सोमबार, ६ जेठ २०७६
DainikNepal.com
सोमबार, ६ जेठ २०७६

जसले बालखमै मार्क्सवादसँग बिहे गरिन्

दैनिक नेपाल २०७५ माघ ११ गते १०:३३

काठमाडौं, ११ माघ । लगभग ८ बर्षको हुनुपर्छ, उनी– घर छेउकै दलित बस्तीका परिवारलाई गरिएको विभेद बाल मस्तिष्कमा झन्कार बनिदियो । समाजका अन्य पाटालाई पनि उनले नियाल्न थालिन् ।

आफन्त, छिमेक र विभिन्न निकायमा हुने लैंगिक विभेदले अझ सोच्न बाध्य बनाईदियो, उनलाई । उनलाई लाग्न थाल्यो– मान्छे भएपछि किन यसरी विभेद हुन्छ ? समानताका निम्ति के गर्नुपर्छ होला ? गाईगुई कतै सुनेकी थिइन्– कम्युनिस्ट बन्नुपर्छ । स्कुलमा बुझिन् कम्युनिस्ट बन्न विद्यार्थी राजनीतिबाट सुरु गर्नुपर्छ ।

११ बर्षको उमेरमा उनले तत्कालिन एमालेको झन्डा समाइन्, मुक्तिका लागि । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा विद्यालयको प्रारम्भिक कमिटी सदस्यता लिइन् । र, हिँडिन समानताको आन्दोलनमा ।

भगवती न्यौपाने । तत्कालिन नेकपा एमालेको तनहुँ जिल्ला कमिटी सचिव । एकीकरणपछि जिल्लाको अध्यक्षमा उनको नाम सिफारिस पनि छ । हट्ठी छिन् । परिवारका आठ सन्तानमा सातौं हुन् । बिहे गरेकी छैनन् । भन्छिन्, ‘बालखमै मार्क्सवादसँग मेरो बिहे भयो ।’

परिवार, पार्टी कमिटीका साथीसंगीदेखि धेरैले बिहेका लागि सुझाव दिए । बिहे गर्नु प्रकृतिको एउटा नियम भए पनि त्यसविरुद्ध आफू उभिनुको उनको तर्क नै यहि छ– मुलुकबारे, समाजवादबारे सोचियो, आफूबारे सोचि हिँड्ने मौका मिलेन, सायद ।

हरेक राजनीतिक कार्यक्रममा सहभागी हुने मौका पाइयो, त्यसमा आफूलाई साबित गर्नका लागि भन्दा पनि मेरो उदेश्यको राजनीति मा छ या छैन भन्ने विषयले मलाई घोचिरहन्थ्यो

बालखमै उनले कम्युनिस्टको झन्डा बोकेर दूरदराजसम्म नेताका भाषण सुन्न हिडिन् । मदन भण्डारीको भाषण सुन्दा निक्कै खुसी भइन् ।

सुनाउँछिन्, ‘कडा भाषण गर्नुहुन्छ भन्ने सुनेकी मात्र थिएँ, देखेकी थिइन । प्रत्यक्ष देख्दा अब परिवर्तन हुन्छ भन्ने आत्मविश्वास जागेको थियो ।’

कम्युनिस्ट पार्टीको राजनीतिमा छिर्नुको उनको उद्देश्य र सक्रियताको पुष्टि १८ बर्षको उमेरमा तनहुँ जिल्ला कमिटी सदस्यमा पुग्नु र २० बर्षमा अखिल नेपाल महिला संघ तनहुँको अध्यक्ष नै निर्वाचित हुनुले पुष्टि गर्छ ।

कतिपयले त पत्याएनन् पनि । सम्झिन्छिन्, ‘केही काम परेर जिल्ला प्रशासन कार्यालयमा सिडिओ भेट्दा अनेम संघको अध्यक्ष भन्दा पत्याएनन् । विद्यार्थीको हो ? भनेर सोध्थे ।’

