काठमाडौं । प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन भोलि (बुधबार)देखि काठमाडौंमा सुरु हुने भएको छ । अधिवेशनमा विश्वका ३८ देशबाट करिब ३५० जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने भएका छन् ।
अधिवेशनबारे जानकारी दिन आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा नेकपा (एमाले)का उपमहासचिव लेखराज भट्टले प्रवासी नेपालीहरूले भोग्दै आएका साझा समस्या र चुनौती समाधानका लागि एकीकृत पहल आवश्यक रहेको उल्लेख गरे ।

अधिवेशनले यस दिशामा महत्वपूर्ण निर्णय र मार्गनिर्देशन गर्ने भट्टले विश्वास व्यक्त गरे ।
मञ्चका अध्यक्ष रमेश पाण्डेले अधिवेशनको तयारी पूरा भएको जानकारी दिँदै विश्वभरका प्रवासी नेपालीहरूको सहभागितामा अधिवेशन आयोजना हुन लागेको बताए ।
‘श्रमिक अधिकार, वंशजको नागरिकताको सुनिश्चितता–समृद्ध नेपाल, सुखी नेपाली हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारासहित आयोजना हुन लागेको अधिवेशन कात्तिक १८ र १९ गते दुई दिनसम्म सञ्चालन हुनेछ ।

अधिवेशनको उद्घाटन पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेतृ विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम तय भएको छ ।
त्यसैगरी, समापन समारोहलाई पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
अध्यक्ष पाण्डेका अनुसार विश्वभर छरिएर रहेका नेपालीहरूलाई एउटै संगठनात्मक छातामुनि गोलबद्ध गर्दै उनीहरूको हक, अधिकार र पहिचानको संरक्षण गर्नु अधिवेशनको प्रमुख उद्देश्य हो ।
उनले भने, “प्रवासी नेपालीहरू नेपालको आर्थिक, सामाजिक तथा राष्ट्रिय समृद्धिका महत्वपूर्ण साझेदार हुन् । उनीहरूको सीप, ज्ञान, अनुभव र पुँजीलाई नेपालको विकाससँग जोड्न मञ्चले निरन्तर काम गरिरहेको छ ।”
उनका अनुसार प्रवासमा रहेका नेपाली श्रमिकहरूको अधिकार, वंशजको नागरिकताको निरन्तरता तथा संवैधानिक र राजनीतिक अधिकार सुनिश्चित गर्ने विषय अधिवेशनका प्रमुख एजेन्डा हुन् । साथै, गैरआवासीय नेपाली संघलगायत प्रवासमा सक्रिय अन्य संघसंस्थासँगको सम्बन्ध र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल हुनेछ ।
हाल मञ्चको राष्ट्रिय कमिटी विश्वका ३८ देशमा, पाँचवटा महादेशमा महादेशीय कमिटी तथा ६० भन्दा बढी देशमा सम्पर्क सञ्जाल विस्तार भएको आयोजकले जनाएको छ । प्रवासमा रहेका दशौँ हजार नेपाली यस संगठनमा आबद्ध रहेको मञ्चको दाबी छ ।
अधिवेशनले आगामी चार वर्षका लागि नयाँ अन्तर्राष्ट्रिय कार्यसमिति चयन गर्नेछ ।
अध्यक्ष पाण्डेका अनुसार नयाँ नेतृत्वले विश्वभरका राष्ट्रिय कमिटीहरूबीच आपसी समन्वय र सहकार्य बढाउँदै संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
अधिवेशनका अवसरमा विश्वव्यापी ‘भिडियो कन्टेन्ट क्रिएसन प्रतियोगिता’ समेत आयोजना गरिएको छ ।
सूचना तथा प्रविधिको युगमा गुणात्मक र सिर्जनात्मक सामग्री निर्माणलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा उत्कृष्ट भिडियो निर्माण गर्ने एक जना सर्जकलाई ७०० अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ ।















प्रतिक्रिया