शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

भगवान् रामचन्द्रको सम्झनामा ‘रामनवमी’ पर्व मनाइँदै

दैनिक नेपाल २०७६ चैत २० गते ९:५६

काठमाडाैं, २० चैत । चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व बिहीबार देशभरी श्रद्धा र भक्तिपूर्वक मनाइँदैछ ।

असत्यमाथि सत्यको विजय तथा भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी लकडाउनका कारण भक्तजनले घरमै बसेर आराधना गर्नेछन् ।

विगत वर्षमा आजका दिन जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लाग्ने गरेकामा यस वर्ष दुवै देशमा कोरोना भाइरसको सङ्क्रमणबाट बच्न लकडाउन गरिएकाले भीडभाड हुनेछैन । त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको बताइन्छ ।

त्यही स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ । आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ वास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान विष्णुको सातौँ अवतारका रूपमा जन्मनुभएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गर्नुभएको बताइन्छ ।

पितृ मातृ भक्त, ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गर्नुभएकाले उहाँको शासनकाललाई अहिले पनि रामराज्यका रुपमा स्मरण गरिन्छ ।

रामनवमीका दिन श्रीरामको व्रत, उपवास गरी पूजा, आराधना गर्नाले यो लोकमा सुख, शान्ति र परलोकमा सद्गति पाइने रामायणलगायत धर्मग्रन्थमा उल्लेख गरिएको छ ।

यस वर्ष लकडाउनका कारण बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारीको राममन्दिर, गोकर्णेश्वर नगरपालिका–९ स्थित आरुबारीमा रहेको राम मन्दिरलगायत स्थानमा लाग्ने मेला स्थागित गरिएको छ । ती मन्दिरमा रामनवमीका अवसरमा हुने विशेष पूजा भने गरिने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित