६ कार्तिक २०८३, शुक्रबार

विप्लव समूहद्वारा सोलुखुम्बुमा प्रहरी चाैकी आक्रमण, प्रहरीको थप टोली घटनास्थल पुग्यो

55.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २० जेठ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले साेलुखुम्बुको एक प्रहरी चाैकीमा असफल आक्रमण गरेको छ । उनीहरुले ‘जनयुद्ध’ शैलीमा महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्ने असफल प्रयास गरेका हुन् ।

मध्यराति १२ बजेको समयमा २५–३० जनाको विप्लव समूहका कार्यकर्ता चौकी पुगेको भएपनि त्यसअघि नै प्रहरी हतियार सहित बाहिरीसकेकाले हतियार कब्जाको रणनीति असफल भएको उच्च स्रोतले जनाएको छ ।

प्रहरी र विप्लव समूहका कार्यकर्ताबीच भीडन्त नभएपनि राति १२ बजे देखि विप्लव कार्यकर्ता विहान ३ बजेसम्म चौकी क्षेत्रमै रहेको बताइएको छ । प्रहरी चौकीमा रहेका ७ जना सुरक्षाकर्मी हतियारसहित सुरक्षित स्थानमा गएर लुकेका थिए ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शालिकराम शर्मासहितको टोली घटनास्थलमा पुगेको छ। स्रोतका अनुसार प्रदेशबाट हेलिकोप्टरमा सेना र प्रहरीको टोली समेत घटनास्थलमा पुगेको छ।

सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्र राना मगरले भने घटना सामान्य भएको दाबी गरे । उनले केही नभएको र सेना तथा प्रहरीको टोली पनि नआएको बताए । उनले विप्लव समूहका गतिविधि भने बढेको बताए ।

जिप्रका सोलुले भने आक्रमणको प्रयास भएकाले थप मद्दत्त लिएर डीएसपी शर्माको टोली घटनास्थल पुगेको जनाएको छ ।  प्रहरीका अनुसार महाकुलुङ क्षेत्रमा विद्युत र दुरसञ्चार अवरुद्ध भएको मौका छोपेर साे आक्रमणको प्रयास भएको हो।

घटना जिल्ला सदरमुकाम सल्लेरी देखि करिब २५ कोश टाढा रहेको छ ।