१७ कार्तिक २०८३, मंगलबार

गोदावरी फूल प्रदर्शनीको पाँचौँ दिन २१ लाख बढीको कारोबार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा ललितपुरको जावलाखेलमा जारी १९ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनीको ५ औं दिनसम्म १ करोड २१ लाख बढीको कारोबार भएको छ ।

कात्तिक १२ गतेबाट सुरु भएको यो मेलाको पाँचौ दिनसम्म ३७ हजार बढी अवलोकनकर्ताले अवलोकन गरेका छन् ।

प्रदर्शनीको प्रारम्भिक दिन अपेक्षाभन्दा राम्रो कारोबार भए पनि मौसममा आएको प्रतिकूलताका कारण शुक्रबार र शनिबार भएको अविरल वर्षाले प्रदर्शनी प्रभावित भएको थियो ।

प्रदर्शनीको पहिलो दिन ८ हजार ९ सय, दोस्रो दिन ४ हजार २ सय, तेस्रो दिन १० हजार ७ सय, चौथो दिन ७ हजार २ सय ५० र पाँचौ दिन ६ हजार ७ सय ५६ जनाले मेला अवलोकन गरेका थिए ।

मेलाको पाँचौं दिन २१ लाख ५० हजारको कारोबार भएको आयोजकले जनाएको छ ।

बुधबार मेलाको अन्तिम दिन अझै कारोबार बढ्नुका साथै अवलोकनकर्ताहरुको भीड लाग्ने विश्वास मेला संयोजक सुमन महर्जनले बताए ।

अवलोकनकर्ताहरु र व्यवसायीहरुको अनुरोधमा मेला अवधि दुई दिन थप गरी कात्तिक १८ गतेसम्म थप गरिएको फ्लोरिकल्चर एसोसिएसनका कार्यसमिति सदस्य तथा मेला सहसंयोजक कृष्णराम थापाले बताए ।

प्रदर्शनीको अवधि थप भएसँगै अब इच्छुक सर्वसाधारणलाई कात्तिक १८ गते बुधबारसम्म जावलाखेलस्थित प्रदर्शनी स्थलमा पुगेर विभिन्न प्रजातिका गोदावरी फूल तथा अन्य पुष्पजन्य सामग्रीको अवलोकन र खरिद गर्न फ्लोरिकल्चर एसोसिएसन नेपालले अनुरोध गरेको छ ।