शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

दुई वर्षदेखि होस नखुलेका विश्वको उपचारका लागि यूके र हङकङबाट आर्थिक सहयोग

दैनिक नेपाल २०७७ साउन ८ गते २२:५९

पोखरा, ८ साउन । पर्वतको मोदी गाउँपालिका–१ लौसीबोटका विश्व गुरुङको उपचारका लागि यूके र हङकङवासी नेपालीबाट आर्थिक सहयोग प्राप्त भएको छ ।

हङकङमा रहेका नेपालीले ‘लौसीबोट हङकङ समाज’ र यूकेमा रहेका नेपालीले ‘लौसिबोट यूके’ मार्फत २ लाख ७५ हजार ५ रूपैयाँ संकलन गरी बिरामीका परिवारलाई पठाएका हुन् । उक्त रकम बुधबार विश्वकी आमा डिलकुमारी गुरुङलाई प्रदान गरिएको छ ।

सहयोगका लागि लौसीबोट हङकङ समाज र लौसीबोट यूके समाजबाट एकमुष्ट ६० हजार रूपैयाँ र बेलायतमा रहेका पर्वतवासी जयन्ती गुरुङ र इन्द्र गुरुङको पहलमा संकलित २ लाख १५ हजार रूपैयाँ उनलाई हस्तानतरण गरिएको हो ।

दुई वर्षअघि पोखरास्थित एक रेष्टुराँको भर्याङबाट लडेका विश्व गुरुङको टाउकोमा गम्भीर चोट लागेपछि अझैसम्म पनि होसमा आएका छैनन् । हाल पोखरा–१२ फुलबारी सफा मार्गमा बस्दै आएका २५ वर्षीय विश्व गुरुङको उपचारमा हालसम्म करीब १ करोड रूपैयाँ खर्च भइसकेको उनको परिवारले बताएको छ ।

उनको उपचारका लागि आर्थिक अभाव सृजना भएपछि यूकेमा रहेका नेपालीहरूले उक्त रकम संकलन गरी नेपाल पठाएका हुन् ।

पर्वत घर भइ हाल पोखरा–१० अमरसिंहचोकमा बस्दै आएका युनाइटेड क्लवका अध्यक्ष लालकाजी गुरुङ र लक्ष्मी गुरुङको संयोजनमा लौसीबोट पोखरा सम्पर्क समाजका अध्यक्ष लोकबहादुर गुरुङ र लौसीबोट गाउँ समाजका अध्यक्ष कुलवीर गुरुङले विश्वकी आमा डिलकुमारीलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

संकलित सहयोग रकम हस्तान्तरण गरिँदै ।

सहयोग रकम हस्तान्तरणपछि समाजका अध्यक्ष लोकबहादुर गुरुङले विश्वको उपचारको क्रममा डिलकुमारी गुरुङले निकै दुःखकष्ट व्यहोर्नुपरेको बताउँदै दुःखको बेलामा विदेशमा रहेर पनि सहयोग गरेकोमा धन्यवाद व्यक्त गरे । समाजको तर्फबाट यसअघि नै १ लाख रूपैयाँ सहयोग प्रदान गरिसकेको बताउँदै उनले पुनः थप ५ हजार रूपैयाँ सहयोग गरे ।

युनाइटेड क्लव पोखराका अध्यक्ष लालकाजी गुरुङले सामाजिक सञ्जालको माध्यमबाट पर्वत लौसीबोटका युवा विश्व गुरुङको स्वास्थ्य अवस्थाको बारेमा जानकारी पाएपछि पर्वतवासी हाल यूकेमा रहेका जयन्ती गुरुङ र इन्द्र गुरुङले सहयोग संकलन गरेको बताए ।

त्यस्तै सामाजिक अभियन्ता लक्ष्मी गुरुङले आफूले केही दिन पहिले विश्व गुरुङको बारेमा जान्ने मौका पाएको र उनको यथार्थ झल्किने गरी सामाजिक सञ्जालमा भिडियो र फोटो राखेर यूकेमा रहेका दिदीबहिनीहरूले थाहा पाएर सहयोग जुटाएको बताइन् ।

२०७५ कात्तिकमा लेकसाइडको एक रेष्टुराँमा खाजा खाने क्रममा भर्याङबाट लडेर टाउकोमा गम्भीर चोट लागेको विश्व गुरुङको पोखराको मणिपाल अस्पताल र काठमाडौंको टिचिङ अस्पतालमा उपचार भएको थियो ।

विश्वको उपचारका लागि उनकी आमा डिलकुमारीले आफ्नो घर समेत बेचिसकेकी छिन् । तर, अझै छोराको होस नखुल्दा उनी गम्भीर चिन्तामा छिन् । उपचारमा संलग्न डाक्टरहरूले उनको होस आउन अझै केही समय लाग्ने बताउँदै आएका छन् । डाक्टरहरूले दिएको भरोसालाई आधार मानी छोराको होस खुल्नेमा आशावादी रहेको डिलकुमारी बताउँछिन् ।

प्रतिक्रिया
सम्बन्धित