शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

शिवराजले नगरभित्रका १६सय विपन्न श्रमिक तथा असहायलाई राहत बाँड्ने

दैनिक नेपाल २०७६ चैत २२ गते ८:२७

कपिलवस्तु, २२ चैत । शिवराज नगरपालिकाले कोभिड १९ को संभावित संक्रमणको कारण उत्पन्न प्रतिकूल अवस्थाबाट प्रभावित नगरभित्रका १६सय श्रमिक तथा असहायलाई राहत वितरण गर्ने तयारी गरेको छ ।

नेपाल सरकार मन्त्रीपरिषद्बाट तयार गरिएको असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धी मापदण्ड, २०७६ बमोजिम शिवराजले पहिलो चरणमा १६सय घरधुरीलाई राहत उपलब्ध गराउने निर्णय गरेको हो । नगर कार्यपालिकाको बैठकले राहत वितरणका लागि मापदण्ड बनाएको छ ।

पहिलो चरणमा प्रति परिवार २५ किलो चामल, ३ किलो दाल, २ किलो नून, १ लिटर तेल र एउटा लाइफब्वाय साबुन उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । सोही अनुसार राहत सामग्री खरीत तथा वितरण समितिलाई सामग्री खरीदका लागि जिम्मेवारी समेत दिइसकिएको बताइएको छ ।

साथै नगरको मापदण्ड बमोजिम ५सयदेखि एक हजार घरधुरीसम्म हुने वडाका एक सय विपन्न घरले राहत पाउनेछन् । एक हजारदेखि १५सय घरधुरी हुने वडाका एक सय घरले र १५सयभन्दा माथि घरधुरी हुने वडाका २सय विपन्न घरले राहत पाउनेछन् । सोही मापदण्ड अनुसार शिवराजमा कूल १६सय विपन्न श्रमिक तथा असहायले राहत पाउने देखिन्छ ।

शिवराज नगरपालिकाले सम्बन्धित व्यापारी व्यवसायीसँग राहत सामग्रीको उचित दररेट सहितको मूल्यसूची माग गरेको छ ।

राहत सामग्री खरीद तथा वितरण समिति संयोजक शिवकुमारी चौधरीको संयोजकत्वमा बसेको बैठकले लकडाउनका कारण प्रभावित विपन्न श्रमिक वर्ग तथा असहाय परिवारका लागि खरीद गरी वितरण गर्न मूल्यसूची आह्वान गरेको हो ।

समितिको बैठकले मध्यम खालको चामल, मसुरोको दाल, सनफ्लावर तेल, आयोडिन युक्त नून र ७५ ग्रामको लाइफब्वाय साबुन खरीद गरी वितरण गर्ने प्रयोजनका लागि मूल्यसूची माग गरिएको समिति संयोजक शिवकुमारी थारुले जानकारी दिएकी छन् ।

सो सम्बन्धी कारोबार गर्ने व्यापारी व्यवसायीले चैत २२ गते दिउँसो १ बजेभित्र नगरपालिकाको कार्यालयमा मूल्यसूची पेश गर्नुपर्नेछ । चामल र दालको हकमा नमूनासहित पेश गर्नुपर्ने नगरपालिकाको पत्रमा उल्लेख छ । जिम्मा पाउने व्यवसायीले चामल २५ केजी र अन्य सामग्री एकैसाथ प्याकिङ्ग गरी उपलब्ध गराउनुपर्ने पत्रमा जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित