
काठमाडौं, १ साउन । खानेपानी मन्त्रालयले मेलम्ची आयोजनाको सुरूङ परीक्षणको क्रममा भएको दुर्घटनाको अध्ययन गर्न प्राविधिक टोली गठन गरेको छ ।
मन्त्रालयका सहसचिव रितेशकुमार शाक्यको नेतृत्वमा विज्ञसहितको प्राविधिक टोली गठन गरेको मन्त्रालयले जानकारी दिएको छ । सह–सचिव शाक्यले बुधबार एक प्रेस विज्ञप्ति जारी टोली गठन भएकोबारे जानकारी दिएका हुन् ।
सुरक्षाका सम्पूर्ण प्रावधान अपनाउँदा अपनाउँदै भएको उक्त घटनालाई मन्त्रालयले आकस्मिक दुर्घटनाका रूपमा लिएको छ । दुर्घटनामा परेर हराइरहेका इन्जिनीयर सतिश गोइत र सवारीचालक राधाकृष्ण थापा मगरको खोजी कार्य भइरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्तै घटनाका घाइते साइट इन्जिनीयर शेखर खनाल र सर्भेक्षण सहयोगी पेम्बा दोर्जेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।
गत मंगलबार सुरूङ निरीक्षण गर्न आयोजना तथा निर्माण व्यवसायीका इन्जिनीयर एवम् प्राविधिकहरू गएका बेला आयोजनाको १७ नं. गेटको ढोका अच्चानक खुल्दा ठूला परिमाणमा पानी प्रवाह हुँदा घटना भएको मन्त्रालयले स्पष्ट पारेको छ ।
आयोजनाले गत असार २१ गतेदेखि सुरूङमा पानी पठाएर परीक्षण सुरू गरेको थियो ।













प्रतिक्रिया