कम्युनिस्ट राजनीतिको गतिले एसएलसी पास गरेर गोरखामा उच्च शिक्षा अध्ययनका क्रममा तिव्रता लियो । नेपालमा कम्युनिस्ट र कांग्रेसको राजनीतिक रेसबीच विद्यार्थी संगठनको सडक प्रदर्शन होस् या अभियान निक्कै प्रभावी थियो । त्यस प्रभावकारी समयकी एक संघर्षशील नेत्री थिइन्, न्यौपाने ।

शिक्षा बिनाको राजनीतिको काम नहुने त उनलाई पहिल्यै थाहा थियो । परिवारका कोही पनि सदस्य राजनीतिक दलसँग आवद्ध नहुँदा नै कम्युनिस्ट बन्ने सोचले उनलाई धकेल्नुको परिणाम काठमाडौंको ताहाचल क्याम्पसमा पनि भयो ।

‘हरेक राजनीतिक कार्यक्रममा सहभागी हुने मौका पाइयो, त्यसमा आफूलाई साबित गर्नका लागि भन्दा पनि मेरो उद्देश्यको राजनीतिमा छ या छैन भन्ने विषयले मलाई घोचिरहन्थ्यो’, दैनिक नेपालसँग उनले भनिन्  ।

विद्यार्थी हुँदै पार्टी राजनीतिमा छिरेपछि पनि उनका केही अनुभव छन् । विद्यार्थीको भन्दा पार्टीका कमिटी बैठक र निर्णय गर्ने पद्दति अलिक फितलो हो कि भन्ने पनि उनलाई लाग्यो ।

सम्झिन्छिन्, ‘हामी कार्यक्रम र योजना बनाएर प्रभावकारी कसरी बनाउने भन्ने मन्थन गथ्र्यौ तर जिल्ला कमिटीमा त्यति मिहिन ढंगले गरेको जस्तो लागेन । यद्यपि, परिवर्तनका निम्ति केही न केही गतिचाहीँ लिइरहेको थियो ।’

उनी भूगोलको राजनीतिमा जति अभ्यस्त हुँदै जाँदैथिइन्, यता मार्क्सवादले निर्धारण गरेको समाजवादको अध्ययन पनि त्यति नै चाखमा पढिरहेकी थिइन् । मार्क्सवाद अध्ययन गरेपछि धेरै चिज बुझिन्छ भन्ने उनलाई लागेको थियो । त्यसैले आफूभन्दा अग्रज नेताले जुन पुस्तक दियो, त्यहि बोक्थिन् । मार्क्सवादका बारेमा भने खोजी खोजी पढ्थिन् ।

गाउँ–गाउँसम्म अभियानमा जुटेपछि हामीले समाजवाद, सरकारका सवाल, पार्टीका लक्ष्यका विषयमा बुझाउन पाउँछौं । अहिले एकीकरणका प्रक्रियाले गति नलिँदा त्यो अभियानमा जुट्न सकिएको छैन

उद्देश्य र व्यवहारमा कहिलेकाहीँ तालमेल नमिल्दा दुखी पनि बनाउँदो रहेछ । ०५४ सालतिर जब नेकपा एमाले विभाजित भएर माले बन्यो, उनी दुखी भइन् । पार्टी विभाजित भएको भन्दा पनि समाजवादको लक्ष्य केही ढिलोगरी मात्र प्राप्त होला भन्ने ।

आजको दिनमा उनी खुसी छिन् किनभने छरिएका कम्युनिस्ट र विभिन्न कोणका कम्युनिस्टको एकीकरण भई लक्ष्यमा पुग्ने सजिलो बाटो तय भएको छ ।

त्यसैले जिल्ला – जिल्लामा अभियानलाई प्रभावी बनाउनका लागि नेकपा केन्द्रीय निकायलाई उनको सुझाव छ– एकीकरण तल्लो तहसम्म चाँडो गरौं, अभियानमा जुटौं ।

दैनिक नेपालसँग उनले भनिन्, ‘गाउँ–गाउँसम्म अभियानमा जुटेपछि हामीले समाजवाद, सरकारका सवाल, पार्टीका लक्ष्यका विषयमा बुझाउन पाउँछौं । अहिले एकीकरणका प्रक्रियाले गति नलिँदा त्यो अभियानमा जुट्न सकिएको छैन ।’

प्रतिक्रिया
सम्बन्धित