शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

सुदूरपश्चिममा उच्च सर्तकता

दैनिक नेपाल २०७६ चैत २६ गते ११:५३

डोटी, २६ चैत । छिमेकी मुलुक भारतको उत्तराखण्डमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि डोटीसहित सुदूरपश्चिम प्रदेशमा उच्च सर्तकता अपनाउन थालिएको छ ।

जिल्लावासीले सरकारले गरेको जारी गरेको लकडाउनको पूर्णपालना गर्दै आएकामा थप सतर्कता अपनाइएको हो । मानिसको बढी भीडभाड हुने यहाँका विभिन्न चोक तथा प्रमुख व्यापारिक केन्द्रमा व्यापकरूपमा प्रहरी परिचालनसहित जागरुकताका लागि माइकबाट सूचनासमेत प्रवाह गरिएको छ ।

अन्य जिल्लामा लकडाउन उल्लङ्घनको आरोपमा सयौँ सवारी साधन पक्राउ र दजनौँ स्थानीयवासी कारवाहीमा परे पनि डोटीमा भने अहिलेसम्म कुनै पनि व्यक्ति तथा सवारी साधन कारवाहीमा नपरेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नागरिकले लकडाउनको पूर्ण पालना गरेका छन्, उल्लङ्घन गरेको घटना कहीँकतै पाइएको छैन ।”

जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले अहिलेसम्म जिल्लामा कोरोनाको सङ्केत नदेखिएको जनाउनुभयो भने जिप्रका डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले जोखिम नेपालमा नभित्रियोस् भन्दै लकडाउनमा कडाइ गरिएको बताउनुभयो ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले लकडाउनको निर्देशनलाई पूर्णरूपमा पालना गराउन जिल्लाका सुरक्षा निकाय कडाइका साथ लागेको जनाउनुभयो ।

यहाँका उद्योग, व्यवसाय, पसलहरु पूर्णरुपमा बन्द भएका छन् । अत्यावश्यक दैनिक उपभोग्य गर्ने वस्तु अस्पताल सेवा, स्वास्थ संस्था, औषधि पसल, दाल, चामल, तेल, नुन, दूध डेरी, पेट्रोलपम्प, फलफूल तथा तरकारी पसल भने निश्चित समय तोकिएर सञ्चालन गर्ने अनुमति दिइएको छ ।

सुरक्षा निकाय, एम्बुलेन्स र अत्यावश्यक काममा खटिनेका लागि स्थानीय प्रशासनले उपलब्ध गराएको पास लिनेले मात्र आवतजावत गरिरहेका छन । जिल्ला प्रशासन कार्यालयले पत्रकारका लागि प्रेस पास उपलब्ध गराएको छैन । सूचना विभागबाट प्रेस पास लिएकालाई रिर्पोटिङ गर्न पाउने व्यवस्था मिलाइएको छ ।
सरकारले गरेको निर्णयको उल्लङ्घन गर्नेलाई सङ्क्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम कडा कारवाही गर्ने स्थानीय प्रशासनले योजना बनाएपछि बजारमा आवतजावत गर्ने तथा बिनाकाम घर बाहिर निस्किनेहरु बन्द भएका हुन् ।

प्रदेश सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले सङ्क्रमण फैलन नदिन र नागरिक बचाउन सबैले नियमको पालना गर्न जरुरी रहेको बताउनुभउयो । कोरोना नियन्त्रणका लागि यहाँको प्रदेश तथा स्थानीय सरकारले विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएका छन् । अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा एक मात्रै कैलालीमा कोरोना रोगको सङ्क्रमित फेला परे पनि अन्य ठाउँमा फेला परेका छैनन् ।

यहाँको प्रदेशबाट ४० जनाको स्वाब परीक्षण गरिए पनि चार जनामा कोरोना पोजेटिभ देखिएको छ । अन्य ३६ जनामा नेगेटिभ देखिएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दिपायल राजपुरले जनाइएको छ । निर्देशनालयका अनुसार कोरोनाको सङ्क्रमण देखिएका निज बिरामीको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।-रासस

प्रतिक्रिया
सम्बन्धित