बिहीबार, ७ चैत २०७५
DainikNepal.com
बिहीबार, ७ चैत २०७५

बढ्दै लागूऔषध प्रयोगकर्ता

दैनिक नेपाल २०७५ पुष २६ गते २०:१६

–बिजय चालिसे
कावासोती, २६ पुस । नेपालमा लागूऔषध दुर्व्यसनी संख्या वार्षिक रुपमा बढदै गएको पाईएको छ । गृह मन्त्रालय, लागूऔषध नियन्त्रण शाखाको आयोजनामा नवलपुरको कावासोतीमा बिहीबार लागूऔषध दुरुपयोग तथा अबैध ओसार पसार विरुद्ध सरोकारवालाहरुसँगको अभिमुखीकरण कार्यक्रममा यस्तो तथ्यांक सार्बजनिक गरिएको हो ।

लागूऔषध नियन्त्रण शाखाका अनुसार वि.स. २०६३ सालमा लागु औषध दुर्व्यसनीको संख्या छ्यालीस हजार ३०९ रहेकोमा वि.स. २०६९ मा यो संख्या बढेर एकानब्बे हजार ५३४ पुगेको छ ।

यो तथ्याङ्ककका अनुसार वार्षीक रुपमा ११.३६ प्रतिशतले दुर्व्यसनीको संख्या बढदै गएको लागु औषध नियन्त्रण शाखाका मुख्य लागु औषध नियन्त्रण अधिकारी नारायण प्रसाद शर्मा दुवाडीले जानकारी दिए ।

दुवाडीले ५७ प्रतिशत सिरिन्जमार्फत लागूऔषध प्रयोग गर्ने रहेको र २० देखि २५ वर्ष उमेर समूहका ५० हजार बढी युवा रहेको बताए। उनका अनुसार लागूऔषध प्रयोग गर्ने पुरुष ९३ प्रतिशत र महिला झण्डै सात प्रतिशतको संख्यामा रहेका छन् ।

लागूऔषध नियन्त्रण शाखाका अनुसार वि.स. २०७४ सम्ममा अनुमानित १ लाख ५६ हजार बढी लागूऔषधका दुर्व्यसनी रहेका छन् । लागूऔषध प्रयोग कर्ताको संख्या कहाली लाग्दो नभए पनि चिन्ता जनक रहेको भन्दै यसको न्यूनिकरणका लागि सबै मिलेर अगाडी बढन आवश्यक रहेको दुवाडीले बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले चालु आर्थिक वर्षको मंसिर सम्ममा लागूऔषध कारोबारमा सम्लग्न ४० जनालाई नियन्त्रणमा लिएको जानकारी प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित