सोमबार, २७ असोज २०७६
DainikNepal.com
सोमबार, २७ असोज २०७६

हाकिमका सामुन्ने स्पष्टिकरणपत्र च्यात्ने नेपथ्यका लेखक

दैनिक नेपाल २०७६ असोज ८ गते १२:०५

काठमाडौं, ८ असोज । उनी लेखक हुन् । उनी कर्मचारी पनि हुन् । सरकारी कर्मचारी । उनका सृजनामा समाज बोल्छ । कृषि अनुसन्धान केन्द्रमा काम गर्छन् । उनको लेखनको केन्द्रमा भने बनस्पति होइन, समाजको चित्र र चरित्र हुन्छ ।

एक हिसाबले लेखकीय दुनियाँमा अहिले पनि नेपथ्यमा नै छन् । त्यो उनको रुची होइन, सहरको नियतीको परिबन्ध हो ।

हालै उनको उपन्यास ‘निहारिका’ बजारमा आएको छ । यसले कत्तिको प्रभाव छाड्ला त्यो अर्को पाटो कोट्याउन मन लाग्दैन । त्यसैले त प्रकाश तिवारी भन्छन्,‘लेखन पनि केही बर्षमा छाडिन्छ की !’

सरकारी कर्मचारीका रूपमा एउटा महाशाखा प्रमुख छन् उनी । जागिर गरेको ३० बर्ष पुगेको छ । कथा, कविता र उपन्यास उनका रहर हुन् । मर्निङ वाक गर्दा संस्मरणमा आएका सृजनात्मक लयलाई मोबाइलमा रेकर्ड गर्छन् अनि लेखनमा उतार्छन् । ‘सम्झिएका कतिपय प्लट र शैली पछि स्मरण गर्न कठिन भएर त्यसो गर्छु अनि त्यसैलाई विस्तृत बनाएर कथा वा उपन्यासको आकार दिन्छु’, उनी भन्छन् ।

लमजुङ जिल्लाको हालको बेशीसहर नगरपालिका–११ मा जन्मिएका तिवारीको स्कुले जीवनसम्म घरमा बित्यो । दुईटी आमाका ७ जना सन्तान मध्ये एक जना तिवारीले एसएलसी पास गरेपछि बाबुले उच्च शिक्षामा भन्दा जागिरमा नै जोड दिए । बरु, चिनेका मानिसको साथ लगाएर जागिर खानका लागि पठाए । ‘क्याम्पस जाने भन्दा पनि जागिर तिर जाँदा राम्रो हुन्छ । दाजुहरु पनि त्यसरी नै अघि बढे । ’, ०३८ सालतिर बुवाले दिएको सुझाव सुनाउँछन् तिवारी ।

बाबुले दिएको सुझावमा नै उनी कोष तथा लेखा नियन्त्रण कार्यालय अस्थायी कर्मचारी भएर काम गर्न थाले । काठमाडौं आएका उनी दमौली कार्यालयमा जागिर गर्न थाले, अस्थायी कर्मचारीका रूपमा ।

स्थायी कर्मचारी आएपछि उनको जागिर जाने भयो । सोही कार्यालयका हाकिमले पोखरामा क्षेत्रीय कृषि निर्देशनालयमा चिठि लेखेर अस्थायी जागिरका लागि सिफारिस गरिदिए ।

उनको त्यहाँ जागिर भयो र जेटिएका रुपमा उनकै गाउँमा खटाइयो । अस्थायी जागिरे जेटिए भएर गाउँतिर काम गर्न पुगेका थिए । शनिबारको दिन उनी काममा नपुगेको मौकामा छड्के जाँच परेको थियो । उनलाई कार्यालयले स्पष्टिकरण सोध्यो । उनले त्यो स्पष्टिकरणपत्र झ्वार्र पारेर च्यातिदिए । पोखराको क्षेत्रीय कार्यालयमा उनलाई नसिहत दिन सिफारिस गरिएको पत्र थमाएर पठाइएको थियो । ‘त्यो पत्र बोकेर म पोखरा पुगें, केन्द्रीय कार्यालयमा तत्कालिन महानिर्देशकको गाली पनि खाइयो । तर, जागिर भने गएन । अनि म पढ्न थालें ।’

उनले निरन्तर अध्ययनलाई केन्द्रमा राखे, लेखनलाई पनि निरन्तरता दिए । त्यसैले आजभोली कार्यालयमा काम भएन भने पनि उनका अक्षरहरू कम्प्युटरमा कैद हुन्छन्, केही समयमा एउटा फरक सृजना बनेर निस्कन्छन्, निहारिका जस्तै । कर्मचारी भएपछि जिम्मेवारविहीन, हाजिरमात्र गराउने काममा लगाए पनि उनी त्यसै गर्छन् । पद र प्रतिष्ठा जोगाउनका लागि पैसा कमाउनका लागि शक्ति केन्द्र धाउँदैनन् । त्यो समयको सदुपयोग गरेको दुई बर्षमा पछिल्लो उपन्यास बजारमा आएको तिवारी सुनाउँछन् ।

साहित्य लेखन सृजना भन्दा बढी व्यापार जस्तो हुन थालेको उनको बुझाई छ । यस्तो अस्वस्थ्य व्यापार जहाँ लेखनभित्रको रस होइन, व्यक्तित्वको सामाजिक प्रतिष्ठाको बिक्रिवितरण हुन्छ । भन्छन्,‘प्रकाशनगृह पनि त्यस्तै खोज्दा रहेछन् । सृजनालाई पुस्तकको आकार दिन लेखकले कस्तो शिल्प पस्किएको छ भन्ने हेरिँदो रहेनछ । उसको सामाजिक, व्यावसायीक पाटो कति बलियो छ भनेर हेरिँदो रहेछ ।’

प्रतिक्रिया
सम्बन्धित