
काठमाडौं, ४ साउन । कामना सेवा विकास बैंकले दृष्टिविहीन व्यक्तिहरूका लागि विशेष प्रकृतिको खाता ‘स्वाभिमान बचत खाता’ सञ्चालनमा ल्याएको छ ।
ग्राहकले खाता खोल्दा भर्ने निवेदन फाराम तथा ग्राहक पहिचानसम्बन्धी (केवाईसी) विवरणमा के–के विषयहरू उल्लेख भएको छ भन्ने बारेमा ग्राहक आफैले पढ्न सक्ने गरी ब्रेल लिपिको व्यवस्था गरिएको बैंकले जानकारी दिएको छ ।
दृष्टिविहीनहरूलाई लक्षित गरी सञ्चालनमा ल्याइएको डिपोजिट प्रोडक्ट नेपालको बैकिङ क्षेत्रकै पहिलो भएको बैंकको दाबी छ । उक्त खाता शून्य मौज्दातमा खोली उच्चतम प्रतिफल प्राप्त गर्नाका साथै बैंकबाट प्रदान गरिने अन्य विशेष सुविधाहरू समेत लिन सकिने छ ।
हाललाई ज्ञानेश्वरस्थित मुख्य शाखा कार्यालयबाट अडियोको सहायता लिएर एटीएम सुविधा लिन सक्ने व्यवस्था समेत गरिएको बैंकले बताएको छ ।
आइतबार बैंकका सञ्चालक विश्वेश्वर सुवेदीले नयाँ खाताको शुभारम्भ गरे भने प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले खाताको जानकारी तथा बैंकको अवधारणाबारे प्रष्ट पारे ।
खाता शुभारम्भ कार्यक्रममा नेपाल नेत्रहिन संघका प्रोग्राम अफिसर शोभा न्यौपानेले दृष्टिविहीनहरूले भोग्नु परेका समस्या र चुनौतीहरूका बारेमा जानकारी दिइन् । यस्तै नेपाल नेत्रहिन संघका अध्यक्ष नरबहादुर लिम्बुले आफूहरू दृष्टिविहीन भएकै कारण राज्यका निकायहरूबाट पाउने विभिन्न सुविधाहरू उपभोग गर्नबाट वञ्चित भएको गुनासो गरे ।
आम नागरिकसरह बैंकिङ सुविधा लिन पाउने अवसर प्रदान गरेकोमा बैंकलाई संघले धन्यवाद प्रकट गरेको छ ।
१२४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकलाई आफ्नो सेवाहरू प्रदान गर्दै आएको बैंकले जानकारी दिएको छ ।













प्रतिक्रिया