बिहीबार, ६ वैशाख २०८१
DainikNepal.com
बिहीबार, ६ वैशाख २०८१

कपिलवस्तुका तीन पालिकाको पाँच क्वारेन्टाइन प्रविधिमैत्री

दैनिक नेपाल २०७६ चैत २५ गते ६:५७

चन्द्रौटा, २५ चैत । कपिलवस्तु जिल्लाको ५ क्वारेन्टाइनमा निःशूल्क इन्टरनेट जडान गरिएको छ । जिल्लाको शिवराज नगरपालिकामा १ स्थान, कपिलवस्तु नगरपालिकामा ३ स्थान र मायादेवी गाउँपालिकामा १ स्थानमा इन्टरनेट जडान गरिएको बताइएको छ ।

जिल्लाको शिवराज–३, देउराली रिसोर्ट (छालाफेक्ट्री), कपिलवस्तु नगरपालिकास्थित रत्नराज्य मावि, बुद्धपद्म मावि र महेन्द्र आधारभूत विद्यालय र मायादेवी गाउँपालिका १ स्थित छत्रपाली तिर्थादेवी माविमा राखिएको क्वारेन्टाइनमा इन्टरनेट जडान गरी प्रविधिमैत्री बनाइएको कम्प्युटर एशोशियसन नेपाल महासंघ (क्यान) कपिलवस्तुका अध्यक्ष सन्दीपकुमार श्रीवास्तवले जानकारी दिए ।

जिल्लाको शिवराजमा क्यान कपिलवस्तु र जे.बि.एम. केबल स्पेस नेट्वोर्क चन्द्रौटाको प्राविधिक सहयोगमा निःशुल्क इन्टरनेट जडान गरिएको छ भने अन्य चार स्थानमा क्यान कपिलवस्तु र तौलिहवास्थित मार्स कम्प्युटरको प्राविधिक सहयोग रहेको श्रीवास्तवले बताए ।

जडान गरिएको इन्टरनेट तीन एमबीपीएस क्षमताको रहेको र क्वारेन्टाइन सञ्चालन अवधिसम्म निःशूल्क इन्टरनेट सेवा प्रवाह गरिने मार्स कम्प्युटरका सञ्चालक समेत रहेका श्रीवास्तवले जानकारी दिए ।

यता विश्वभर महामारीको रुपमा फैलिएको कोभिड–१९ जस्तो बिपद्को घडीमा सामाजिक उत्तरदायित्व अनुसार मानव जीवनलाई सूचना प्रविधिसँग जोड्ने प्रयासमा जुटेको क्यान महासंघ प्रदेश ५ का कोषाध्यक्ष माधवराज घिमिरेले बताए ।

क्यान महासंघ कपिलवस्तुका पूर्वअध्यक्ष समेत रहेका घिमिरेले क्यान कपिलवस्तु बेला बेलामा सूचना प्रविधिमा काम गर्दै आइरहेको समेत उद्घोष गरे । विपत्तीको बेला क्यारेन्टाइनमा बस्नेलाई आफूहरुको सानो सहयोगले ठूलो राहत पुग्ने घिमिरेले विश्वास व्यक्त गरे ।

इन्टरनेटको पहँुचमा नरहेका अन्य पालिकाका क्वारेन्टाइनमा समेत निःशूल्क इन्टरनेट सेवा प्रवाह गर्न क्यान महासंघ तत्पर रहेको उनले प्रतिबद्धता जाहेर गरे ।

प्रतिक्रिया
सम्बन्धित