
काठमाडौँ, १ भदौ । चितवनमा झुण्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिग्राम पुडासैनीको परिवारले आइतबार रवि लामिछानेसहित तीन जनाका नाममा किटानी जाहेरी दिएका छन् ।
पत्रकार सालिकराम पुडासैनीकी पत्नी सम्झना पुडासैनीले आइतबार काठमाडौं प्रहरी परिसरमा पुगेर लामिछाने, युवराज कँडेल र रुकु भन्ने अस्मिता कार्कीविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।
काठमाडौं प्रहरी प्रवक्ता डीएसपी होबिन्द्र बोगटीका अनुसार सम्झनाले आत्महत्यामा दुरुत्साहन गर्ने तीनैजनाविरुद्ध हदैसम्मको कारबाही माग गर्दै जाहेरी दिएकी हुन् । काठमाडौंमा दर्ता गरेको जाहेरी शिलबन्दी गरेर चितवन पठाउने तयारी भएको छ ।
लामिछानेसहित तीनविरुद्ध चितवनमा आत्महत्या दुरुसाहन मुद्दामा अनुसन्धान भइरहेको छ । शुक्रबार चितवन जिल्ला अदालतले रविसहित तीनैजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न निर्देशन दिएको थियो ।
रवि र युवराजलाई प्रहरीले बिहीबार साँझ काठमाडाैँबाट पक्राउ गरेको थियो । बिहीबार दिउँसो पक्राउ परेकी अस्मितासहित तीनैजनालाई प्रहरीले बिहीबार राति नै चितवन पुर्याएको थियो ।
पुडासैनीले आत्महत्याअघि कार्की, लामिछाने र कँडेलले आफूलाई मर्न बाध्य पारेको भन्दै रेकर्ड गरेको भिडियो सार्वजनिक भएको थियो । भिडियो पुडासैनीको मोबाइलमा फेला परेपछि प्रहरीले फरेन्सिक जाँच गर्दा भिडियो आफैं खिचेको पुष्टि भएको प्रहरीले जनाएको छ । पुडासैनीकै आवाजको भिडियो रहेको पुष्टिपछि थप अनुसन्धान गर्न लामिछाने, कार्की र कँडेललाई पक्राउ गरिएको चितवन प्रहरीले जनाएको छ ।
गत वर्ष १ भदौदेखि जारी मुलुकी अपराध संहिताले पीडितले आफूलाई पायक पर्ने जुनसुकै स्थानबाट किटानी जाहेरी दिनसक्ने व्यवस्था गरेको छ । तर, अनुसन्धान र कारबाही चाहिँ घटना भएकै स्थानमा हुनुपर्ने व्यवस्था छ ।
यो पनि पढ्नुहोस्
-आत्महत्या गरेका पत्रकार पुडासैनीको भिडियो : रवि लामिछाने तिमी जस्तो भ्रष्ट कोही छैन !











प्रतिक्रिया