक खुलाउन जिल्ला समन्वय समितिले मालिका र धवलागिरि गाउँपालिकालाई पहिलो चरणमा ३०/३० लाख रुपैयाँ उपलब्ध गराएको जिल्ला समन्वय प्रमुख देवेन्द्र केसीले बताए ।

पहिरो पीडितको राहत र व्यवस्थापनका लागि सडक खुलाउन प्राथमिकता दिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए । सडक अवरुद्ध हुँदा हेलिकोप्टरमार्फत पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित