
पाल्पा, ३० जेठ । पशुमा देखिने खोरेत रोग नियन्त्रणका लागि साझा प्रयास आवश्यक भएको सरोकारवालाले बताउनुभएको छ । आज बुटवलमा आयोजना भएको खोरेत रोग नियन्त्रणका लागि रोडम्याप विषयक गोष्ठीमा उहाँहरुले पशुको जैविक सुरक्षा र किसानमा सचेतना भए खोरेत नियन्त्रणमा आउने सक्ने बताउनुभयो ।
सो रोग नियन्त्रण रोडम्याप मस्यौदा समितिका संयोजक डा शर्मिला चापागाईले रोगको जोखिम पाडापाडी, बाच्छाबाच्छीमा बढी हुने उल्लेख गर्दै त्यसको नियन्त्रणका लागि जैविक सुरक्षा महत्वपूर्ण भएको बताउनुभयो ।
उहाँले तराईको सीमा क्षेत्र र पशुको आवतजावत हुने स्थानमा रोग फैलिएको जानकारी दिँदै भारतबाट आयात हुने पशुलाई क्वारेन्टाइनमा कडाइ गर्नुपर्छ भन्नुभयो । पशुपक्षी रोग अन्वेषणका वरिष्ठ चिकित्सक कृष्णराज पाण्डेले तीन तहको सरकारले खोरेत नियन्त्रणको लागि संयन्त्र निर्माण गरेर काम गरे परिणाम आउने बताउनुभयो ।
कृषि तथा पशुपक्षी मन्त्रालयका वरिष्ठ चिकित्सक डा प्रदीपराज भट्टराईले पशु रोग नियन्त्रणका लागि प्रदेश सरकारले काम गर्न सक्ने उल्लेख गर्नुभयो । नेपाल लाइभष्टक सेक्टर इनोभेसन आयोजना बुटवल एकाइका पशु चिकित्सक लोकराज भुसालले खोरेत रोगले पशुधनको ठूलो क्षति भएकाले मार्ग्चित्र बनाउँदा किसानलाई ध्यानमा राखेर बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च रुपन्देहीका अध्यक्ष तेजकुमार पाठक, जिल्ला दुग्ध सहकारी सङ्घ रुपन्देहीका अध्यक्ष लेखनाथ पाण्डेलगायतले खोरेत रोग नियन्त्रण सबैको साझा दायित्व भएको बताउनुभयो । सो रोग नियन्त्रणका लागि सरकारले २० लाख डोज भ्याक्सिन खरीद गरेको छ । कूल १५ जिल्लालाई केन्द्रित गरेर २० लाख पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन दिने कार्यक्रम रहेको बताइएको छ । पहिलो चरणमा असार मसान्तसम्म सो भ्याक्सिन दिइने छ र दोस्रो चरणमा अन्य पशुलाई खोरेतविरुद्धको भ्याक्सिन दिइने छ ।
प्रदेश नं ५ को बाँके, बर्दिया, दाङ, रोल्पा, पूर्वी रुकुमलगायतका जिल्लामा खोरेत रोग देखिएको छ भने त्यसबाहेक रुपन्देहीका विभिन्न स्थानीय तहमा पनि सो रोगविरुद्धको भ्याक्सिन माग भएको छ । –रासस












प्रतिक्रिया