
विराटनगर, ८ साउन । सञ्चालक चिकित्सकलाई नै कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले विराट नर्सिङहोम अनिश्चित कालका लागि शील गरेको छ ।
विराट नर्सिङ होममा कार्यरत चिकित्सक, कर्मचारी र त्यहाँ उपचारमा आउनेहरुको कन्ट्र्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गरिने छ । नाम, ठेगाना र फोन नम्बर गलत दिएर कोरोना परीक्षण गराएका नर्सिङ होमका सञ्चालक समेत रहेका डा. ज्ञानेन्द्र कार्कीका कोरोना पुष्टि भएको हो ।
उनले आफ्नो नर्सिङ होमको व्यापारमा गिरावट आउने डरले कोरोना पोजेटिभ लुकाएको पाइएको छ । उनलाई बुधबार नै कोरोना भएको पुष्टि भएको थियो ।
महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले विराट नर्सिङ होम शील गरिएको बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश १ को सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला प्रहरी कार्यालय, स्वास्थ्य कार्यालयसमेतका निकायसँग समन्वय गरेर विराटनगर महानगरपालिकाले अस्पताल शील गरेको कार्कीले बताए ।
अस्पतालबाट मंगलबार संकलन गरिएको स्वाबको नतिजा पोजेटिभ आएकाले उपचाररत बिरामी, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षागार्ड लगायतलाई कोभिड–१९ को दायरामा ल्याउनु पर्ने तथा पूरै अस्पताल स्यानिटाइज गरेर ‘डिसइन्फेक्ट’ गर्दै सुरक्षित बनाउनु पर्ने कार्कीले बताए ।
शील गरिएको अवधिभर अस्पतालको ओपीडी तथा आकस्मिक सबै सेवा ठप्प रहने छ भने नयाँ बिरामी भर्ना लिन पाउने छैन । अस्पतालमा भर्ना गरिएका बिरामीको भने उपचार जारी रहनेछ ।
चिकिसत्कलाई नै संक्रमण पुष्टि भइसक्दा पनि अस्पतालले लुकाउने काम गरेका कारण अस्पतालमा स्यानिटाइज भने अस्पताल आफैले गर्नु पर्ने कार्कीले बताए ।













प्रतिक्रिया