शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

राजेश हमाल महानायक हुन् पनि होइनन् पनि, अमूर्त विषयको बहस बन्द गर !

विनोद ढकाल २०७७ असार ३१ गते १५:४४

-विनोद ढकाल 

विषय निस्कियो, विवादमा परिणत भयो । यो, बहस बन्यो । प्रडक्ट (फिल्म) कस्तो निस्किन्छ भन्ने विषयको गाम्भिर्यतामा चर्चा गरिन्थ्यो, निक्कै पछि विवादका सन्दर्भमाथि टिप्पणी गर्न मन लाग्यो । केही बर्ष अघि निरन्तर फिल्म समिक्षा लेखनतिर ध्यान थियो । यसका प्रत्यक्ष र परोक्ष अनेक प्रकारका अनुभव छन् ।

पहिलो कुरो त राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्यो भने हातापाईमा नै उत्रिने सर्कलभित्र तर्कका आयाम हुँदैनन् । जति तर्क गरे पनि यसको आयु पनि उतिसारो हुँदैन ।

लक डाउनमा लालमन खाएको विषयमा वादविवाद हुने क्षेत्र हो, टिकटकमा लिप्सिङ गर्ने, ज्ञानको सामान्य थैलो समेत बोक्नु पर्दैन भन्नेहरू समेतलाई चर्चित भनी सम्बोधन गर्ने शैली भएको तथाकथित लाइन हो ।

यो खराब होइन तर खराब देखिने, सही हो तर गलत मात्र चर्चा हुने उदेक लाग्दो उद्योग पनि हो । कहीँ नभएको नेपोटिज्म पनि यहिँ छ, कास्टिङ काउच पनि यसैभित्र छ, दुनियाँकै फिल्म क्षेत्रको नियती हो ।

नेपाली फिल्म क्षेत्रभित्रको नराम्रो कथा नै यहि हो । न्युनतम ज्ञान नभएका, सामान्य ज्ञानको कमी रहेका, बोलेका विषयबस्तुका दिर्घकालिन प्रभाव कस्ता पर्न सक्छन् भन्ने विषयको हेक्का नराख्ने भिडभित्र दौडिरहेको ‘अवसरवादी’को बहुमत फिल्म क्षेत्रमा छ, यो तथ्य हो ।

व्यक्ति–व्यक्ति तोकेर भन्नुको अर्थ छैन । सीमित कलाकार छन् जसले आफूलाई यस क्षेत्रभित्र बाँधेर समाजको अर्को घेरामा पनि नाम र प्रतिष्ठालाई कायम राखेका छन् ।

पछिल्लो पटक अभिनेता राजेश हमालको भिडिओ सार्वजनिक भएपछि कही लेख्ने रहर जाग्यो । आम मानिसले एउटा साधारण विषयमाथि कलाकार दिपाश्री निरौलामाथि गरेका टिप्पणी अति भएपछि हमाल जुन शैली र भावनामा मानिसहरूको सम्बोधनका निम्ति तयार भए, उनको महानताको कसी त्यहिँनेर देखियो ।

नायक वा नायिका, महानायक वा महानायिका भन्ने बहसको अर्थ उसको व्यक्तित्व, उसले छाड्ने प्रभावमा आधारित हुन्छ । व्यक्ति स्वयम्मा चरित्रका हिसाबले व्यक्तिगत रुपमा चिन्नु र त्यसले समाजमा बनाएको छापका रुपमा बुझ्नुपर्ने दुई पाटा हुन्छन् ।

हुन सक्छ, फिल्मनगरी कतिपय व्यथाका हिसाबमा दिपाश्रीको टिप्पणी आयो होला तर समग्रतामा हमालको सार्वजनिक व्यक्तित्वको सवाल र प्रभावलाई नजरअन्दाज गरियो । उनी महानायक हुन् या होइनन् भन्ने तर्कशिला त झन्डै महिना दिनदेखि देखिएको सामाजिक सञ्जालभित्रका सामाजिक असामाजिक तर्क, वितर्क, वाद विवाद र गालीगलौजको निचोडले प्रष्ट बनाउँछ ।

नेपाली दर्शक, जनता वा जे भनौं, उनीहरूसँग बौद्धिकताको कसीलाई मापन गर्न सकिँदैन । तर उनीहरूको पहुँच र निगरानीलाई अवमुल्यन गर्न मिल्दैन । हर प्रहरमा हर व्यक्ति र व्यक्तित्वमाथि दर्शकको निगरानी महत्वपूर्ण छ ।

विश्वका अनेक क्षेत्र थलिएका बेला फिल्म क्षेत्रका स–साना विषयमाथि हुने ठूला र गम्भिर प्रकृतिका बहसमा प्रत्यक्ष, परोक्ष जनताले विशेष सरोकार राख्नु फिल्म क्षेत्रका लागि सकारात्मक सन्देश हो ।

बुझ्नुपर्छ– दर्शकले हर कलाकारलाई निगरानीमा राखेका छन् । संयमित नहुन सक्छन्, धैर्यवान नभएका पनि होलान् । तर, निगरानी छ । तपाईहरूको प्रडक्ट खरिद गर्ने ग्राहक मात्र होइनन् दर्शक, तपाईका सोच, विचार र ज्ञानको परिधिलाई नियाल्ने र तुरुन्तै त्यसको प्रतिक्रिया दिन सक्ने साक्षर पनि हुन् भन्ने पक्कापक्की भयो ।

महानायक या सुपरस्टार भन्ने पदवी वा पगेरी आफैंले राखेको हुँदैन । त्यो त मानक हो, दर्शकले दिएको ।

कतिपय अमूर्त विषयहरूलाई अमूर्त नै छाडेको राम्रो हुन्छ । त्यसलाई नकारात्मक या सकारात्मक रुपमा मूर्त बनाउन खोजियो भने तर्कहरू र दलिलहरू मृत हुन्छन् । यो प्रश्न थियो, हो र प्रश्न नै रहन्छ । एउटा विशाल जमात् छ जसले हमाललाई महानायक मान्छ, स्वीकार्छ । त्यो जमातका लागि यो मूर्त उत्तर हो । एउटा अर्को जमात छ जसले नमान्न सक्छ, उसका लागि पनि यो मूर्त उत्तर नै नै हो । यसलाई सार्वजनिक फोरममा मूर्तचाहिँ यहि हो भनेर प्रमाणित गर्ने कोशीश नगरौं

हामी फिल्ममा घोत्लिनेहरूलाई दया, विपिन, खगेन्द्रका अभिनय मन परेको हो । किनभने हामी फिल्मलाई बौद्धिक हिसाबले हेर्छौं । फिल्म हेर्ने दर्शकले बौद्धिकताको कोणलाई मात्रै समात्दैन, त्यसैले सिङ्गल थिएटरहरूमा अक्सर राजेश, निखिल, बिराजहरूका लागि हुटिङ हुन्छन् ।

विषयको नजरअन्दाज गर्नु हुँदैन, सन्तुलित हुनुपर्छ । हाम्रो पत्रकारितामा कतिपय जेन्युन मुद्दामा राम्रो लेखियो भन्ने बौद्धिक क्षेत्र हुन्छ तर त्यहि समाचारलाई आम पाठकले रुचाइरहेको हुँदैन । यसको अर्थ, हामी आम पाठकको मानकबाट भाग्न सक्तैनौं, कुरा क्लियर छ ।

हरेक चिजको बजार छ । त्यसको आफ्नै मौलिक मान्यता पनि हुन्छ । विश्वबजार ठूलो छ, विचारका विविधता छन् । मानिस त्यहि विविधताका प्रतिनिधि हुन्छन् । यहि विश्व जहाँ डोनल्ड ट्रम्प, भ्लादिमर पुटिन, सी चिन फिनका प्रशंशक छन् यहिँ तिनका आलोचक । यहिँ, बोको हराम, लस्कर ए तोइबा, तालिवानीका बिरोधी छन्, उनका अनुयायी र प्रशंशक पनि ।

यी सबै सोच, विचार, सम्प्रदायमा हुने विविधता हुन् । यसको अर्थ, सबैका आफ्ना प्रतिष्ठा र अस्मिता छन् । आलोचना गर्न पाइन्छ तर आलोचनाभित्र तर्क र त्यसको प्रभाव प्रतिक्रियाको हेक्का पनि हुनुपर्छ ।

बजार सानो छ । दर्शक तिनै हुन् । मुल्यांकन तिनले नै गर्छन् । रोजीरोटीको जोहोका लागि तिनै चाहिन्छन् । तिनै भगवान् हुन् तिनै अहिले राक्षस जस्ता पनि भए । हुलहुज्जतमा उत्रिन सक्छन् । त्यसअघि जुन विषयमा आफ्ना तर्क र दलिल राखिँदैछ, त्यो विषयको उठान गरेपछि बैठानका निम्ति यथार्थपरक र सर्वस्वीकार्य राख्ने कि अहंकारको अडानलाई तन्काउँदै लैजाने भन्ने मूल प्रश्न बन्छ ।

अर्कोचाहिँ केही निर्देशक, समिक्षक र पत्रकारका पनि विचारहरू हेरियो । पत्रकारिता निरपेक्ष पेशा हो । समिक्षा त्यस्तै निरपेक्ष काम । अक्सर समिक्षामा कामका दृष्टिकोणलाई मात्र मुल्यांकन गर्ने भएकाले व्यक्तिवादी भएर कसैको हुर्मत नै लिने प्रक्षेपण र अनुमानित विचार पेश गर्नु हुँदैन । अझ फिल्म क्षेत्रमा त पटक्कै हुँदैन ।

कुनै विदेशी फिल्म विज्ञले भनेको स्मरण भयो– एउटा महान् कलाकारका दशवटा फिल्म झूर हुन्छन् । तर, ११ औंमा दिने उसको प्रस्तुतीलाई संसारले स्वीकार गर्छ । फिल्मका चरित्रले पनि समाजमा एउटा चित्र कोरेको हुन्छ । जस्तो, नेपाली फिल्मका पारखी कोही छन् भने नकारात्मक भूमिका मात्रै खेल्ने कलाकारप्रति उसले नकारात्मक भूमिका नै बनाएको हुन्छ । बौद्धिकताले मात्र यो कलाकारिता हो भन्ने प्रष्ट बनाउँछ ।

राजेश हमाल महानायक हुन् या होइनन् ? यो अहिलेको विषयबस्तुको प्रश्न र मथिङ्गल हल्लाउने शीर्षक छ ।

कतिपय अमूर्त विषयहरूलाई अमूर्त नै छाडेको राम्रो हुन्छ । त्यसलाई नकारात्मक या सकारात्मक रुपमा मूर्त बनाउन खोजियो भने तर्कहरू र दलिलहरू मृत हुन्छन् । यो प्रश्न थियो, हो र प्रश्न नै रहन्छ ।

एउटा विशाल जमात् छ जसले हमाललाई महानायक मान्छ, स्वीकार्छ । त्यो जमातका लागि यो मूर्त उत्तर हो । एउटा अर्को जमात छ जसले नमान्न सक्छ, उसका लागि पनि यो मूर्त उत्तर नै नै हो । यसलाई सार्वजनिक फोरममा मूर्तचाहिँ यहि हो भनेर प्रमाणित गर्ने कोशीश नगरौं ।

मैले एउटा समाचार पढेको थिएँ– दक्षिण भारतमा जब रजनीकान्त बिरामी भए उनको कुशलताको कामना गर्नका लागि दर्शक, जनताले उनको भिमकाय मूर्तीमा दूध चढाए । जसका कारण त्यस क्षेत्रका बालबालिकालाई एक सातासम्म दूधको कमी भयो ।

अहिले कोरोना महामारीले हज्जारौं मानिस मरिरहेका बेला बिरामीमात्र भएका, उपचारमा सक्षम रहेका अमिताभका लागि यज्ञ हुँदैछ । यी गर्नेहरूका लागि यक्ष विश्वास हुन् । तर अर्को कोणले हेर्दा अनिवार्य र आवश्यक होइनन् भन्ने हामी ठान्छौं ।

यसर्थ, दुनियाँमा रावणलाई पनि देउता मान्ने छन्, रामलाई पनि मान्ने छन् । उनको विश्वास र मानकलाई प्रश्न उठाउनु भनेको विद्रोह गर्नु हो । तर त्यो सार्थक विषयबस्तुको विद्रोह देखिँदैन । यसर्थ, यस बहसलाई निमिट्यान्न पार्नु अहिलेको अनिवार्यता देखिन्छ ।

आखिर फिल्मनगरी हो, रबर जस्तो छ । यो अमूर्त विषलाई जति तन्कायो फेरि आइपुग्ने त्यहिँ हो । पक्ष र विपक्षका विषयमा मनमुटाव र तिखोतितो बाटो नरोजेको राम्रो होला । वास्तवमा यो अत्तर लगाएर अन्यको मनोरञ्जनका लागि तयार हुने क्षेत्र भएकाले वैचारिक स्खलनको कलंक नबोकी, विषयबस्तु मत्थर पार्न पनि आग्रह छ ।

प्रतिक्रिया
सम्बन्धित