२० कार्तिक २०८३, शुक्रबार

नवलपुर महोत्सवको पूर्वसन्ध्यामा कावासोतीमा बृहत सरसफाई

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

-बिजय चालिसे

कावासोती, १४ माघ । नवलपुरको कावासोतीमा विभिन्न संघ संस्थाहरुले आज बजार क्षेत्रमा सरसफाई गरेका छन् । नगरको सरसफाई व्यवस्थापन नगरपालिकाले गर्न नसकेको जनगुनासो बढिरहेका बेला विभिन्न संघसंस्थाहरुको सक्रियतामा कावासोती बजार क्षेत्रमा सरसफाई गरिएको हो ।

नवलपुर उद्योग वाणिज्य संघ, कुमारवर्ती बहुमुखी क्याम्पस, सामुदायिक सेवा केन्द्र नवलपुरलगायतका संघसंस्थाको सहकार्यमा बजारको सरसफाई गरेको नवलपुर उद्योग वाणिज्य संघका अध्यक्ष डासुराज पोखरेलले जानकारी दिए । कावासोतीमा १७ गतेदेखि पाँचौ नवलपुर महोत्सव पनि हुदैछ । त्यसका अलावा फोहोरका कारण बजार क्षेत्र दुर्गन्धित भएकाले सरसफाई गरिएको अध्यक्ष पोखरेलले बताए ।

सरसफाईमा नगरवासीको उत्साहजनक सहभागिता पाएपछि अर्को पटक पनि अभियान सञ्चालन गर्न हौसला मिलेको अध्यक्ष पोखरेलको भनाई छ । त्यस्तै कुमारवर्ती बहुमुखी क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र पोखरेलले क्याम्पसको ३१ औं वार्षिकोत्सवको पूर्वसन्ध्यामा सरसफाई कार्यक्रमको आयोजना गरिएको बताए ।

पूर्वपश्चिम राजमार्ग अन्तरगतको कावासोती हुँदै यात्रा गर्नेहरुमा सकारात्मक सन्देश जाओस तथा नगर पनि सफा र सुन्दर बनाउन सहयोग होस भन्ने उद्देश्यका साथ बृहत सरसफाई कार्यक्रम गरिएको सामुदायिक सेवा केन्द्र नवलपुरकी अध्यक्ष नारायणी भट्टराईले जानकारी दिइन्। फलफूल चोकबाट शुरु भएको सरसफाई अभियानमा नगरवासीहरु कुचो लिएर नगरका सडक सफा गरे भने सरसफाई सम्बन्धि विभिन्न सचेतनामूलक माईकिङ गर्दै नगरवासीलाई सचेतसमेत गराएका थिए ।

सरसफाई कावासोतीको फलफूल चोकदेखि थकाली चोकसम्म राजमार्गको दाँया बाया दुवैतर्फ गरिएको छ । सरसफाई अभियानमा उद्योगी, व्यापारी, शिक्षक, बिद्यार्थी, सुरक्षाकर्मी पत्रकार, सर्वसाधारण नागरिक, सरसफाई अभियन्तालगायतको बाक्लो उपस्थिती थियो ।