बिहीबार, १५ चैत २०८०
DainikNepal.com
बिहीबार, १५ चैत २०८०

गोसाईंगाथामा वर्णित १०८ मध्ये कैयन कुन्ड स्पर्श गर्न सकिने काठमाडौँ–गोसाईंकुन्ड पदमार्ग  

अशोक सिलवाल २०७७ साउन ४ गते २१:३३

-अशोक सिलवाल

काठमाडौँ, ४ साउन । ‘पदयात्रा स्वर्ग’का रुपमा विश्वपरिचित यो भुस्वर्गमा पहिल्याउनु पर्ने, प्रवद्र्धन र प्रचारप्रसार गर्नुपर्ने असँख्य पदमार्गहरु छन् ।

तिनको पहिचान, प्रवद्र्धन र प्रचारप्रसारले मात्र नेपाल यो पुस्ताको मात्र नभई आगामी पुस्ताको समेत अनुपम पदयात्रा गन्तव्य रहिरहनेछ ।

सन् ६० को दशकमा कोर्नेल जिम्मी रोबर्ट्ले नेपालमा पहिलोपल्ट व्यवसायिक रुपमा पर्यटकलाई पदयात्रा गराएपछि सुरु भएको पदयात्राको स्वरुप र छनोटहरु समयसँगै विस्तार भएका छन् र पदयात्रीहरुका रोजाइहरु पनि बदलिएका छन् ।

पटकपटक आइसकेका पदयात्रीमात्र होइन, नयाँ आउनेहरु समेत नयाँ पदमार्गको खोजीमा छन् । त्यसैले नयाँ–नयाँ गन्तव्यहरुको खोजी त आवश्यक छ नै, एकै गन्तव्यमा पुग्न समेत फरकफरक पदयात्रा मार्गको पहिचान र प्रवद्र्धन पनि उत्तिकै जरुरी छ ।

बुढानिलकन्ठ–गोसाईंकुन्ड पदमार्ग त्यसैको एउटा विशेष उदाहरण हो । ८ देखि १० दिनसम्मको यो पदमार्ग काठमाडौंबाटै पदयात्रा सुरु भई गोसाईंकुन्ड पुग्ने अति विशिक्ष्ट पदयात्रा मार्ग हो । धुन्चे–गोसाईंकुन्ड र सुन्दरीजल–गोसाईंकुन्ड गरी दुई अरु दुई पदयात्रा मार्ग पहिलेदेखि नै प्रयोगमा छन् ।

राजधानीको बुढानिलकण्ठदेखि सुरु भएर सिक्रे–मानेभञ्ज्याङ–समुन्द्रटार–बाघमारा–सागरकुन्ड–राउचुली–गोसाईंकुन्ड हुँदै धुन्चेसम्म पुग्ने यो पदमार्गको अथाह पूर्वाधार पहिल्यै बनिसकेकोे छ ।

नेपाल सरकारले बहुबर्षिय योजना अनुरुप झन्डै ८० करोड रुपियाँ खर्चेर बुढानिलकन्ठदेखि गोसाईंकुन्डसम्मै ढुँगे सिंढी पदमार्ग निर्माण गरेको हो ।

सम्भवत नेपालमै सरकारले यो सबैभन्दा बढी रकम लगानी गरी निर्माण गरेको पदमार्ग हो । तर, प्रवद्र्धन, प्रचारप्रसार र अद्यावधिक कर्मको अभावमा यो यसै जीर्ण हुने अवस्थामा पुगेको स्थिति छ ।

समयमै पदमार्गको उपयोग नभएको बिग्रे–भत्केका भागहरुमा आवश्यक मर्मतसम्भार नभएको स्थिति रहेको सन्दर्भमा यसलाई तत्काल वा सकेसम्म चाँडो सुचारु गर्नका लागि केही आधारभूत सुविधाहरुको व्यवस्था र केही मर्मतसम्भार तथा पुर्ननिर्माणकोे काम गरिदिनेबित्तिकै यो पदमार्ग गन्तव्य र पदमार्ग दुवैका हिसाबले पूर्ण रुपमा सफल, सवल र विशिस्ट हुने देखिन्छ ।

