५ कार्तिक २०८३, बिहिबार

अध्यक्ष ओलीद्वारा नेता गौतमको निधनप्रति दुःख व्यक्त

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य बाबुराम गौतमको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

‘नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता, पूर्वकेन्द्रीय सल्लाहकार परिषद् सदस्य तथा लुम्बिनी प्रदेश सभाका पूर्वसदस्य कमरेड बाबुराम गौतमको निधनको खबरले हाम्रो पार्टी नेकपा (एमाले) मर्माहत भएको छ ।’ अध्यक्ष ओलीले आज शोक वक्तव्य जारी गर्दै भनेका छन्, ‘वि.सं. २००२ सालमा गुल्मीको थोर्गामा जन्मनुभएका कमरेड बाबुराम गौतमले वि.सं. २०२३ सालमा बनारसमा कमरेड पुष्पलालबाट कम्युनिष्ट पार्टीको सदस्यता प्राप्त गरी आफ्नो राजनीतिक यात्रा प्रारम्भ गर्नुभएको थियो । उहाँले आफ्नो कर्मथलो बाँके र नेपालगञ्जलाई बनाएर कम्युनिष्ट आन्दोलनलाई सशक्त बनाउन निरन्तर योगदान पुर्‍याउनुभयो ।’

गौतमको निधनबाट पार्टीले एक निष्ठावान् अभिभावक तथा देशले राजनीतिक एवं सामाजिक क्षेत्रको एक सच्चा जनसेवक गुमाएको अध्यक्ष ओलीको भनाई छ ।

अध्यक्ष ओलीका अनुसार भूमिगत कालमा भेरी–कर्णाली क्षेत्रको सचिव, बाँके जिल्ला कमिटी सचिव (पार्टी प्रमुख) तथा भेरी अञ्चल कमिटी सदस्य एवं कार्यालय सचिवका रूपमा जिम्मेवारी सम्हालेका गौतम बाँके र वरपरको क्षेत्रमा कम्युनिष्ट आन्दोलनका एक बलिया धरोहर थिए ।

‘पुष्पलालद्वारा पार्टी पुनर्गठनपछिको समय, नेकपा (मनमोहन समूह), नेकपा (मार्क्सवादी) हुँदै एकीकरण पश्चात् आजीवन नेकपा (एमाले)मा समर्पित रहनुभएका कमरेड गौतम वि.सं. २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । कमरेड गौतम सङ्घर्षशील, सादगी, सरल, इमानदारी र निष्ठाको राजनीतिमा समर्पित योद्धा हुनुहुन्थ्यो ।’ अध्यक्ष ओलीले भने ।

अध्यक्ष ओलीले दिवंगत गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन, आफन्त तथा शुभेच्छुकहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।