
काठमाडौँ, २५ चैत । देशका सञ्चार प्रतिष्ठानहरूमा कार्यरत श्रमजीवी पत्रकार तथा कर्मचारीको न्यूनतम पारिश्रमिक कार्यान्वयनबारे भइरहेको बहसप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको जनाएकाे छ ।
महासंघले साेमबार विज्ञिप्त जारी गरि लगातारको पहलमा निर्धारण भएको पारिश्रमिक कार्यान्वयनमा बल पुर्याउन महासंघ अविचलित रुपमा अग्रसर रहेकाे जनाएकाे छ ।
महासंघले विज्ञिप्तमा ‘कात्तिक १ गते देखी कार्यान्वयनमा ल्याइएको न्यूनतम पारिश्रमिक महासंघको विगतको माग र न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसभन्दा कम रहेकोप्रति हामी असहमत थियौ र छौ तर निरन्तर पहलको सम्मान गर्दै आंशिक माग पुरा गर्ने सम्बन्धमा भएको सरकारी निर्णयलाई महासंघले स्वागत गरिसकेको स्मरणीय छ’ भनेकाे छ।
साथै नयाँ पारिश्रमिक कार्यान्वयनका लागि दबाबमुलक अभियान अन्तर्गत देशका प्रायः सबै सञ्चार प्रतिष्ठानहरूलाई लिखित रूपमै महासंघकोतर्फबाट ध्यानाकर्षण पत्र बुझाउने कार्य सम्पन्न भइसकेको उल्लेख गरेकाे छ । पत्रकार तथा कर्मचारीकाे हकहितका लागि महासंघले निरन्तर दबाव दिँदै आएकाे पनि उल्लेख गरेकाे छ ।
न्यूनतम पारिश्रमिक निर्धारण समितिसँगको सहकार्यमा न्यूनतम पारिश्रमिक र श्रमजीवी पत्रकार ऐन तथा नियमावली कार्यान्वयनको स्थिति थाहा पाउन सञ्चार गृहहरूमा अनुगमन भइरहेको छ तर, यो प्रक्रिया सन्तुष्ट हुनेगरी अगाडि नबढेकाले अनुगमन प्रतिवेदन सरकारलाई हस्तान्तरण र सार्वजनिक गरी कानुन उल्लंघन गर्नेहरूलाई प्रचलित कानुनअनुसार कारबाही गर्नेतर्फ प्रगति हुन नसक्नु विडम्बना भएकाे पनि विज्ञिप्तमा उल्लेख गरिएकाे छ ।












प्रतिक्रिया