
काठमाडौं, ५ साउन । अध्ययन तथा वैदेशिक रोजगारीका लागि विदेशमा रहेका नेपालीको उद्धार गर्दै आएको सरकारले अब भने धेरै संख्यामा नेपाली रहेका देशहरूमा उद्धार उडानलाई प्राथमिकता दिने भएको छ ।
कोरोना भाइरसका कारण रोजगारी गुमाएर अलपत्र परेका नेपाली नागरिकको उद्धारलाई सरकारले पछिल्लो समय तीव्रता दिँदै आएको छ । यसैक्रममा ‘कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर’ (सीसीएमसी) निर्देशक समितिले यस्तो निर्णय गरेको हो ।
आइतबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले धेरै श्रमिकलाई उद्धार गर्न बाँकी रहेका देशहरूबाट श्रमिकहरूलाई ल्याउन हवाई उडानलाई प्राथमिकता दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बताएको छ ।
अहिले खाडीका देश र मलेसियामा हजारौं श्रमिक स्वदेश फर्कने दिन कुरिरहेका छन् । खाडीका देश, यूएई, कतार, साउदी, कुवेत, बहराइन, ओमान र मलेसियाबाट मात्रै स्वदेश फर्कन खोज्ने नेपालीको संख्या करीब १ लाखको हाराहारीमा छ ।
यी देशबाट दिनहुँजसो नेपाली स्वदेश आइरहेका छन् । तर, स्वदेश फर्कन दूतावासको प्राथमिकताको सूचीमा पर्नेको सूची पनि अझै धेरै छ ।













प्रतिक्रिया