बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

‘बाली’ बरदानको बलेसीमा ओली !

राष्ट्रवादको ट्याब्लेटको एक्शन चलिरहेका बेला, अर्को रियाक्शन प्रचण्ड–माधवहरूका लागि प्रत्युत्पादक निश्चयभावी छ

विनोद ढकाल २०७७ साउन २ गते १०:२०

विनोद ढकाल

‘भगवान् राम जन्मिएको अयोध्या यहिँ नेपालमा पर्छ । राम नेपाली हुन् ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले यत्ति भनिदिए । यसले नेपालमा सकारात्मक चर्चा पायो तर भारतमा आगो बाल्यो । भारतीय सत्तालाई डगमगाउनेगरी, साधुसन्तले भारतमा ओलीको पुत्ला जलाउनेगरीका अवस्था बनायो । अझै, अवस्था त्यहि छ ।

नेपालका विविध राजनीतिक दलका नेताले यसलाई बौद्धिक रुपमा ओलीको आलोचना गरे । तर आमा मानिस र भुइँमान्छेले ओलीलाई नयाँ वाल्मिकी अवतारमा लिइसकेका छन् । अर्थात्, ओली यो बर्षका नयाँ रामायणका निर्माता बनिसकेका छन्, जनताको नजरमा ।

भारतले सत्ता गिराउन खोजेको बयान, नेकपाभित्रै भारतले होइन मैले राजीनामा मागेको भनी आएको टिप्पणी, ओलीको विकल्पमा पदीय बाँडफाँटका समाचार र लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्शा जारी हुनुका जिम्मेवार ओली ठान्छन्, सबैले ।

ओली तीन करोड नेपालीका निम्ति मात्र होइन, भारतका सय करोड हिन्दूका नजरमा पनि नायक–खलनायकका रुपमा चर्चामा छन् । भारतीयले ओलीलाई खलनायक ठानें पनि भारतविरोधी राष्ट्रवादले भरिपूर्ण नेपालमा ओलीको देवत्वकरण अब नेकपाको एउटा गुटभित्र मात्र होइन, जनस्तरमा भइसकेको छ । यसका अनेकथरी प्रभाव अब देखिने राजनीतिक उतारचढाव, सत्ताको चलखेलपश्चात प्रष्ट नै छ ।

त्यहाँमाथि नेपालले संविधान जारी गर्दा भोगेको नाकाबन्दीको आलो घाउलाई जनताले विर्सिएका छैनन् । भुइँचालेको दुखमा बसीरहेका बेला गरिएको त्यो नाकाबन्दीको सापेक्षताको प्रभाव यतिबेला उस्तै छ, किनकी अहिले विश्व कोरोना महामारी र खासगरी नेपाल पनि त्यसको प्रभावमा छ ।

आम मानिस, भुइँमान्छेका कथा बोल्ने रवि लामिछाने, रमेश प्रसाईँहरूले राष्ट्रका निम्ति, राष्ट्रवादका निम्ति जुन हिसाबले सार्वजनिक पैरवी गरिरहेका छन् त्यसको बिम्बमा ओली छन्, त्यसको प्रतिनिधित्वमा ओली छन् । यो भावना, यो विलक्षण कुनै दल विशेषको अध्यक्ष वा प्रधानमन्त्री भन्दा निक्कै माथि छ

राजनीतिमा प्रभाव

नेकपाभित्र बहुमतको तप्का ओलीविरोधी छ । दलगत निर्णयलाई तत्काल स्वीकार गर्ने, विधि र विधानको परिधिभित्र बस्छु भन्ने ओलीको घोषणा भयो भने उनी आजको भोली सत्ताच्युत हुनेछन् ।  स्वभाव र प्रभावको पनि कुनै अर्थ हुन्छ । ओली त्यो स्वभावका होइनन् । त्यो प्रभावको दास बन्न सक्तैनन् ।

जब तत्कालिन नेकपा एमालेभित्र उनलाई ‘कर्नर’मा पारियो, उनी प्रभावशाली बनेर उदाए । पद नभए पनि प्रभावलाई कायम राख्न दिनरात तत्कालिन माओवादीविरोधी एउटा तप्काको नेतृत् वगर्न सफल भए । संसदीय दलमा चुनाव लडे माधव नेपाल र झलनाथ खनालको गठबन्धन तोडे । पार्टीको अध्यक्षमा चुनाव भिडे, नेपाललाई उत्तानो पारे । प्रधानमन्त्रीमा चुनाव लडे सुशील कोइरालालाई हराए, असलमा त्यो भारत पराजित भएको चर्चा भयो ।

उनको टिम, कार्यशैली र व्यवाहारको कटुता एकातिर छन् । ति सुधार होलान् नहोलान् थाहा छैन तर उनीसँग प्रभावमा पनि नेतृत्व गर्न सकिन्छ भन्ने सीप छ । त्यो राजनीतिक अभ्यासबाट आएको भएकाले अहिले नेकपाभित्र देखिएका अनेकथरी विवादमा पनि निसंकोच छन्, ओली ।

प्रधानमन्त्री पदमा केपी शर्मा ओली रहनुका दिर्घकालिन असर हुन सक्लान् तर तत्कालै उनको बहिर्गमनका राजनीतिक जोड घटाउको भविष्य जनताले दुईतिहाई नजिक अनुमोदन गरेको नेपाल कम्युनिस्ट पार्टीमा पर्ने निश्चितप्रायः छ । ओली नेकपाका अध्यक्ष वा प्रतिनिधि हुन् र यीनलाई दलको नियन्त्रणभित्र रहनुपर्ने बाध्यता छ, सीमारेखा छ भन्ने तर्कको अब कुनै मुल्य छैन, यसैबेला ।

भारतका हिन्दूवादीले नेपालका प्रधानमन्त्री ओलीको पुत्ला जलाएका छन् । ओलीलाई सत्ताबाट हटाउनु नै भारतको एक मात्र उद्देश्य रहेको भन्ने त्यहाँका तथाकथित बुद्धिजीवि र मिडियाले फुकिरहेका छन् । जसलाई आम सञ्चारका विविध संसाधनबाट नेपालका भुइँमान्छेले हेरिरहेका छन् ।

आम मानिस, भुइँमान्छेका कथा बोल्ने रवि लामिछाने, रमेश प्रसाईँहरूले राष्ट्रका निम्ति, राष्ट्रवादका निम्ति जुन हिसाबले सार्वजनिक पैरवी गरिरहेका छन् त्यसको बिम्बमा ओली छन्, त्यसको प्रतिनिधित्वमा ओली छन् । यो भावना, यो विलक्षण कुनै दल विशेषको अध्यक्ष वा प्रधानमन्त्री भन्दा निक्कै माथि छ ।

यसको प्रभाव ओलीको बहिर्गमन भएका दिनदेखि वा बहिर्गमनविरुद्ध उनले चाल्ने हर प्रकारका वैधानिक अवैधानिक कदमले प्रष्ट बनाउनेछ । किनभने ओलीले जुन राष्ट्रवादको अलौकिक बाटो समातेका छन्, उनको राजनीति अस्ताउने होइन, उदयको चरणतिर लम्किएको प्रतीत हुन्छ । त्यसको प्रभाव सकारात्मक या नकारात्मक जे होस्, ओली रहन सक्छन् तर नेकपा समाप्त हुने सम्भावित भविष्य सन्निकट देखिन्छ, घटनाक्रमले ।

बालीको बल

रामायणमा एउटा पात्र छन्, बाली । बालीको शक्तिसामु कोही नटिक्ने खास कारण छ । उसले जो दुश्मनसँग लडाई गर्छ, उसको आधा बल हासिल गर्ने शक्ति पाएको हुन्छ । यहि पराक्रमका कारण दाजु सुग्रिभलाई समेत उसले राज्यबाट लखेट्छ । रावणलाई समेत पराजित गरेको हुन्छ ।

ओलीसँग ठ्याक्कै यहि प्रकृतिको राजनीतिक क्षमता छ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको दललाई कहिल्यै पनि गतिलो भाषाले सम्बोधन गरेनन् । आफ्नै दलभित्र पनि विपक्षीका कुरा सुनेनन् । तर, उनको राजनीतिक कुटिलताको बललाई कसैले पराजित गर्न सकेनन् । बरु, परिणामहरू देखिए– ओली पहिलो अध्यक्ष, प्रचण्ड दोस्रो । प्रचण्डको आधा शक्ति ओलीले सन्निकट ल्याए । यसका बिम्ब नेकपाभित्र देख्न सकिन्छ ।