गोसाईकुण्ड–धुन्चे, गोसाईंकुण्ड–हेलम्बु–मेलम्ची, लाङटाङ, फिकुरी, तामाङ हेरिटेज, रुबी, गणेश हिमाललगायत अन्य गन्तव्य तथा पदमार्गसँग अन्तरसम्वद्ध रहेको यो पदमार्गले बुढानिलकन्ठ, शिवपुरी, दुप्चेश्वर, तादी, नौकुन्ड र गोसाईंकुन्ड नगर÷गाउँपालिका समेट्दछ । काठमाडौं, नुवाकोट र रसुवा जिल्लालाई समेटेको यो पदमार्गले शिवपुरी नागर्जुन र लाङटाङ राष्ट्रिय निकुञ्जलाई पनि समेट्दछ ।

यो पदमार्गमा दुई राष्ट्रिय निकुञ्जमात्र होइन, गोसाईंगाथामा वर्णित कैयन पवित्र हिमाली कुन्ड स्पर्श गर्न सकिन्छ । श्रीस्वस्थानी कथा र हिमवतखण्डमा विशेष रुपमा उल्लेखित गोसाईंकुन्डसहितका १०८ मध्ये छेडाकुन्ड, नौकुन्ड, राजाकुन्ड, रानीकुन्ड, लामोकुन्ड, कामी–कमिनीकुन्ड, घ्युमाछो (नागकुन्ड), सरस्वतीकुन्ड, भैरवकुन्डलगायतका कुन्डहरु यो पदमार्गको विशेष आर्कषण हुन् ।

यसप्रकारका अनगिन्ती तालैतालबीचबाट अगाडि बढ्ने नेपालको यो एक अत्यन्त मोहक र उच्चाकर्षक पदमार्ग हो भन्न सकिन्छ ।

सुगम राजधानी शहरबाट सुरु भएर अति दुर्गम स्थानसम्म समेटिएको यो पदमार्ग प्राकृतिक, जैविक, भौगालिक र साँस्कृतिक विविधताले भरिपूूर्ण छ ।

विविध जातजाति, उनीहरुको जनजीवन, चाडपर्व र संस्कृतिको अवलोकन पनि गर्न सकिने यो पदयात्राको सुरुविन्दुको उचाई १४०० मिटर भए पनि लगभग १००० मिटरदेखि ४६०० मिटरसम्मको उचाइगत विविधता यो पदमार्गको विशेषता हो ।

शिवपुरीदेखि गोसाईंकुन्डसम्म्को यो पदमार्ग महत्वपूर्ण पौराणिक ग्रन्थ हिमवत खण्ड र शिवपुराणमा उल्लेखित अनेक शिवकथा, किंवदन्ती र विश्वाससँग जोडिएको छ ।

भ्रमण गन्तव्यहरुमा सर्किटको महत्व, आकर्षण र प्रभावकारिता बढिरहेको सन्दर्भमा यो पदमार्गलाई आधार बनाएर शिव सर्किट (पशुपतिनाथ–दुप्चेश्वर–गोसाईकुन्ड) को रुपमा विकास गर्न सकिन्छ ।

गुफा, ओडार, भ्युप्प्वाइन्टहरको प्रचुर उपलब्धता भएको यो पदमार्गमा चौंरीगोठ, भेडीगोठ अवलोकनबाट हिमाली गोठ र गोठालो जीवनबारे जानकारी लिन सकिन्छ ।

साहसिक पदयात्रीका लागि समेत उपयुक्त यो पदमार्गबाट टाढाटाढासम्मको उपत्यका, पहाडी र हिमाली दृश्यको फराकिलो दृश्यावलोकन गर्न सकिन्छ ।

लेखक बुढानिलकन्ठ–गोसाईंकुन्ड पदमार्गका सोधकर्ता हुन् । 

प्रतिक्रिया
सम्बन्धित