काठमाडौं, ३ असाेज । डेंगुबाट आक्रान्त भएको बेला घातक रोगका रूपमा रहेको स्क्रवटाइफसका कारण पछिल्लो तीन वर्षयता झन्डै २ हजार ५ सय जना संक्रमित भएका छन् ।
स्वास्थ्य सेवा विभागअन्तर्गत ईपीडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तीन वर्षमा २ हजार ३ सय २३ जनालाई संक्रमण भएको छ ।
सन् २०१७ मा ६ सय ७०, सन् २०१८ मा १ हजार ९८ र सन् २०१९ मा ५ सय ५५ जनालाई संक्रमण भएको हो । यस्तै, महाशाखाका अनुसार तीन वर्षको अवधिमा १६ जनाको मृत्यु भएको छ ।
स्क्रवटाइफसका बिरामी ६३ जिल्लामा भेटिएका छन् । महाशाखाका निर्देशक डा. विवेककुमार लालले सरुवा रोग व्यवस्थापनअन्तर्गत अभिमुखीकरण तालिमलगायतमा केन्द्रमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताए ।
उनले भने, ‘परीक्षणका लागि बर्सेनि १० हजार कीट उपलब्ध हुन्छ । समयमा रोग पत्ता लगाउन सकिए यो पूर्ण रूपमा निको हुन्छ ।’
स्क्रवटाइफस नेपालमा कुनै पनि बेला महामारीको रूप लिन सक्ने चिकित्सकहरूले बताएका छन् । सरुवा रोग विशेषज्ञ डा. सेरबहादुर पुनका अनुसार मुसामा पाइने एक प्रकारको किर्नाको टोकाइबाट स्क्रवटाइफस हुने गर्छ ।
सरुवा रोग विशेषज्ञ डा. पुनले भने, ‘यो रोग ओरियन्टिया सुसुगामुसीले संक्रमित किर्ना र सुलसुले जातको सूक्ष्म कीरा (माइट) को टोकाइबाट फैलिन्छ । समयमै रोगको पहिचान गरिए पूर्ण रूपमा निको हुन्छ ।’
काठमाडौंस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा साउन यता २० बढी संक्रमित भेटिएको र तीमध्ये केही काठमाडौंकै रहेको अस्पतालले जनाएको छ ।
चिकित्सकहरूका अनुसार, मुसा प्रजातिको जीवमा बस्ने माइट नामक किर्नुको टोकाइबाट स्क्रवटाइफस रोग लाग्छ । स्क्रवटाइफस संक्रमण गराउने माइट खासगरी खेत, झाडी र घाँसमा रहने मुसा प्रजातिमा रहन्छ ।
संक्रमित व्यक्तिलाई अत्यधिक टाउको दुख्ने, सास फेर्न गाह्रो हुने, १०३ देखि १०४ डिग्रीसम्म ज्वरो आउने, जिउ दुख्ने, आँखा हल्का रातो हुने, पसिना बढी आउनेलगायत लक्षण देखिन्छ ।
लक्षणहरू
–अत्यधिक मात्रामा टाउको दुख्ने
–उच्च ज्वरो आउने
–हल्का आँखा रातो हुनु
–पसिना आउनु
–शरीरमा बिमिरा देखीनु
–माइट भन्ने किर्नाले टोकेको ५–२० दिनमा लक्षण देखिनु
बच्ने उपाय
–मुसा आउन नदिने वातावरण तयार गर्ने
– पूरा बाहुला भएको कपडा लगाउने
– लक्षण देखिनासाथ नजिकको स्वास्थ्य संस्था वा अस्पताल जाने
एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने स्क्रवटाइफस रोग वर्षायाममा झाडी, भकारी, जंगल, घाँसपातमा मुसामा हुने किर्नाको टोकाइबाट हुने गर्छ ।
झाडीमा मुसाको रगत चुसेर जिउने माइट नामक परजीवीको माध्यमबाट मानिसमा स्क्रवटाइफस सर्छ । माइटमार्फत ‘ओरेन्सिया सुसुगामोसी’ जीवाणु शरीरमा प्रवेश गरे व्यक्तिमा यो रोग संक्रमण हुने गर्छ । राजधानी दैनिकले खबर छापेकाे छ ।















प्रतिक्रिया