२८ आश्विन २०८३, बुधबार

कांग्रेसको अर्थतन्त्र केन्द्रित विशेष समितिको सुझाव : ‘मौद्रिक नीतिमार्फत कर्जा व्यवस्थापनमा लचकता अपनाउ’

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ साउन । नेपाली कांग्रेसको अर्थतन्त्र विशेष समितिले आगामी मौद्रिक नीतिमार्फत कर्जा व्यवस्थापनमा लचकता अपनाउन नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ ।

बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी समितिले कर्जाको पुनः संरचना, कर्जाको अवधि पुनर्तालिकीकरण र ब्याजको पूँजीकरण गरेर कर्जा व्यवस्थापनमा लचकता अपनाउन सुझाव दिएको हो ।

आर्थिक पुनरुत्थान, दीर्घकालीन आर्थिक वृद्धि, वित्तीय सुधार, विनिमय दर एवम् बाह्य भक्तानी सन्तुलन र नियमन तथा सुपरीवेक्षण क्षमतालाई ख्याल गरेर मौद्रिक नीति ल्याउन राष्ट्र बैंकलाई समितिले सुझाव दिएको छ ।

यस्तै कोभि–१९ को असरबाट अत्यधिक प्रभावित पर्यटन, यातायात, निर्माण, निर्यातजन्य उद्योग, लघु तथा साना उद्यम–व्यवसाय, स्वास्थ्य र शिक्षा क्षेत्रलाई आर्थिक सहायता दिनुपर्ने समितिले बताएको छ । आपूर्ति श्रृंखला कमजोर भएको लकडाउनको समयमा मूल्य वृद्धिमा चाप पर्न नदिन र उद्योगी व्यवसायीलाई न्यूनतम ब्याजमा सञ्चालन पूँजी अधिकतम उपलब्ध गराउनुपर्ने समितिको भनाइ छ ।

यस्तै दिगो आर्थिक विकासका आधार पर्यटन, जलविद्युत् र व्यावसायिक कृषिमा निर्देशित कर्जाको प्रवाह थप प्रभावकारी बनाउन पनि समितिले सुझाव दिएको छ । आर्थिक र कर्जा वृद्धिदरबीच सन्तुलन मिलाउन, डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न र निजी क्षेत्रमा कर्जा स्रोतको अभाव हुन नदिन राष्ट्र बैंक सतर्क रहँदै कदम चाल्नुपर्ने समिति निष्कर्ष छ ।

कम्तीमा २ वर्षसम्म मौजुदा नाफा करमा छूट दिएर बैंकहरूलाई आपसमा गाभिन सजिलो बनाउने, वित्तीय क्षेत्रको विस्तार, जोखिम विवित्रिकरण तथा वित्तीय पहुँचमा विकास गरी बैंक तथा अन्य वित्तीय संस्थाको विशिष्ट योगदानको कदर गर्दै ती संस्थाको मौलिक अस्तित्व जोगाउनु पर्ने समितिले बताएको छ ।