
काठमाडाैँ, २५ चैत । कार्यसम्पादन समिति र केन्द्रीय विभागहरु गठनबारे नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरुसँग गरेको बैठक पूर्वमहामन्त्री कृष्ण सिटौलाले वहिष्कार गरेका छन् ।
देउवा निवाल बुढानिलकण्ठमा सोमबारको छलफलमा सिटौलाले सहभागी नभएका हुन् । कार्यसम्पादन समितिमा देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले ६०/४० को भागवण्डा गरेपछि सिटौला असन्तुष्ट देखिएको छ ।
देउवा निवासमा भएको काँग्रेसका शीर्ष नेताहरुको बैठकमा बरिष्ठ नेता पौडेल, उपसभापतिहरु विमलेन्द्र निधी, विजयकुमार गच्छदार, महामन्त्री डा. शशांक कोइराला, नेता गोपालमान श्रेष्ठ र बलबाहादुर केसी सहभागी छन् ।
काँग्रेसमा केन्द्रीय कार्यसम्पादन समिति, संसदीय बोर्ड, केन्द्रीय विभागका संयोजक चयन लगायतका विषयमा सहमति जुट्न नसकेपछि शनिबारका लागि बोलाइएको बैठक स्थगित भएको थियो ।
सभापति देउवाले पार्टीको कार्यसम्पादन समिति, संसदीय बोर्ड र केन्द्रीय विभागका संयोजक तोक्ने विषयका साथै पार्टीले सरकारविरुद्ध देशव्यापी चलाउने भनिएको जनजागरण अभियानबारे छलफल गर्न भन्दै आफ्नै निवासमा बैठक बोलाएका हुन् ।
यसअघि पार्टीको नयाँ विधानले पदाधिकारीमा थप गरिएको सङ्ख्या समेतको कार्यसम्पादन समिति गठनको व्यवस्था गरेपनि तत्काल निर्वाचित सात सहमहामन्त्री नभएको भन्दै सभापति देउवाले पुरानै विधानका आधारमा पदाधिकारीसहित २९ सदस्यीय समिति गठन गर्नुपर्ने प्रस्ताव गरेका थिए ।
प्रस्तावमा समितिमा रहने सदस्यहरु देउवा र पौडेलका ६० र ४० का आधारमा राख्न दुई नता सहमत भएका थिए । तर, समितिमा नेता कृष्णप्रसाद सिटौलाले आफ्नो तर्फबाट पनि सदस्य राख्नुपर्ने भन्दै आपत्ति जनाएका थिए । सिटौलाको आपत्तिपछि गत शनिबारको केन्द्रीय समिति बैठक नै स्थगित गर्नुपरेको थियो ।












प्रतिक्रिया