मंगलबार, ११ वैशाख २०८१
DainikNepal.com
मंगलबार, ११ वैशाख २०८१

चन्द्रागिरि नगरपालिकाले विद्यार्थी र मजदूरलाई घर पुर्‍याइदिने

दैनिक नेपाल २०७६ चैत १७ गते १५:२९

काठमाडौं, १७ चैत ।  चन्द्रागिरि नगरपालिकाले चन्द्रागिरिभित्र बसोबास गर्ने विद्यार्थी तथा मजदूरलाई घरनजिकको राजमार्गसम्म पुर्‍याउने व्यवस्था मिलाउने भएको छ ।

विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को नेपालमा सम्भावित संक्रमणलाई ध्यानमा राखी सरकारले चैत २५ गतेसम्म ‘लकडाउन’ गरेपछि अलपत्र विद्यार्थी तथा मजदूरलाई घर जाने व्यवस्था मिलाउन लागेको हो ।

चन्द्रागिरिका प्रवक्ता, हरिभक्त महर्जनले चन्द्रागिरि नगरपालिकाभित्र कोठामा बसेर दैनिक ज्यालादारी गर्ने मजदूर तथा विद्यार्थीलाई घरनजिकको गन्तव्यस्थल राजमार्गसम्म पुर्‍याउने निर्णय गरिएको जानकारी दिए ।

लकडाउनको समयमा कोठामा बस्न समस्या भएका विद्यार्थी र मजदूरका लागि घरनजिकको राजमार्गसम्म लैजानका लागि गाडीको व्यवस्था नगरपालिकाले मिलाउँछ,उनले भने ।

चन्द्रागिरिले पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मको राजमार्गसम्म पुर्‍याउने व्यवस्था गर्न लागेको उनको भनाइ छ ।

चन्द्रागिरिले घर जान मन गरेका विद्यार्थी तथा मजदूरलाई वडामा नाम थर, हाल बसोबास गरेको ठेगाना, कार्यरत् रहेको संस्था वा कार्यालयको नाम, बाहिर जान लागेको गन्तव्यस्थलको ठेगाना र सम्पर्क नम्बर टिपाउन अनुरोधसमेत गरेको छ ।

चन्द्रागिरिले नगरपालिकाभित्रका स्वास्थ्य संस्थामा कार्यरत् स्वास्थ्यकर्मीको स्वास्थ्यलाई ध्यानमा राखेर व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) हस्तान्तरण गरेको छ ।

नगरपालिकाका प्रमुख घनश्याम गिरीले कोरोना रोगको सम्भावित संक्रमणबाट जोगिनका लागि चन्द्रागिरिभित्र रहेका स्वास्थ्य संघ संस्थालाई पीपीई हस्तान्तरण गरिएको जानकारी दिए ।

सबै स्वास्थ्यकर्मीलाई पुग्ने गरी पीपीई नभएकाले सुरुको अवस्थामा सबै स्वास्थ्य संस्थालाई पुग्ने गरी पीपीई वितरण गरेका छौं । बाँकी विस्तारै थप्दै जान्छौ, नगरप्रमुख गिरीले भने ।

काठमाडौँ प्रवेशको मुख्यद्वारका रुपमा रहेको चन्द्रागिरिले नागढुंगा–कलंकी सडकखन्ड र भित्री सडकखन्डमा कीटनाशक औषधिसमेत छरेको छ ।

चन्द्रागिरि नगरपालिका र थानकोटस्थित नेपाली सेनाको टोलीले नागढुंगादेखि कलंकीसम्मको मुख्य सडक र नगरपालिकाका भित्री सडकमा ‘हाइड्रो क्लोराइड’ नामक कीटनाशक औषधि छरेको हो ।

कोरोना रोग नियन्त्रणका लागि केही हदसम्म सहयोग पुग्ने उद्देश्यले नागढुंगादेखि कलंकीसम्म र नगरपालिकाका भित्री सडकमा कीटनाशक औषधि छर्किएको नगरपालिकाले जनाएको छ ।

चन्द्रागिरिले सरकारले चैत ११ देखि २५ गतेसम्म ‘लकडाउन’ गरेकाले लकडाउनको समयमा नगरवासीलाई घरभित्र बस्न आह्वान गर्दै नगरपालिकाभित्र माइकिङ गरेको छ ।

यस्तै, चन्द्रागिरि नगरपालिकाले विदेशबाट आएका व्यक्तिको लगत संकलनको कार्यलाईसमेत अगाडि बढाएको छ ।

यसैगरी, चन्द्रागिरि वाणिज्य संघ चन्द्रागिरि चेम्बरले प्रत्येक वडामा मास्क वितरण गरेको छ ।

बजारमा मास्कको अभाव भइरहेका बेला चन्द्रागिरि चेम्बरले चन्द्रागिरि नगरपालिकामा तीन हजारथान मास्क वितरण गरेको हो ।

चेम्बर चन्द्रागिरिका अध्यक्ष रामनारायण घिमिरेले विपन्न जनतासम्म मास्क पुर्‍याउने उद्देश्यले वडाध्यक्षमार्फत् मास्क वितरण गरेको जानकारी दिए ।

चेम्बरले चन्द्रागिरिमा खाद्यान्न, ग्यास, औषधिलगायतका अत्यावश्यक सामग्री अभाव भए सहजीकरण गर्नेसमेत जनाएको छ ।

चन्द्रागिरिमा हाल १३ स्वास्थ्यचौकी र दुई अस्पताल सञ्चालनमा रहेका छन् । नगरपालिकाले सबै स्वास्थ्य संस्थामा ५० थानका दरले मास्कसमेत वितरण गरेको छ ।

वाग्मती प्रदेशकै सबैभन्दा ठूलो नगरपालिकाका रुपमा रहेको चन्द्रागिरिमा १५ वडा रहेका छन् ।-रासस

प्रतिक्रिया
सम्बन्धित