शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

अफताबका ‘अपराध’माथि डिआईजी सिंहको निगरानी

दैनिक नेपाल २०७७ असार १९ गते १०:५८

काठमाडौं, १९ असार । चुनावका बेला जिउँदै मानिसलाई इटाभट्टामा जलाएको लगायतका नरसंहारका अभियुक्तका रुपमा पूर्पक्षका लागि थुनामा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमका अपराधमाथि २ नम्बर प्रदेश प्रहरी प्रमुख नायव महानिरिक्षक (डिआईजी) धीरजप्रताप सिंहले निगरानी बढाएका छन् ।

अपराध अनुसन्धानमा अब्बल डिआईजी सिंहले अफताबका अपराधका फेहरिस्त तयार पार्दै त्यसमा संलग्नता रहेका कतिपयलाई कानुनी कठघरामा उभ्याउने क्रमलाई निरन्तरता दिन थालेका हुन् ।

शेष सराज

यहि क्रममा विहीबार मात्रै नरसंहारमा संलग्न रहेका फरार अभियुक्त शेष सरोज भन्ने शेष सराजलाई प्रहरी पक्राउ गरिएको छ । नेपाल–भारत सिमानामा लुकेर बस्दै आएका थिए, सराज ।

बारा जिल्लाको सिम्रौनगढ नगरपालिकाको वडा नम्बर ८ बाट पक्राउ गरिएका उनलाई कानुनी कारबाहीका लागि प्रक्रिया बढाइएको छ । सराजले रौतहट घटनाका घाइते र मृतकलाई बोरामा राखेर ट्याक्टरमा लोड गरी ईट्टाभट्टमा जलाएको बयानमा स्वीकार गरेका छन् । सराजले सो कार्य पूर्वमन्त्री आलमको निर्देशनमा गरेको बयान दिएका छन् । ०६४ सालको निर्वाचनमा बम बनाउने क्रममा शेख ईद्रिसको गोठघरमा चैत १२ गते बम विष्फोट हुँदा त्रिलोकप्रताप सिंहसहित १५–१६ जना घाइते तथा २–३ जनाको मृत्यु भएको थियो ।

‘राज्यले दोषी ठहर गरी पक्राउका लागि दिएको आदेश प्रहरीले कार्यान्वयन गर्ने हो, कुनै पनि प्रकारको अपराधमा संलग्नलाई छुट हुने छैन’, सिंह भन्छन्,‘यो प्रहरीको काम र कर्तव्यको एउटा उदाहरण मात्र हो ।’ उक्त प्रकरणमा संलग्न रहेका अन्य केही अझ फरार रहेको प्रहरीमा सूचना छ ।

अफताब आलम जेलमा भए पनि उनका आपराधिक काममा सहयोगी रहेका कतिपय अहिले भारततिर समेत लुकेर बसेको हुनसक्ने प्रहरीको अनुमान छ । अहिले कोरोना महामारीका बेला खोजीनीति हुन नसक्ने बहानामा उनीहरूले सीमा क्षेत्रलाई सेल्टर बनाएको हुनसक्ने विश्लेषणसहित सिंहले २ नम्बरका प्रहरी कार्यालयहरूलाई निगरानीमा रहनका लागि निर्देशन समेत दिइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित