
काठमाडौँ, ८ साउन । इलाका प्रहरी कार्यालय सिमौनगढमा चोरी मुद्दामा हिरातमा रहेका एक भारतीय थुनवा फरार भएपछि प्रहरी हबल्दारसहित दुई जना निलम्बनमा परेका छन् ।
निलम्बित हुनेमा प्रहरी हलबदार शशिकान्त चौधरी र प्रहरी जवान अशोककुमार साह रहेका प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरले जानकारी दिनुभयो ।
चोरी मुद्दामा भारतको बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत लिपनी वडा नं– ४ निवासी वर्ष १९ का फिरोज मियाँ मङ्गलबार राति ८ बजे खाना खुवाउने क्रममा हिरासतबाट भागेका थिए ।
कर्तव्य पालनको सिलसिलामा रहेका ती दुई प्रहरीको लापरवाहीका कारण हिरासतबाट मियाँ भाग्न सफल भएको हुँदा निलम्बन गरिएको प्रहरी प्रवक्ता राठौरले बताउनुभयो ।
सिम्रौनगढ नगरपालिका–३ न्यकाटोल निवासी गौरीशङ्कर यादवको घरमा चोरी गरेको मुद्दामा मियाँलाई यही साउन ४ गते पक्राउ गरिएको थियो । –रासस












प्रतिक्रिया