१२ मंसिर २०८३, शनिबार

एसपी मल्ल : जसको संयमताले चितवनमा ‘दुर्घटना’ भएन

1.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १२ भदौ । माउन्टेन टेलिभिनका पत्रकार शालिकारम पुडासैनीले गएको साउन २० गते आत्महत्या गरेपछि सबैको ध्यान चितवनतिर तानियो ।

उनले चितवनको पोखरा बसपार्कस्थित कंगारु होटलको कोठा नम्बर २०२ मा सिलिङ पंखामा झुण्डिएर आत्महत्या गरेका थिए ।

सबैको ध्यान चितवन तानिनुमा उनको आत्महत्या मात्र थिएन, आत्महत्या अघि उनले रेकर्ड गरेर छोडेको भिडियोका कारण थियो । किनकी, उनले भिडियोमा न्यूज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, न्यूज २४कै पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीका कारण आफू ‘मर्न’ बाध्य भएको उल्लेख गरेका थिए । तीनै पुडासैनी केही महिना पहिलेसम्म रवि लामिछानेले चलाउने ‘सिधा कुरा जनतासँग’ कार्यक्रममा सदस्य थिए ।

घटनापछि जसै प्रहरीले नाम ‘पोलिएका’हरुलाई पक्राउ गर्यो, माहोल एकाएक परिवर्तन भयो । रवि लामिछानेका समर्थकहरु चितवन पुगेर प्रर्दशन गर्न थाल्यो । कँडेल र कार्की ओझेलमा पर्न थाले ।

मृतक पुडासैनीको आत्मा र उनको परिवारलाई पुरै वेवास्ता गरियो । न्याय मागिनुपर्नेका पक्षमा बोल्ने कोही दिएन । ‘चर्चित’ पात्रका पक्षमा प्रदर्शन हुँदा ‘भुईँमान्छे’का लागि बोलिदिने कोही भएन ।

प्रहरीले उनीहरुलाई पुडासैनीको आत्महत्या लगत्तै पक्राउ भने गरेको थिएन । चाहेको भए पक्राउ गर्न सक्थ्यो तर, त्यसरी पक्राउ गर्दा माहोन बिग्रिनेमा प्रहरी सचेत थियो ।

पुडासैनीले रवि लामिछाने र उनको टीमले कार्यक्रम सिधा कुरा जनतासँगबाट विभिन्न उद्योगी ब्यापारीलाई बार्गेनिङ गरी करोडौं कमाएको, श्रम शोषण गरेको, निर्दोषलाई दोषी ठहर गर्दै ब्ल्याकमेलिङ समेत गर्ने गरेको आरोप समेत लगाएका थिए ।

यदी ल्याब रिपोर्ट र अन्य प्रमाणलाई आधार नबनाई हतारहतार रविलाई पक्राउ गरिएको भए त्यसले चितवनमा अर्को ‘टिकापुर काण्ड’ दोहोरिने सम्भावना प्रवल थियो । जसलाई आँकलन गरेर प्रहरीले उच्च सतर्कता अपनायो ।

पुडासैनीको पोष्टमार्टम रिपोर्ट, प्रहरी प्रयोगशालाको विवरण प्राप्त भइसकेपछि मात्र प्रहरीले साउन ३० गते उनीहरुलाई काठमाडौँबाट पक्राउ गरेको थियो । त्यसबीचमा प्रहरीले पुडासैनीले आत्महत्या गरेको होटलका सञ्चालकलाई केरकार गरिसकेको थियो भने घटनाको सुक्ष्म अनुसन्धान समते गरिरहेको थियो ।

तर, लामिछानेका समर्थकहरुले प्रहरीमाथि अविश्वास मात्र गरेनन्, तल्लो तहको गालीगलौजमा पनि उत्रिए । खासगरी चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लका विषयमा सामाजिक सञ्जालमा तथानाम लेख्नेदेखि सार्वजनिक कार्यक्रममा गालीगलौजमा उत्रिए । न्यायिक रुपमा निरुपण गर्नुपर्ने घटनामा लामिछानेका समर्थकहरुले उनी निर्दाेष रहेको भन्दै चर्काे नारावाजी र प्रहरीमाथि दबाब दिने प्रयास गरे । अनुसन्धान प्रभावित पार्न खोजे । तर, प्रहरी आत्तिएन ।

प्रदर्शन उग्र बन्न थाल्यो, प्रर्दशनकारीहरु तोडफोडमा उत्रिए । प्रहरीमाथि जाइलागे । डिएसपीसहितका प्रहरी अधिकारीहरु घाइते भए । तर, प्रहरी उत्तेजित भएन, संयम भइरह्यो ।

यदी प्रहरीले भिड नियन्त्रण गर्ने निहुँमा गोली चलाएको भए अथवा प्रहरी अराजक भइदिएको भए जे पनि हुन सक्ने अवस्था थियो ।

