
काठमाडौं, ७ साउन । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ट नेता झलनाथ खनालले समाजवादको लक्षमा दृढतापूर्वक अगाढि बढ्नु नै संस्थापक नेता पुष्पलालप्रतिको सच्चा सम्मान हुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४२ औं स्मृति दिवसको अवसरमा वरिष्ट नेता खनालले प्रेस विज्ञप्ति जारी गरी संस्थापक नेता पुष्पलालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उक्त विज्ञप्तिमा नेता खनालले मुलुकको समसामयिक राजनीतिबारे टिप्पणी गर्दै समाजवादको यात्राका लागि कम्युनिष्ट पार्टी एकढिक्का हुनु पर्ने आवश्यकता औंल्याएका छन् ।
‘हाम्रो पार्टीलाई हामीले सही नीति, विधि र पद्धतिमा अघि बढाउनुको विकल्प छैन’, उनले विज्ञप्तिमा लेखेका छन्, ‘पार्टीलाई थप एकताबद्ध गरी सुदृढ र थप मजबुत बनाउदै समाजवादको लक्ष्यमा दृढतापूर्वक अघि बढ्नु नै क. पुष्पलालप्रतिको सच्चा सम्मान पनि हो ।’
वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिएका पुष्पलालको निधन २०३५ साल साउन ७ गते भारतमा भएको थियो ।
उनले २००६ साल भदौ ३० गते नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए ।
उक्त पार्टी विभिन्न कालखण्डमा विभाजन र एकता हुँदै आजको ठाउँसम्म आइपुगेको हो ।













प्रतिक्रिया