
काठमाडौं, २२ चैत । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले संसदमा प्रस्तुत नागरिकता विधेयक तत्काल खारेज नगरे राष्ट्रियता नै खतरामा पर्ने स्पष्ट पारेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष केसीले सदनमा प्रस्तुत विधेयक तत्काल खारेज नगरे नेपालको अस्तित्व नै समाप्त हुने खतरा औंल्याएका हुन् । उनले भने, ‘नागरिकता विधेयक सदनमा छलफलकै क्रममा छ तर, मन्त्रिपरिषदको बैठकले देशैभरिका जिल्ला प्रशासन कार्यालयलाई अंगीकृत नागरिकका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन सर्कुलर जारी गरेको छ । यो अत्यन्तै गम्भीर र गलत कुरा हो । तत्काल खारेज गर्नुपर्छ ।’
संसदबाट विधेयक पारित हुन बाँकी रहेको अवस्थामा सरकारले यसरी ‘सर्कुलर’ जारी गर्नु अत्यन्तै गम्भीर रहेको बताउँदै उनले यसमा आफ्नो पार्टीको आपत्ति रहेको सुनाए । उनले विधेयकले नेपालमा जन्मिएका वास्तविक नागरिकहरुलाई नागरिकता दिनबाट वञ्चित गराईने र विदेशबाट आएकाहरुलाई नागरिकता दिने बाटो खोलिदिएको आरोप लगाए ।
नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालै तराईमा पुगेर नागरिकता विधेयकबारे गलत टिप्पणी गरेको भन्दै उनले आपत्ति जनाए । उनले भने, ‘यस्तो खालको विधेयक पारित भयो भने हामी मूल नेपालीहरु अल्पमतमा पर्छौं, र विदेशबाट आएका आगन्तुकहरु बहुमतमा पर्ने निश्चित छ ।’
नेपालमा कांग्रेस, एमाले, माओवादी र राप्रपा जसको नेतृत्वमा सरकार बनेपनि सबैले विदेशीहरुलाई नागरिकता दिने बाटो खोलिदिएको पनि केसीले आरोप लगाए ।
संसदमा प्रस्तुत भएअनुसार विधेयक पारित भए विदेशीहरु वा आगन्तुकहरु नेपालको राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सेना प्रमुख, प्रधानन्यायाधीशलगायत महत्वपूर्ण पदमा पुग्ने बाटो खुल्नेपनि उनले टिप्पणी गरे । उनले भने, ‘त्यसैले यो विधेयक कुनैपनि हालतमा पारित गर्नु हुँदैन । खारेज गर्नुपर्छ ।’












प्रतिक्रिया