
दाङ, १ साउन । दाङको दंशीशरण गाउँपालिका–२ मा जनता आवास कार्यक्रमअन्तर्गत घर निर्माणको शिलान्यास गरिएको छ ।
बिहीबार प्रतिनिधिसभा सदस्य एवम् नेकपा केन्द्रीय सदस्य सुजिता शाक्यले जनता आवासको शिलान्यास गरेकी हुन् । निम्नवर्गीय नागरिकको जीवनस्तर सुधारका लागि सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उनले बताएकी छिन् ।
लोपोन्मुख, अति सिमान्तकृत समुदाय तथा विपन्न नागरिकलाई आवासको व्यवस्था गर्न शुरू भएको जनता आवास कार्यक्रअन्तर्गत दंशीशरणका १७ दलित घरपरिवारका लागि उक्त आवास कार्यक्रम शुरू गरिएको हो । दंशीशरणमा दलित बस्ती धेरै भएकाले उक्त ठाउँमा यो कार्यक्रम सञ्चालन गरिएको प्रतिनिधिसभा सदस्य शाक्यको भनाइ छ ।
उक्त दलित बस्तीका १७ घरपरिवारलाई प्रदेश सरकारले प्रतिघर रू. ३ लाख ३६ हजार उपलब्ध गराएको छ भने बाँकी रू. ८० हजार बराबरको श्रमदानबाट घरहरू निर्माण गर्न लागिएको हो । गत वर्ष सोही गाउँपालिकाको वडा नं. ६ मा यो कार्यक्रमअन्तर्गत १४ वटा घर निर्माण सम्पन्न भइसकेका छन् ।
जनता आवास कार्यक्रमले आफूहरूको घर निर्माण गर्न लागेको भन्दै दलित बस्तीका नागरिकहरू खुशी भएका छन् । विगतको भन्दा राम्रो र सुविधासम्पन्न घरमा बस्न पाउने भन्दै उनीहरूले खुशी व्यक्त गरेका हुन् ।
आर्थिक वर्ष २०६६/६७ बाट शुरू भएको जनता आवास निर्माण कार्यक्रम गत वर्षदेखि प्रदेश मातहतमा राखिएको छ । उक्त कार्यक्रम अन्तर्गत दाङका ६ वटा निर्वाचन क्षेत्रमा रू. ६ करोड ७२ लाखको बजेटबाट १९२ वटा घर निर्माण गर्ने लक्ष्यका साथ काम भइरहेको सहरी विकास तथा भवन कार्यालय दाङले जानकारी दिएको छ ।













प्रतिक्रिया