काठमाडौं, ३ माघ । नेपाली कलाक्षेत्रमा विकृति रहेको धेरै पहिलादेखि नै कुरा चल्दै आएको छ । अश्लीलता होस् वा झैँ–झगडा या विदेश पलायन हुने कुरा, यी सबै नेपाली कलाकारिताका विशेषता बनिसकेका छन् ।
नायक, नायिका, गायक, गायिका, संगीतकार, रचनाकार, निर्देशक, निर्माता, मोडल, चरित्र अभिनेता, अभिनेत्री आदि सबै विदेश जानका लागि कति मरिहत्ते गर्छन् भन्ने विषय विदेश पलायन भएका कलाकारहरूको लामो सूचीले प्रष्ट पारेको छ ।
विशेष गरेर अमेरिका, अष्ट्रेलिया, क्यानडा, जापान, लण्डन, युरोपका देशहरूमा पलायन हुन चाहने कलाकारहरूको दौडधुपले कलाक्षेत्रलाई बद्नाम गराएको टिप्पणी भैरहेका छन् । ती देशहरूले भिषा दिनका लागि सबैभन्दा बलियो प्रमाण पत्रपत्रिका, अनलाइन, युट्युबमा आएका समाचारहरूलाई मान्ने गरेपछि पत्रपत्रिका र अनलायनमा समाचार छपाएर विदेश छिर्न खोज्ने कलाकारहरूको राजधानीमा लामै सूची छ ।
त्यति मात्रै होइन पत्रपत्रिकाको समाचारको कटिङ देखाएर सैयौँ कलाकारहरू विदेश पलायन भएका छन् । नेपालमा सानोतिनो काम गर्न लाज मान्ने ती कलाकारहरू अमेरिका, युरोपसहितका देशमा पलायन भएर ‘क्लिनर’को काम गर्ने गरेको धेरैले बताउँछन् । नेपाललाई गाली गर्ने ती ढोँगी कलाकारहरूले अमेरिका, युरोप लगायतका देश प्रवेश गर्नेवित्तिकै राष्ट्र प्रेमका ठूलाठूला गफ पनि दिने गर्छन् ।
पछिल्लो समय अवार्ड अर्थात् पुरस्कारलाई अमेरिका, युरोपसहितका देशहरूले विशेष ध्यान दिने गरेकाले कलाकारहरूले सेटिङमा पुरस्कार लिने गरेका छन् । कलाकारिताको क्षेत्रमा वितरण हुने अधिकांश पुरस्कारहरू निष्पक्ष छैनन् भनेर आरोप लागेको छ । ती पुरस्कारहरू कि त विक्री गरिन्छ । कि त आफ्ना निकटका कलाकारहरूलाई दिने गरिएको छ ।
कलाक्षेत्रमा वितरण हुने अवार्डहरू ‘धन्दा’को रुपमा विकृति बन्दै आएको धेरै कलाकारहरूले बताउने गरेका छन् । ती अवार्डहरू राम्रा कलाकार र क्रियशनलाई भन्दा पनि भनसुनका आधारमा दिइन्छ ।
कतिपय अवार्डका कार्यक्रम त भएकै थाहा पाइँदैन । कोठाभित्र कार्यक्रम गरिन्छ । एकै पटक फेसबुकमा अवार्डको म्वाइँ खाएको तस्बिर हालेपछि मात्रै कुन कलाकारले के पाएको रहेछ भनेर थाहा हुन्छ ।
अवार्डहरूलाई मागी खाने भाँडो बनाएको फिल्म निर्देशक देवेन्द्र पाण्डेको गुनासो छ । ‘नेपाली कलाकारितामा विभिन्न संघ संस्थाले वितरण गर्ने पुरस्कार कामको मूल्यांकन गरेर दिइँदैन’, उनले भने, ‘सबै सेटिङमा वितरण हुन्छ । सबै पुरस्कारलाई त्यस्तो अरोप लगाउन त मिल्दैन । तर, अधिकांश अवार्डहरू सेटिङमै वितरण गरिन्छ ।’
कलाक्षेत्रमा वितरण हुने अवार्डहरूमध्ये नेपालभन्दा बाहिर गएर विदेशी भूमिमा गरिने अवार्डको मूल्य बढी छ । केही संघ–संस्थाले ५–७ जना कलाकारलाई विदेश लगेर सेटिङमा कोठाभित्र पुरस्कार वितरण गरेर स्वदेश फिर्ता हुने गरेका छन् ।
‘विदेश जानका लागि प्रमाणका रुपमा पेश गर्न पनि पुरस्कारहरू किन्ने परम्परा बढेको छ’, एकजना गायकले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘म पनि अमेरिका जान प्रयास गरिरहेको छु । पुरस्कार र पत्रपत्रिकामा आएका समाचारहरूलाई प्रमाणका रुपमा एम्बेसीमा पेस गर्दै छु ।’ विदेशमा गरिने अवार्ड कार्यक्रमलाई अन्तर्राष्ट्रिय पुरस्कारको रुपमा एम्बेसीमा प्रमाणका रुपमा पेश गर्दा विश्वास धेरै हुने ती गायकले बताए ।
नेपाली कलाक्षेत्रमा पछिल्लो समय अवार्डको धन्दा नै बनेपछि राम्रा कलाकार र फिल्महरूलाई मार परेको छ । क्षमता भएका कलाकारलाई अवार्ड चाहिँदैन । तर, जबरजस्ती कलाकार बनेकाहरूलाई विदेश जानका लागि अवार्ड अनिवार्य जस्तै बनेको छ ।
हालसम्म वितरण भएका राम्रा अवार्ड लिएका अधिकांश कलाकारहरू विदेश पलायन भैसकेका छन् । राम्रा कलाकारलाई सेटिङका पुरस्कार आवश्यक्ता पर्दैन । तर, जोडबल र चाकडीबाट कलाकार बनेकाहरूले पुरस्कार किनेरै भएपनि लिने परम्परा बसालेर विकृति भित्र्याएको धेरैको आरोप छ ।















प्रतिक्रिया