अहिलेको समाधान ओली बहिर्गमनको निर्णय होइन । ओलीको अहंकार र दम्भको अवतरण गराउने सहमतीय बाटोको खोजीनीति हुन्छ । ओलीको विकल्पमा आफ्ना नामको चर्चा होइन, ओलीको विकल्प उनको अहंकारको मात्र बहिर्गमन हुनुपर्छ भन्ने भावना र चेतको हुनेछ

माधव नेपाल हुन् या झलनाथ खनाल यीनको त लगभग आधा भन्दा धेरै बल ओलीले आफ्नो बनाए । अर्थपूर्ण रुपमा हेर्ने हो भने एमालेको आठौं र नवौं महाधिवेशनका समिकरण । बामदेव गौतम र ईश्वर पोखरेलको भूमिकालाई यहाँ ओलीसँगको समिकरणमा जोडिनुलाई स्पष्ट राख्न सकिन्छ ।

र, सबैभन्दा ठूलो चर्चाचाहिँ भारतको गरौं । भारतीय सत्ताको गरौं । ओलीलाई भारतीय संस्थापन कुनै पनि हालतमा कमजोर बनाउन चहान्छ । तर नरेन्द्र मोदीयन्त्रको मुटुमा नै ओलीले प्रहार गरे ।

भाजपाको प्रतिष्ठाका रुपमा चलेको राजनीतिक मुद्दा थियो, भगवान् रामको कथा । त्यहि रामको जन्भूमी नेपाल भनी बताइदिए । असल अर्थमा भन्ने हो भने, भाजपा विरोधी, मोदीइतरका राजनीतिक दल मात्र होइन, जनता पनि ओलीको समर्थनमा छन् भारतमा नै । यो पनि बालीको बलशाली भूमिकाको बलेसीको प्रभाव हो । त्यसैले त बालीलाई भगवान् रामले समेत लुकेर प्रहार गर्नु परेको थियो । छल र कपटले नै उसलाई कमजोर बनाइयो । यसको कारण– बालीको अहंकार, बलको घमन्ड र कर्मको दण्ड थियो होला ।

तर यो कलियुग हो, यो आधुनिक युगमा बालीलाई जसरी कपटका हिसाबमा ओलीको बहिर्गमन नेपाली जनताले तत्काल स्वीकार गर्लान् त ? यो सबैलाई थाहा छ, असम्भव छ ।

नेकपा खरानी हुनसक्ने सम्भावित कारण

स्थायी समितिलाई समेत ‘बाँदरको पुच्छर’ बनाइदिएका ओलीलाई बहिर्गमन गराउनका निम्ति केन्द्रीय कमिटीको बैठक डाकी हटाउने चर्चा सतहमा छ । नेकपा पार्टी नै खरानी बनाउनका लागि यो निर्णय ठूलो सहयोगी हुन सक्छ ।

ओली भुइँमान्छेको भावनासँग छन् । राष्ट्रवादको उडान गरिरहेको जेटमा छन् । नेपालको हुर्मत लिइरहेको भारतविरोधी भावनामा बगीरहेको नेपालीको आवेगको नेतृत्वमा छन् । यहाँ दल, विधि र विधानको अर्थ गौण हुन्छ । यदि यसबेला कुनै राजनीतिक रङमा निर्णय गरियो र अपदस्त गरियो भने उनले लिने अडानविरुद्ध कोही निस्कनेवाला छैन । तर, उनलाई बहिर्गमन गराउने नेकपाको सांगठनिक संरचनामा भने ठूलो विग्रह आउने निश्चित छ ।

अहिलेको समाधान ओली बहिर्गमनको निर्णय होइन । ओलीको अहंकार र दम्भको अवतरण गराउने सहमतीय बाटोको खोजीनीति हुन्छ । ओलीको विकल्पमा आफ्ना नामको चर्चा होइन, ओलीको विकल्प उनको अहंकारको मात्र बहिर्गमन हुनुपर्छ भन्ने भावना र चेतको हुनेछ । यसर्थ, परिवेशलाई नेकपा नेतृत्वले मिहिन अध्ययन गरोस् । राष्ट्रवादको ट्याब्लेटको एक्शन चलिरहेका बेला, अर्को रियाक्शन प्रचण्ड–माधवहरूका लागि प्रत्युत्पादक निश्चयभावी छ, त्यो चरणमा नेकपा नपुगोस् ।

प्रतिक्रिया
सम्बन्धित