बुधबार, २७ कार्तिक २०७६
DainikNepal.com
बुधबार, २७ कार्तिक २०७६

अमेरिकी डलर कमजोर हुँदै

दैनिक नेपाल २०७६ कार्तिक २३ गते ७:०३

काठमाडौं, २३ कात्तिक । अमेरिकी डलर कमजोर हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि शुक्रबार एक डलरको खरिददर ११३ रुपियाँ २४ पैसा र बिक्रीदर ११३ रुपियाँ ८४ पैसा तोकेको छ । यसको अर्थ सर्वसाधारणले एक डलर खरिद गर्न ११३ रुपैयाँ ८४ पैसा चाहिन्छ ।

डलरको भाउ केही कमजोर हुँदै गएको छ । गत भदौ १८ गते राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि एक डलरको खरिददर ११५ रुपियाँ ५५ पैसा र बिक्रीदर ११६ रुपियाँ १५ पैसा तोकेको थियो । त्यसपछि डलर कमजोर हुँदै आएको छ ।

नेपाली रुपियाँ बलियो हुनुको कारण भारतीय रुपियाँ कमजोर नहुनु हो । नेपाली र भारतीय रुपियाँबीच स्थिर विनिमय दर भएका कारण भारु कमजोर हुना साथ नेपाली रुपियाँ पनि कमजोर र बलियो हुँदा बलियो हुने गरेको छ ।

नेपाली रुपियाँ बलियो र अमेरिकी डलर कमजोर बन्न पुग्दा विदेशबाट आयात हुने सामान सस्तो हुने गर्छ । डलर कमजोर भएका कारण उपभोक्ताले विदेशी सामान किन्दा कम मूल्य तिर्नुपर्ने हुन्छ ।

राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार, अन्तर्राष्ट्रिय बजारका कारण डलर कमजोर र बलियो हुने गर्दछ । भारतको मुद्रा केही बलियो बनेकाले डलरको भाउ कमजोर भएको हो । भारतीय अर्थतन्त्र कमजोर बनिरहेको तथ्यांक बाहिर आए पनि भारतीय शेयर बजार भने उकालो लागि रहेको छ ।

भारतीय मुद्रा बलियो हुनुलाई भारतको अर्थतन्त्र बलियो हुँदै गएको संकेतका रुपमा लिन सकिने पनि विज्ञको भनाइ छ । २०७५ साल असोज २६ गते डलर मजबुत हुँदै गएर एक डलर किन्न एक सय १९ रुपैयाँसम्म तिर्नुपरेको थियो । त्यसपछि डलर निरन्तर कमजोर हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित