
नवलपरासी, ३१ जेठ । नेपाल पत्रकार महासंघ नवलपुरले महासंघलाई छाता संगठनको रुपमा भन्दा पनि दलको भातृ संगठनको रुपमा विकास गर्दै लगेको आरोप लगाईएको छ ।
क्रान्तिकारी पत्रकार महासंघ नवलपुरले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै महासंघले नवलपुरमा सधैं पत्रकारहरुको हकहितको पक्षमा वकालत गर्ने कुरा गर्ने तर व्यवहारमा नउतार्ने, दलबल र संख्याको आधारमा अन्य संगठनको अस्तित्वलाई अस्वीकार गर्ने लगायतका गतिविधि गरिरहेको आरोप लगाएको छ ।
पछिल्लो समय नेपाल पत्रकार महासंघको सदस्यता खोल्दा आफ्नो संगठनसँग कुनै परामर्श नलिएको प्रति घोर आपत्ति जनाउँदै नेपाल पत्रकार महासंघ नवलपुरमा पत्रकारभन्दा पनि गैर पत्रकारहरु बढी रहेकोले संगठनलाई सुद्धीकरण गरेर मात्र महासंघको नयाँ सदस्यता खोल्न क्रान्तिकारी पत्रकार महासंघ नवलपुरका अध्यक्ष लोकनाथ पंगेनीद्धारा जारी गरिएको बिज्ञप्तिमा उल्लेख छ ।
त्यस्तै महासंघको नयाँ सदस्यताको लागि लिने भनिएको शुल्क चार हजार रुपैयाँ महासंघमा श्रमजीवि पत्रकारहरुलाई प्रवेशमा निषेध गर्ने गरी योजनाको रुपमा आएको आफूहरुको ठहर रहेको उल्लेख गर्दै यसलाई घटाएर अन्य जिल्लाहरुमा जस्तै बढीमा दुई हजार वा सो भन्दा कम गर्न समेत माग गरेको छ ।
बिज्ञप्तिमा सबैभन्दा पहिले नेपाल पत्रकार महासंघ नवलपुरलाई शुद्धिकरण नगरी नयाँ सदस्यताको नाममा गैर पत्रकारहरुलाई भर्ती गर्ने र श्रमजीवि पत्रकारहरुलाई पाखा लगाउने काम गरिए कडा आन्दोलनमा उत्रिने चेतावनी दिदै माग तुरुन्त कार्यान्वयन गर्न र संगठन सहितको छलफलबाट यसलाई अगाडि बढाउन पनि माग गरिएको छ अन्यथा क्रान्तिकारी पत्रकार महासंघ नवलपुर कडा आन्दोलनमा जान बाध्य हुने प्रेस बिज्ञप्तिमा छ ।
पत्रकार महासङ्घ नवलपुर पटक पटक विवादमा तानिदै आउने गरेको छ ।












प्रतिक्रिया