२० कार्तिक २०८३, शुक्रबार

दुर्घटनाको कारण पत्ता लगाउन माग गर्दै काँग्रेस र विवेकशीलले निकाले शोक वक्तव्य

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १५ फागुन । बुधबार दिउँसो ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा बहालवाला मन्त्रीको मृत्यु भएपछि दलहरुको शोक वक्तव्य निकालेका छन् ।

दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रबीन्द्र अधिकारीसहित सबैलाई श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली काँग्रेस, विवेकशील साझा र विवेकशील नेपाली दलले दुर्घटनाको कारण पत्ता लगाउन सरकारसँग माग गरेका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्दै नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टी र अधिरकारीको परिवारप्रति समवेदना प्रकट गरेका छन् ।

‘विद्यार्थी जीवनदेखि संघर्ष गरेर अघि बढेका रविन्द्र अधिकारी नेपाली राजनीतिका उदयमान युवा नेताका अलवा व्यक्तिगत रुपमा भद्र र सुयोग्य हुनुहुन्थ्यो’, देउवाले भनेका छन्, ‘ताप्लेजुङमा आज भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री रविन्द्र अधिकारी लगायत ७ जनाले जीवन गुमाएकोमा गहिरो दुःख लागेको छ ।’

दुर्घटनाको कारण पत्ता लगाउन सरकारले तत्कालै गहिरो अध्ययन अनुसन्धानको प्रक्रिया अघि बढाउने विश्वास लिएको देउवाले उल्लेख गरेका छन् ।

यसैगरी, विवेकशील साझा पार्टीले पनि यस्ता घटना दोहोरिन नदिन दुर्घटनाको कारण यथासक्य छिटो पत्ता लगाउनेतर्फ गम्भीर पहल गर्न सरकारलाई आग्रह गरेको छ ।

यस्तै, विवेकशील नेपाली दलले नेपालको उड्ड्यन क्षेत्रलाई सुरक्षित बनाउन माग गरिएको छ । ‘बारम्बार भइरहने हवाई दुर्घटनालाई न्यून गरी नेपालको उड्डयन क्षेत्रलाई सुरक्षित तुल्याउन गम्भीरतापूर्वक आवश्यक कदम तुरुन्तै चाल्न नेपाल सरकारलाई अनुरोध गर्दछौँ’, वक्तव्यमा भनिएको छ ।

यस्तै, राष्ट्रिय जनमोर्चाले पनि घटनामा दुःख व्यक्त गर्दै मृतकहरुको श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गरेको छ ।

दुर्घटनामा मन्त्री अधिकारीसँगै प्रधानमन्त्री कार्यालयका सल्लाहकार युवराज दाहाल, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, इन्जिनियर धुब्रदास भोछिभया, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, हेलिकोप्टर क्याप्टेन प्रभाकर केसी तथा मन्त्री अधिकारीका पिएसो अर्जुनकुमार घिमिरेको मृत्यु भएको थियो ।