
काठमाडौँ, २० जेठ । आइतबार दिउँसोदेखि नै सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्काममा हतियारधारी समूह प्रवेश गरेको सूचना प्रहरीकहाँ पुगेको थियो ।
उनीहरु विप्लव समूहका कार्यकर्ता भएको र प्रहरी चौकी आक्रमण गर्ने योजना रहेको सूचना प्रहरीसमक्ष पुग्यो । चौकीमा असईको नेतृत्वमा जम्मा ७ जना प्रहरी थिए । दिउँसोको सूचनाले ज्यान र हतियार कसरी जोगाउने भन्ने चिन्ता उनीहरुमा थपिएको थियो । उनीहरु सर्तक थिए । तर, फेरि बेलुका अर्काे खबर पुग्यो–उनीहरु २५/३० जनाको संख्यामा छन् । राति १२ बजे चौकी हान्ने योजना छ ।
त्यसपछि भने प्रहरीहरु हतियारहित सुरक्षित स्थानमा गएर लुके । उनीहरु बिहान ७ बजेमात्र चौकीमा फर्किए । राति आएका विप्लव समूहका कार्यकर्ताहरुले लगभग ३ घण्टा चौकी आसपासमै बिताए । हतियार लुट्ने योजनाका साथ आएका उनीहरु प्रहरीलाई नभेटेपछि रित्तै फर्किए।
जब बिहान यो खबर फैलियो, सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले ‘बाहिर हल्ला नगर्न’ सुरक्षा निकाय र जिल्लाका सरकारी कर्मचारीलाई निर्देशन दिएका थिए । उनले घटना सामान्य भएको र बाहिर हल्ला गर्दा थप त्रास बढ्ने भन्दै घटनाबारे कसैलाई नभन्न निर्देशन दिएका नाम नबताउने शर्तमा एक सरकारी कर्मचारी जानकारी दिए । सीडीओ रानाले सामाजिक सञ्जालमा पनि घटनाका विषयमा कुनै सूचना नराख्न निर्देशन दिएका थिए । ‘सीडीओ सा’बले बाहिर हल्ला नगुर्न सामान्य हो भन्नुभएको थियो तर, अहिले समाचारहरु हेरेको व्यापक भइसके छ’, ती कर्मचारीले भने ।
२५/३० जनाको समूहमा विप्लव कार्यकर्ता आक्रमणको लागि पुगेको भनिएपनि उनीहरु १०र१५ जनाको संख्यामा मात्र रहेको पनि बुझिएको छ । विश्वस्त स्रोतका अनुसार उनीहरु १०/१५ जनाको संख्यामा थिए । प्रहरीलाई हतियारसहित भेटाए ‘सेबोटेज’ गर्ने, हतियारविहिन भेटे खोजतलास गरेर लुकाएको हतियार लुट्ने र प्रहरीलाई चेतावनीसहित छाड्ने योजनासाथ उनीहरु चौकी पुगेका थिए ।
तर, उनीहरु आक्रमणका लागि आउँदैछन् भन्ने सूचना पाएको प्रहरी टोली राति नै सुरक्षित स्थानतर्फ गएपछि विप्लव समूहको प्रयास असफल भएको छ ।
अहिले महाकुलुङलगायत सोलुखुम्बुका विभिन्न ग्रामीण क्षेत्रहरुमा व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ । काठमाडौँ र विराटनगरबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलि परिचालन भएका छन् । बिहानैदेखि हेलिकप्टरबाट पनि गस्ती बढाइएको छ । यता, काठमाडौँमा केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठक बसेको छ ।
छेस्काम प्रहरी चौकीमा पनि प्रहरी निरीक्षक (इन्सपेक्टर) नेतृत्वमा थप टोलि खटाइएको छ । यसअघि त्यहाँ असईको नेतृत्वमा ७ जना मात्र प्रहरी थिए ।
सोलुखुम्बु प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार सुरक्षा खतरा देखाएपछि प्रहरी निरीक्षकको नेतृत्वमा चौकीको सुरक्षका लागि थप प्रहरी खटाइएको हो ।
‘सम्भावित आक्रमणलाई मध्यनजर गरेर चौकीमा अर्काे टोली खटाइएको हो । हतियारधारी समूहमाथि खोजी भइरहेको छ,’ उनले भने ।
गएको जेठ ७ गते सोलुखुम्बुको छिमेकी जिल्ला भोजपुरको टेम्केमैयुङ गाउँपालिका–१, तिम्माको धोद्रे जंगलमा प्रहरीले विप्लवका कार्यकर्तामाथि गोली हानेको थियो । गोली लागेर षडानन्द नगरपालिका–२ कुदाककाउलेका ३२ वर्षीय तीर्थराज घिमिरेको मृत्यु भएको थियो ।
पछिल्लो समय विप्लव समूहले त्यो क्षेत्रमा हातहतियारसहित तालिम गरिरहेको सूचना प्राप्त भएको थियो । सूचनापछि सुरक्षा सतर्कता अपनाइएको गृहमन्त्रालयको दाबी छ ।
यो पनि पढ्नुहाेस्
–स्थानीयले जोगाए प्रहरीको ज्यान, रित्तै फर्कियो विप्लव समूह
–विप्लव समूहद्वारा सोलुखुम्बुमा प्रहरी चाैकी आक्रमण, प्रहरीको थप टोली घटनास्थल पुग्यो















प्रतिक्रिया