अघिल्लो वर्ष कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तको न्यायको लागि भएको प्रदर्शनमा प्रहरीले संयमता नपनाउँदा सनी खुन्नाको मृत्यु भयो । अर्का एकजना अहिले पनि शिक्षण अस्पताल काठमाडौँमा उपचार गराइरहेका छन् । जबकी, त्यहाँ चितवनको जस्तो ‘उग्र’ प्रदर्शन भएकै थिएन ।

चितवनमा लामिछानेका पक्षमा प्रदर्शन तीब्र बन्दै गएपछि धेरैले अघिल्लो वर्षको त्यही घटना सम्झिए । कतिले टीकापुरको विभत्स घटना सम्झिए । कतै चितवन रणभूमिमा परिणत हुने न होइन भने आशंका गरिरहे । तर, चितवन प्रहरी र त्यको नेतृत्वको धैर्यता, संयमता, सहनशिलता र नेतृत्वदायी भूमिकाले सामान्य बाहेक कुनैपनि अप्रिय घटना भएनन् ।

द्वन्द्वकालिन समयमा देशका विभिन्न दुर्गम स्थानमा गएर सेवा गरेका तथा भीभीआईको सुरक्षामा समेत खटिइसकेका एसपी मल्लको कार्यक्षमता फेरि एकपटक चितवनमा प्रदर्शन भएको छ । उनको संयमताकै कारण चितवन रणभूमि हुनबाट जोगियो । अहिले प्रहरी संगठनभित्र एसपी मल्लको प्रसंशा र वाहीवाही भइरहेको छ । उनको कामबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल पनि खुशी देखिन्छन् ।

चितवन जानुअघि एसपी मल्लले महानगरीय प्रहरी वृत्त दरबारमार्गको नेतृत्व गरिसकेका थिए । हक्की र दूरदर्शी स्वभावका मल्लले दरबारमार्ग, ठमेल क्षेत्रमा व्याप्त यौन बजार, कालोबजारी नियन्त्रण, ठगी तथा लुटपाट अन्त्य र शान्तिसुरक्षा कायम गर्न अपनाएको रणनीति अहिले पनि चर्चामा छ ।

चितवनको प्रदर्शनमा लामिछानेका समर्थक मात्र थिएनन्, गणतन्त्र विरोधीहरुको घुसपैठ समेत भएको थियो । जहाँ गणतन्त्र, नेपालको संविधान र शीर्ष नेताहरुविरुद्ध विषवमन गर्ने काम भयो । जसलाई प्रहरीले नियालिरहेको थियो । प्रहरीले घुसपैठमा संलग्न र अराजक गतिविधी गर्ने केहीलाई नियन्त्रणमा लिनु बाहेक खासै ‘बल प्रयोग’ गरेन ।

‘अनेक किसिमका गतिविधि भए, प्रहरीलाई हतोत्साहित बनाउने काम नभएको होइन । व्यक्तिगत रुपमा मेराविरुद्ध पनि अनेक प्रचार भए’, एसपी मल्ल भन्छन्, ‘प्रहरीको काम भनेको शान्ति, सुरक्षा कायम गर्ने हो, व्यक्तिगत कुरामा अल्झिने होइन । प्रहरीमा धैर्यता र संयमता नहुने हो भने जे पनि हुन सक्छ । यही कुरालाई बुझेर बरु हामीले कुटाई खायौँ तर, उत्तेजित भएनौँ । बल प्रयोग गरेनौँ ।’

अदालतले लामिछानेसहित तीनै जनालाई हिरासतमुक्त गरेसँगै तत्कालका लागि चितवनमा ठूलो मुठभेडको राजनीति समाप्त भएको छ । अदालतको आदेशपछि लामिछाने ५ लाख धरौटी तिरेर हिरासमुक्त भएका छन् भने कँडेलले ३ लाख धरौटी तिरेका छन् । नर्स कार्की भने साधारण तारखेमा रिहा भएकी छन् ।

अदालतको आदेशसँगै प्रहरीलाई केही जिम्मेवारी फेरि प्राप्त भएको छ । अदालतका केही प्रश्न छन् । यी प्रश्नहरुको न्यायिक निरुपणका लागि पक्कै पनि एसपी मल्लले पारदर्शी रुपमा काम गर्नेछन् ।

‘बरु सय जना अपराधी छुटुन् तर, एउटा निरपराधी नफसोस् भन्ने सिद्धान्तबाटै काम गरिरहेका छौँ ।कसैलाई अन्यायमा पर्ने, फसाउने, दुःख दिने दुर्नियत लिएर काम गर्दैनौँ’, , एसपी मल्ल भन्छन्, ‘भीडले के भन्छ भन्दा पनि न्यायिक निरुपण के हो भन्नेमा हामी सचेत छौँ । त्यही अुनसार काम गरिरहेका छौँ ’