बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

भुमिकास्थान नगरपालिकाले घटायो कर

दैनिक नेपाल २०७५ चैत १ गते १८:२५

हृदय भुसाल,
अर्घाखाँची ३० फागुन । भुमिकास्थान नगरपालिकाले करको दर ह्वात्तै घटाएको छ । नगरपालिकाले कर घटाएपछि स्थानीय निकै खुशी भएका छन् । ‘नगरले लगाएको करबाट जनता निकै आक्रोशित थिए स्थानीय हरि विकले भने, बैठकले कर घटाएको खबर सुनेको छु ,अब गरिब जनतालाई थौरै भए पनि राहत हुने भयो ।’

मुलुकमा नयाँ संविधान जारी भए पछि संघियता कार्यान्वयन चरणमा पहिलो पटक स्थानीय तहको चुनाव सम्पन्न भयो । सिंह दरबारको अधिकार घरघरमा भन्ने नारा आएपनि करको दायरा निकै फराकिलोसँग बढेपछि उनीहरु चिन्तित बनेका थिए । स्थानिय लक्ष्मी नेपाली भनिन, ‘अब जनप्रतिनिधीको बल्ल होस खुलेको छ, चुनावको याद अहिले आए जस्तो लाग्यो ।’ नगरबासीबाट जिल्लाका अन्य स्थानीय तहको तुलनामा सबैभन्दा धेरै कर उठाउने गरेको व्यापक गुनासो आएपछि नगर कार्यपालिकाको चौथोे नगर सभा बैठकले औषतमा ६५ प्रतिशतसम्म कर घटाउने निर्णय गरेको हो ।

भुमिकास्थान नगरपालिकाले जन्मदर्ता र मृत्युदर्ताको पाँच सय रुपैयाँ लिँदै आएकोमा यसलाई घटाएर ८ रुपैयाँमा झारिएको छ । नेपालकै कानुन अनुसार ३५ दिन सम्म निशुल्क , ३५ दिन पछि जन्म दर्ता र मृत्यु दर्ताको लागि पाँच सय लिने गरिएकोमा ३५ देखि ७० दिन सम्म आएमा ८ रुपैयाँ र त्यो भन्दा पछि आएमा ५०

रुपैयाँ बनाइएको नगर प्रमुख रेशम थापाले बताए । नगरपालिकाले जग्गाको करको पनि दर घटाएको छ । खरको छानो भएको घरको कर बार्षिक ५० रुपैयाँ लिने गरिएकोमा यसलाइ अहिले शुन्यमा झारिएको छ । सम्पत्ति कर अन्तर्गत कच्ची घरको एक सय, पक्की घरको दुई सय र फुस घरको ५० रुपैयाँ निर्धारण गरेको छ । तर अहिले पक्की घरको एक सय र कच्ची घरको पचास रुपैयाँ बनाइएको छ । जनताको मागलाई ध्यानमा राखेर कर घटाउने निर्णय गरिएको नगर उपप्रमुख खडानन्द बेल्वासेले बताए ।

सेवा शुल्क अन्तर्गत व्यवसाय कर अन्तर्गत कपडा, फेन्सी र किराना पसलको दुई हजार र एक हजार ,औषधि पसलको एक हजार, कर उठाउने गरेकोमा अहिले घटाएर सात सय रुपैयाँ बनाएको प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए । जिल्लाका ६ वटै स्थानीय तहहरुले फरक–फरक कर निर्धारण गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित